Comments Add Comment

अझै नि मानवता ढल्या छैन है…

एकातिर स्वास्थ्य सामग्रीमा अनियमितता र कालोबजारी भइरहेको छ । सेवामूलक भनिएका कतिपय अस्पतालको ढोकामा सर्वसाधारणका लागि काँडेतार लगाइएको छ । भोकले ब्याकुल मानिसहरुका लागि मूल्य बढाएर खाद्य सामग्री कालोबजारी गर्न उद्यत छन् कतिपय मानवताविहीन मानवहरु ।

अर्कातिर, भोकाएर पेट मिच्दै बरालिएकाहरुलाई खाना खुवाइरहेका छन् सहयोगी हातहरु । नाफा नोक्सानको क्रूर गोलचक्कर भन्दा बाहिर अझै पनि कतै मानवता बाँचिरहेको छ ।

लकडाउनसँगै ठेकदार गायव भएपछि मजदुर टेकबहादुर लामाले छाक ढुकेर बस्ने अवस्था आइपर्‍यो । एक महिना इँट्टा उचालेको पैसा नपाएपछि भक्तपुरमा रन्थनीएका ५४ वर्षीय टेकबहादुरको जीवनलाई मानव सेवा आश्रमले सहज बनाएको छ ।

हरेक बिहान-बेलुका गाडीमा खाना लिएर मानव सेवा आश्रमको भक्तपुर पुग्छ । अनि टेकबहादुरजस्ता मजदुर तथा बेवारिसे नागरिक प्लास्टिकको थाल थापेर लामवद्ध हुन्छन् ।

टेकबहादुरकी जहानलाई ०७२ को भूकम्पले किच्यो । परदेशमा भएकाले एकै चिहान भएका परिवारलाई सद्गत गर्न पनि पाएनन् टेकबहादुरले । त्यसपछि स्वदेश फर्किएर पापी परदेशलाई लात मारे । अनि काठमाडौंमै मजदुरी गर्न थाले । महिनामा पाँच हजार बच्न पनि मुस्किल पर्ने टेकबहादुरको गत १५ चैतबाटै कोठाको खर्च सकिएपछि चिउरा र दालमोठको भरले दिन काटे । मानव सेवाले खाना नै खुवाउँछ भन्ने थाहा पाएपछि विहान-बेलुकी सूर्यविनायक चोकमा पुगेर थाली थाप्न थाले ।

हरि माझी टाढैबाट कराए, ‘मेरो पनि पैसा खाइदिएको छ ठेकेदारले । बागलुङको झाँक्रीस्थान पुगेर घरको काम गरेको थिएँ । पैसा नै नदिई भाग्यो ।’ सडक छेउको बन्द घरको पेटीमा बसेका हरिले प्लास्टिककै चम्चाले एक गास भात खादै भने, ‘हामीलाई पनि कतैबाट राहत मिल्छ कि सर !’

मानव सेवाले २५ दिनदेखि वेवारिसे तथा सडकमा भएकालाई खाना खुवाउँदै आएको छ । उनीहरु भक्तपुरको नयाँ ठिमी चोक, सूर्यविनायक चोक र क्यान्सर अस्पतालमा पुगेर भोकै पेट बस्न बाध्यहरुको छाक टारिदिन्छ । आश्रमका स्वेमसेवकहरुले पिपिई र मास्क लगाएर खुशीहुँदै थाल समाएकाहरुलाई मानवता पस्किन्छन् । दैनिक २ सय ५० देखि तीन सय जनासम्मलाई खाना खुवाउने गरेको मानवसेवाका राष्ट्रिय कोर्डिनेटर सुमन गर्तौलाले बताए ।

मानव सेवाको सुमन गर्तौलाले भने, ‘हामीलाई स्वतस्फुर्त सहयोगहरु दिनुहुन्छ । आजमात्र भक्तपुरका एकजना किसान आमा आफ्नै बारीमा फलेको एक सय केजी जति काउली र साग बोकेर हामीलाई कुरिरहनुभएको थियो । बाटोमा तरकारी बेच्न राखेकाले पनि सहयोग गर्नुहुन्छ । कोहीले आर्थिक पनि सहयोग गर्नुहुन्छ ।’

ठमेलमा प्याकेट बिर्‍यानी

चौबीसै घण्टा रमाइलोमा झुमिरहने ठमेल बजार यतिबेला एक्लिएको छ । सुमधुर धुन, ठेलम ठेल मान्छेका क्याटवाक सुनिने ठाउँमा यतिबेला बरु चर्को गरी चराचुरुङ्गीको स्वर सुनिन्छ । सडकमा केही अलपत्र यात्रु र भोका श्रमिकहरुले पाइला नाप्छन् ।

लाकडाउनको अर्को दिनदेखि मिनहाज खानले श्रमिक र भोका मान्छेहरुलाई सम्झिए । खै किन हो उनीहरुले मिनहाजको मनलाई बेचैन बनायो । त्यसपछि चैनको सास फेर्न उनी भेज बिर्‍यानीको प्याकेट बोकेर ठमेलको सडकमा निस्किए ।

ठमेलमा रोमान्स गर्ने पैसावाल र एलिटहरु घरभित्रै थिए । सडकमा बरालिएका मजदुर र पेट हुँडलिएपछि सडकमा निस्किएका नागरिकको हातमा उनले बिर्‍यानीको प्याकेट थमाए । मिनहाज भन्छन्, ‘त्यस दिन ५० जना जतिलाई भेज बिर्‍यानी खुवाएको थिएँ ।’

ठमेलमा उनको कफी विथ मेन्ज रेस्टुरेन्ट छ । तर, कर्मचारीहरु विदामा छन् । उनका श्रीमती र दाइका छोरा मिलेर विहानैदेखि बिर्‍यानी तयार पार्न थाले ।

उनीहरु १२ बजेदेखि २ बजेसम्म सडकमा निस्कन थाले । ‘सुरुका दिनमा ५०/६० प्याकेट छिनमै सकियो । त्यसैले दुई सय जनालाई खुवाउन थालेँ’, मिनहाजले सुनाए । २० दिनसम्म त उनले आफ्नै खर्चमा खुवाए, त्यसपछि साथीहरुबाट सहयोग प्राप्त हुन थाल्यो । सहयोगसँगै सुझाव पनि वर्षिन थाल्यो । फलस्वरुप उनले जन्माए मेन्ज फाउण्डेशन ।

बिर्‍यानीको प्याकेटसँग मिनहाजले मास्क पनि उपलब्ध गराउँछन् । बिस्तारै पर्यटक पनि उनको बिर्‍यानीको प्याकेट समाउन आइपुगे । मिनहाज थप्छन्, ‘४० देखि ५० जनासम्म अलपत्र विदेशी पर्यटकले नियमित खानुहुन्छ ।’

अहिले मिनहाजको रमजान चलिरहेको छ । आफु भोकै रहेर पनि उनले अरुको पेट भराउदा सन्तुष्टिको सास फेर्छन् । मिनहाजले आफ्नै गार्मेन्ट फ्याक्ट्रीबाट नौ सय सुतीको पिपिई उत्पादन गरेर स्वास्थ्य संस्थाहरुलाई उपलब्ध गराए ।

घरघरमा प्याकेटको खाना

‘हरेक दिन पाँच सयलाई खान खान दिन सजिलो छैन । तर, हामी लागिरहेका छौँ ।’ मानवअधिकारका लागि एकल महिला समूहकी संस्थापक अध्यक्ष लिली थापाले ठूलो भाँडामा राखेको भात प्लास्टिकमा राख्दै गरेको फोटो फेसबुकमा राखेर क्याप्सन लेखेकी थिइन्-

‘ज्यामीहरु भन्छन् कि चिउरा खाएको धेरै दिन भएको थियो, तातो भात खाएपछि मज्जाले निन्द्रा लाग्यो । बृद्ध पुरुष आएर भन्नुभयो की विरामी मेरो बुढी र मैले खाना पकाउन सक्दैनौँ र पकाउने कुरा पनि छैन । तपाईको खानाले बाँचिरहेका छौँ । विद्यार्थीहरु आएर भन्नुभयो ग्यास सकिएकाले भात पकाउन पाएँनौँ । आज चाही आमालाई भात खाए भनेर फोन गर्छु । सुत्केरी महिलाले भन्नुभयो कि खान नपाएर बच्चाका लागि राम्रोसँग दूध पनि आएन । अहिले बल्ल पेटभरि खान पाएँ । दिनदिनै यस्तै कथा सुनिरहेको छु । त्यसैले हिम्मत हारेकी छैन ।’

नहारेकै कारण शुक्रबार मात्र छहारीले १३ सय जनाको भोको पेट भरायो । लिली भन्छिन्, ‘२५ जना स्वमंसेवकले दैनिक १४ बोरा चामल, झण्डै १८० किलो तरकारी, दुई बोरा दाल पकाउनुहुन्छ ।’

सुरुमा त उनीहरुले ७० जनालाई खुवाएका थिए । लकडाउन थपियो । भोकाहरुको संख्या पनि बढ्यो । बोराका बोरा सहयोगमा खाद्यान्न आउन थाल्यो । त्यसपछि दैनिक पाँच सय जना बढीका लागि खाना तयार हुन थाल्यो हात्तिवनस्थित समूहको छहारी सेफ हाउसमा ।

बिस्तारै सात/आठ सय जनाका लागि खाना पाक्न थाल्यो । लिली भन्छिन्, ‘हजार बढीलाई खाना पाक्न थालेको एक हप्ता भयो ।’

विहानदेखि खानका लागि तीन सयभन्दा बढी मजदुर, विद्यार्थी, अपांग्ता भएका व्यक्ति, अस्पतालका बिरामी, घाइते अशक्तहरु लामवद्ध हुन्छन् । र, प्याकेजिङ गरिएका खाना काठमाडौंको एकदेखि नौ वडासम्मका घर-घरमा पुग्छन् ।

‘वडाले नै खान उपलब्ध गराउने विपन्नहरुको पहिचान गर्छ । अनि वडाबाट स्वयंसेवीहरु आएर मोटरसाइकल र गाडीमा घरघरमा खाना पुर्‍याउनुहुन्छ’, काठमाडौंमा बाँचेको मानवताको उदाहरण बोलिन् लिली । उनका अनुसार आठ सयभन्दा बढी प्याकेजिङ गरिएका खाना घर-घरमा पुग्छन् ।

के देशमा घुसघोरी मात्र छ ? छलकपट मात्र छ ? छैन । ‘कतिले ग्यास दिनुभएको छ । कतिले बोराका बोरा चामल दिनुहुन्छ । कतिले पैसा नै दिनुहुन्छ’, लिली भन्छिन्, ‘एक अर्कालाई सहयोग गरेर बाँच्ने हाम्रो संस्कार मरेको रहेन छ । कोरोनाले सत्यानास मात्र पारेको छैन, सुशुप्त रहेका मानिसका मानवता पनि जगाएको छ ।’

पार्टी प्यालेसमै भोजन

लकडाउन नभएको भए सायद बसुन्धाराको मेघा पार्टी प्यालेस विहे पार्टीले खचाखच हुने थियो । र, पनि लकडाउनले थुप्रै पार्टिप्यालेसहरु बन्द भइरहेका बेला मेघामा भने चार बजेपछि चहलपहल सुरु हुन्छ । तर, त्यहाँ सुट टाई लगाएर होइन कि झुत्रा कपडा पहिरिएर विपन्नहरु छाक टार्नका लागि त्यहाँ पुग्छन् ।

सरकारले पहिलो पटक लकडाउन बढाएपछि सुमित मैनालीले घरमा खाना नहुने विपन्नहरुका लागि खुवाउन थाले । सुमित भन्छन्, ‘हरेक दिन चार सय जनाका लागि निःशुल्क भोजन तयार गर्छौँ ।’ व्यक्तिगत खर्चमा यस्तो अभियान सुरु गरेका सुमितको दैनिक ६५ हजार रुपैयाँ खर्च हुने उनी बताउँछन् ।

टोल नै अग्रसर

उता पुरानो सिनामंगल चोकको गणेश मन्दिरपछाडि दैनिक भतेर हुन्छ । १५ दिनअघि पुरानो सिनामंगल टोलले विपन्नलाई खुवाउनका लागि सहयोग संकलन गर्‍यो र खाना पकाउन सुरु गर्‍यो । जसमा पुरानो सिनामंगल युवा क्लवले अग्रसरता लियो । सुरज केसी भन्छन्, ‘हामी टोलका दाजुभाइ मिलेर यो विपतमा कोही भोको बस्नु नपर्ने गरी केही योजना बनाऔँ भनेर छलफल गर्‍यौँ अनि अभियान सुरु गर्‍यौँ ।’

पहिलो दिन तीन सयजनालाई भात पाक्ने भान्सामा अहिले सात सयभन्दा बढीका लागि पाक्ने गरेको छ । खाना खाएपछि आउन नसक्ने परिवारका लागि पनि खाना प्याक गरेर घरतिर लाग्छन् । ‘निम्न वर्ग र दैनिक ज्यालादारीमा जीवन गुजार्नेहरुका लागि हामीले यो अभियान सुरु गरेका हौँ’, सुरज भन्छन्, ‘लकडाउन सकिएको एक हप्तापछिसम्म खुवाउनेछौँ ।’

सानो ठिमी, नयाँ बस्ती, जडिबुटीसम्म खानका लागि मात्र मानिसहरु त्यहाँ पुग्दैनन्, त्यही बाटो भएर हिँड्ने कतिपय पैदल यात्रीले सहयोग पनि गर्छन् । कोहीले विदेशबाट पठाउँछन्, कसैले त्यहीँ आएर दाल चामल उपलब्ध गराउँछन् । सुरज भन्छन्, ‘कोही भोको बस्न नपरोस् भनेर हामीले खुवाउन सुरु गर्‍यौँ । टोलकै युवाहरुले खाना पकाएर खुवाउँछौँ ।’

जब पैदलयात्री भोकभोकै परे

सरकारले एकपछि अर्को गर्दै लकडाउन थपेपछि मजदुर र विपन्नहरु काठमाडौंमा भोकै परे र हुलका हुल पैदलयात्रामा निस्किए । हजारौँ मानिसहरु मकवानपुर हुँदै गन्तव्यमा निस्किए । खुट्टामा फोका उठाएर पानी र चिउराको भरमा पैदन हिँड्न बाध्य यात्रीका लागि श्री कृष्ण प्रणामी समाज मकवानपुर भगवान भएर निस्कियो ।

हेटौंडामा समाजले १२ गतेबाटै दैनिक ६/७ सय भोका मानिसको पेट भर्न थाल्यो । र, अलपत्र यात्रुलाई आफ्नै गाडिहरु प्रयोग गरेर सिमाना कटाइदियो । ‘विहान सातबजेबाट राम मन्दिर चोकमा दिनभर खाना खुवाउँथ्यो । विपी चौलागाईं भन्छन्, ‘तर, बैशाख १२ गतेदेखि भने प्रशासनले रोक लगाएको छ ।’

कोरोनाका कारण मानिसलाई आइपरेको यो आपतमा यस्ता सहयोग निकै शक्तिशाली उदाहरण हुन् । तर, सहयोगको नाउँमा निम्न वर्गका थाप्लोमा टेकेर आफ्नै अनिमितता गर्ने र आफ्नै दुनो सोझाउन दुस्साहस गर्नेहरुप्रति भने सधैं चनाखो हुन जसरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment