Comments Add Comment

सूर्यराज आचार्यलाई प्रश्न – तपाईं नागरिक अगुवा कि नेता ?

आचार्य भन्छन् : अपिल व्यक्तिगत हो, पार्टी जोडिँदैन

१९ वैशाख, काठमाडौं । तीन दिनअघि देशका १० जना नागरिक अगुवाले जारी गरेको अपिललाई लिएर सामाजिक सञ्जालमा निकै बहस भयो । संकटको समयमा सरकार परिवर्तनको खेल खेलिनु खेदजनक रहेको अपिलमा उल्लेख गरिएको थियो ।

उक्त अपिललाई लिएर सामाजिक सञ्जालमा विविध प्रतिक्रिया आइरहेकै छन् । कतिपयले चाहिँ हस्ताक्षरकर्ताहरुको पृष्ठभूमि र राजनीतिक आवद्धता पनि खोतलेका छन् । १० जनामध्येका एक हस्ताक्षरकर्ता पूर्वाधारविद सूर्यराज आचार्यलाई धेरैले सोधे– तपाईं दलको प्रवक्ता, कसरी नागरिक अगुवा ?

आचार्य साझा पार्टीका शीर्षनेता तथा प्रवक्ता हुन् । एउटा पार्टीको नेताले नागरिक अगुवाका रुपमा सरकारको समर्थनमा विज्ञप्ति जारी गर्न मिल्दैन भन्ने आलोचकहरुको तर्क छ ।

जलस्रोतविद तथा पूर्वमन्त्री दीपक ज्ञवालीले ट्विटरमा लेखेका छन्, ‘माफ पाउँ, तपाईंले साझा पार्टीका तर्फबाट बोल्ने हो, स्वघोषित नागरिक भन्ने जमातका तर्फबाट होइन ।’

समाजवादी पार्टीका नेता डम्बर खतिवडा उनलाई ईंगित गर्दै लेख्छन्, ‘कि राजनीतिमा आउनुहुन्न, आइसकेपछि यसको निर्ममतालाई सामना गरेर हिँड्नुपर्छ । साझा २/४ भित्रै पर्ने पार्टीको हो नि अहिले, तपाईंले नागरिक समाज बनेर भ्रष्ट सरकारको प्रतिरक्षा गर्न मिल्ला र ? यो त अर्को नैतिक प्रश्न भयो ।’

विश्लेषक उत्तमबाबु श्रेष्ठले सामाजिक सञ्जालमा लेख्छन्, ‘तपाईंको नाम संलग्न नागरिक वक्तव्य पढ्दा मनमा आएको कुरा– अब नारायणकाजीले पनि नागरिक समाजका नाममा वक्तव्य निकाले भने मान्य हुनुपर्ने भयो । मैदानमा भएका खेलाडीले दर्शक दीर्घातिर आएर खेल झेली भएको भन्दै कराएजस्तो भयो ।’

यिनै आलोचनाहरुलाई समेटेर हामीले आचार्यसमक्ष एकमुष्ट प्रश्न तेर्स्यायौं– ‘तपाईं एउटा पार्टीको जिम्मेवार नेताले ‘स्वतन्त्र नागरिक’ को हैसियतमा विज्ञप्ति जारी गर्न मिल्छ ?’

आचार्यले सरल जवाफ दिए, ‘म साझा पार्टीको नेताभन्दा पहिले यो देशको नागरिक हुँ । मैले अपिलमा नागरिककै रुपमा हस्ताक्षर गरेको छु र यसमा साझा पार्टी कतै पनि जोडिँदैन ।’

पार्टीमा प्रष्टीकरण

विहीबार बसेको साझा पार्टीको केन्द्रीय कमिटीको भर्चुअल वैठकमा आचार्यको हस्ताक्षरबारे छलफल भएको थियो । केही केन्द्रीय सदस्यहरुले यस विषयमा सामाजिक सञ्जालमा आएका टिप्पणीहरु उल्लेख गर्दै प्रश्न उठाएको र आचार्यले जवाफ दिएको पार्टीका सहप्रवक्ता शरदराज पाठकले बताए ।

‘केही सदस्यहरुले पार्टीको प्रवक्तासमेतबाट आएको वक्तव्यका विषयमा प्रश्न उठाउनुभएको थियो । प्रवक्ताज्यूले यो आफ्नो व्यक्तिगत धारणा भएको र पार्टी यसमा नमुछिने भनेर प्रष्टीकरण दिएपछि छलफल धेरै लम्बिएन ।’

स्रोतका अनुसार आचार्यले प्रष्टीकरण दिने क्रममा पार्टीले पनि यही लाइनमा धारणा बनाउन सक्ने वा सो विज्ञप्तिलाई लिएर खेद व्यक्त गर्नसक्ने बताएका थिए ।
‘मैले एउटा नागरिकको भूमिका निभाएको हुँ । तपाईंहरुलाई यो काम गलत हो भन्ने लाग्छ भने खेद प्रस्ताव पारित गर्न सक्नुहुन्छ, म त्यसलाई स्वीकार गर्छु । होइन, ठीक हो भन्ने लाग्छ भने समर्थनमा विज्ञप्ति जारी गरौं,’ आचार्यले भनेका थिए ।

तर, बैठक दुवै विकल्पमा गएन । अपिलको मर्म सही भए पनि सामाजिक सञ्जालमा आएको आलोचनाले गर्दा त्यसमा समर्थन जनाउने अवस्था नरहेको धारणा धेरै केन्द्रीय सदस्यहरुको थियो ।

संयोजक रवीन्द्र मिश्रले भने यसमा ठोस विचार राखेनन् ।

भोलि वा पर्सि अर्को बैठक बसेर यो सरकारको विषयमा धारणा बनाउने निर्णय भएको सहप्रवक्ता पाठकले अनलाइनखबरलाई बताए ।

आचार्य भन्छन् : अस्थिरताको मात्र विरोध

आफ्नो पार्टीभित्र नागरिक समाजका विभिन्न अवयवहरुसँग सहकार्यका लागि नेताहरुलाई लचकता दिइएको प्रवक्ता आचार्य बताउँछन् । राष्ट्रिय हितका कुरामा व्यक्तिगत तहबाट अन्य प्रबुद्ध व्यक्तिहरुसँग सहकार्य गर्नु आपत्तिको विषय नभएको उनको भनाइ छ ।

‘हाम्रा संयोजकले पनि केही दिन अगाडि नागरिक समाजको सदस्यका रुपमा साझा विज्ञप्तिमा हस्ताक्षर गर्नुभएको थियो । हाम्रो लागि यो नयाँ अभ्यास होइन,’ आचार्यले भने ।

नागरिक अपिल जारी भएपछि सरकार निकटका व्यक्तिहरुले आचार्यलाई फोन गरेर धन्यवादसमेत दिएका थिए । आचार्य भने सरकार समर्थकरुले यो विज्ञप्तिबाट खुशी हुनुनपर्ने र विरोधीहरुले दुःखी हुने नपर्ने बताउँछन् ।

उनी भन्छन्, ‘हामीले यो सरकारको समर्थन गरेको वा सरकारलाई काँधमा बोकेको होइन । सरकार सच्चिनुपर्छ भन्नेमा हामी स्पष्ट छौं । खाली यति मात्रै भनेका हौं कि योबेला राजनीतिक अस्थिरता सिर्जना गर्ने हिसाबले सरकार ढाल्ने खेलमा जानुहुँदैन । देशको राजनीतिलाई अनिश्चितताको भूमरी र अस्थिरताको दुश्चर्कमा फस्नेगरी दलका सिनियर नेताको अवाञ्छित चलखेल नहोस् ।’

प्रवक्ता आचार्यले केपी शर्मा ओली नै प्रधानमन्त्रीमा अपरिहार्य नभएको भन्दै कोरोनाको कोलाहल अन्त्य भएपछि नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा जोड दिए ।

पार्टीको आपत्ति छैन : रवीन्द्र मिश्र

साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले नागरिक अगुवाका नाममा जारी अपिललाई अनावश्यक विवादको विषय बनाइएको बताए । कहिलेकाहीँ सन्दर्भअनुसार पार्टीका नेताहरुको व्यक्तिगत विचार पनि बाहिर आउने भन्दै त्यसमा पार्टीलाई नजोड्न उनले आग्रह गरे ।

मिश्रले अनलाइनखबरसँग भने, ‘हाम्रो पार्टी अरु पार्टीभन्दा फरक यस अर्थमा पनि छ कि हामी आफ्ना नेता–कार्यकर्तालाई दासजस्तो कुनै विचारले बाँधेर राख्दैनौं । फेरि, सूर्यराजजीले उक्त अपिलमा आफूलाई साझा पार्टीको प्रवक्ता भनेर चिनाउनुभएको पनि छैन ।’

वर्तमान सरकारको निकम्मापन, अकर्मण्यता, अधिनायकवादउन्मूख गतिविधिलाई पार्टीले आलोचना गर्दै आएको र गरिरहने मिश्रले बताए ।

यद्यपि अहिल्यै प्रधानमन्त्रीको राजीनामा भने मागिनसकेको मिश्रको भनाइ छ ।

‘साझा पार्टीले अहिलेसम्म राजीनामा मागिसकेको स्थिति होइन । यस विषयमा हामीले आफ्नो धारणा बनाउन बाँकी नै छ,’ मिश्रले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment