Comments Add Comment

भारतमा कोरोनाबाट एकैदिन ७३ को मृत्यु, संक्रमितको संख्या ३५ हजार नाघ्यो

१९ वैशाख, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या एक हजार १४७ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा ७३ जनाको मृत्यु भएको हो ।

कोरोना भाइरसबाट संक्रमितको संख्या पनि ३५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका एक हजार नौ ९९३ नयाँ संक्रमित फेला परेका छन् । यससँगै समग्र संक्रमितको संख्या ३५ हजार ४३ पुगेको छ ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसको कारण करिब १० हजार पाँच सय संक्रमित भइसकेका छन् भने ४५९ पुगेको छ । त्यस्तै गुजरातमा चार हजार ३०० भन्दा बढी संक्रमित फेला परिसकेका छन् भने २१४ जनाको मृत्यु भइसकेको छ ।

मध्य प्रदेशमा पनि दुई हजार ६०० भन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिँदा १३७ जनाको मृत्यु भइसकेको छ । उत्तर प्रदेशमा अहिलेसम्म दुई हजार २०३ जनामा संक्रमण देखिँदा ३९ जनाको मृत्यु भइसकेको छ । पश्चिम बंगालमा पनि सात सय ९५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ३३ जनाको मृत्यु भइसकेको छ ।

बिहारमा अहिलेसम्म ४१८ जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ भने दुईजनाको मृत्यु भएको छ ।

अहिलेसम्म भारतमा आठ हजार ८८९ संक्रमित निको भएर घर फर्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment