Comments Add Comment

कोरोना संकटसँग जुध्न साउदीले भारी मात्रामा खर्च कटौती गर्ने

२१ वैशाख, काठमाडौं । साउदी अरबले कोरोना महामारीको कारण परेको समस्याबाट जुध्न भारी मात्रामा खर्च कटौती गर्ने भएको छ । अन्तर्वार्तामा अर्थव्यवस्थामा परेको असरसँग जुध्न सबै विकल्प खुला राखेको र अपि्रय निर्णय लिने साउदी सरकारको भनाइ छ ।

साउदी अरबका वित्तमन्त्री मोहम्मद अल जदानले अल-अरबियालाई दिएको अन्तर्वार्तामा कोरोना महामारीले पारेको असर यस वर्षको दोस्रो त्रैमासबाट देखिन सुरु गर्ने भन्दै वित्तिय अनुशासन कायम गर्न कडाइ गर्ने बताएका छन् । उनले ठूला आयोजनाको खर्च पनि कटौती हुने बताए ।

विश्वको सबैभन्दा धेरै तेल निर्यात गर्ने देश साउदी अरब कोरोना भाइरसको महामारीका कारण संकटमा परेको छ । तेलको मूल्य ऐतिहासिक रुपमा गिरावट आएको छ ।

तेलको मूल्य घटेपछि यस वर्षको पहिलो तीन महिनामा ९ अर्ब डलर घाटा भएको साउदी सरकारको आँकलन छ ।

केन्द्रीय बैंकमा विदेशी मुद्रा सन्चिति पनि मार्च महिनामा विगत २० वर्षयताकै कम भएको छ । वित्तमन्त्री जदानले केही महिना अघि विदेशी मुद्रा भण्डारणलाई सन्तुलनमा राख्न २६ अर्ब डलर ऋण सहायता लिने बताएका थिए ।

साउदी अरबको मौद्रिक निकायले मार्च महिनामा साउदी अरबको विदेशी सम्पत्ति ४६४ अर्ब डलर गिरावट आएको जानकारी दिएको थियो । यो १९ वर्षयताकै सबैभन्दा तल्लो स्तरमा पुगेको आँकडा हो ।

साउदी सरकारले कोेरोना भाइरस संक्रमण रोक्नका लागि धेरैजसो शहरमा लकडाउन गरेको छ । कतिपय स्थानमा कर्फ्यु नै घोषणा गरिएको छ । मानिसहरु घरभित्रै बसेकाले सम्पूर्ण कारोबार ठप्प छ ।

अन्तर्राष्ट्रिय हवाई सेवा पूर्णरुपमा बन्द छ । जसका कारण साउदी अरबमा तेल बाहेकको क्षेत्रबाट हुने राजश्व संकलन पूर्णरुपमा प्रभावित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment