News Summary
Generated by OK AI. Editorially reviewed.- पश्चिम बङ्गालमा भ्लादिमिर लेनिनको सालिक ढल्नुले सामाजिक सञ्जालमा यसको आवश्यकता बारे प्रश्न उठाएको छ।
- लेनिनको सालिकले समाजवादी विचारधारा र मजदुर आन्दोलनको विश्वव्यापी प्रभावलाई जनाउँछ।
- लेखकले इतिहाससँग संवाद गर्ने समाजले स्मृति विनाशबाट बच्न सक्ने बताउनुभएको छ।
पश्चिम बङ्गालमा भ्लादिमिर लेनिनको सालिक ढालिएपछि सामाजिक सञ्जालमा बारम्बार एउटा प्रश्न सोधियो, ‘बङ्गालमा लेनिनको सालिकको के आवश्यकता छ?’
यो प्रश्न एउटा सालिकको बारेमा मात्र होइन; यसले हाम्रो ऐतिहासिक बोध र राजनीतिक स्मृतिको सीमित हुँदै गएको बुझाइलाई पनि बाहिर ल्याउँछ।
हेक्का रहोस्, इतिहास कहिल्यै भूगोलको बन्द सीमाभित्र बनेको छैन। विचार, सङ्घर्ष, क्रान्ति र दर्शनले सधैँ सीमा नाघेका छन्। बङ्गालमा रहेको लेनिनको सालिक यस कुराको प्रतीक थियो कि समाजवादी विचारधारा, मजदुर आन्दोलन र साम्राज्यवाद-विरोधी राजनीतिले बङ्गालसहित विश्वका अनेकौँ हिस्साको राजनीतिक चेतनालाई प्रभावित गरेको थियो। यस कुरासँग सहमत हुनैपर्छ भन्ने अनिवार्य छैन।
कसैले लेनिनको आलोचना गर्न सक्छ, साम्यवादी राजनीतिलाई अस्वीकार गर्न सक्छ, तर कुनै ऐतिहासिक व्यक्तित्वको सान्दर्भिकतालाई केवल उसको राष्ट्रियतासँग जोडेर सीमित गरिदिनुले इतिहासप्रतिको बुझाइलाई धेरै साँघुरो बनाइदिन्छ।
त्यसो भए यही प्रश्न हामी उल्ट्याएर सोध्न सक्छौँ कि महात्मा गान्धीका सालिकहरू विश्वका अनेकौँ देशहरूमा किन छन्? डा. भीमराव अम्बेडकर, जवाहरलाल नेहरू वा रवीन्द्रनाथ टैगोरलाई भारतबाहिर किन सम्झिइन्छ?
किनभने केही व्यक्तित्वहरू आफ्नो देशको सीमाभन्दा माथि उठेर मानवताको व्यापक विमर्शको हिस्सा बन्न पुग्छन्। गान्धी भारतका मात्र होइनन्, उनी अहिंसक प्रतिरोधका प्रतीक हुन्; अम्बेडकर सामाजिक न्याय र संवैधानिक नैतिकताका; टैगोर सार्वभौमिक मानवताका; र नेहरू लोकतान्त्रिक आधुनिकताका प्रतीक हुन्।

लोकतन्त्रको तागत सबैले एउटै ऐतिहासिक व्यक्तित्व वा एउटै विचारधारालाई मान्नुमा हुँदैन, बरु वैचारिक असहमति हुँदाहुँदै पनि समाजले स्मृति र इतिहाससँग सह-अस्तित्व कायम राख्न सक्नुमा हुन्छ।
आत्मविश्वासी समाज इतिहाससँग संवाद गर्छ भने असुरक्षित समाज इतिहासका प्रतीकहरूलाई मेटाउने कोसिस गर्छ।
आखिर सालिकहरू ढुङ्गा वा धातु मात्र हुँदैनन्। ती त समाजले कस्ता विचार, सङ्घर्ष र स्मृतिहरूलाई आफ्नो सार्वजनिक जीवनमा स्थान दिन चाहन्छ भन्ने कुराका सङ्केत हुन्।
र, जब राजनीतिले स्मृति-विनाशको रूप लिन थाल्छ, तब कुनै पनि प्रतीक सुरक्षित रहँदैन, न लेनिन, न गान्धी, न नेहरू, न अम्बेडकर, न त टैगोर। के हामी यस्तो कुरा स्वीकार गर्न सक्छौँ?
(राष्ट्रिय जनता दलका राज्यसभा सदस्य शर्माको द वायरमा प्रकाशित विचारको भावानुवाद)
प्रतिक्रिया 4