Comments Add Comment

सेभ द चिल्ड्रेनले दियो साढे १७ सय सेट पीपीई र अत्यावश्यक स्वास्थ्य सामग्री

२१ वैशाख, काठमाडौं । सेभ द चिल्ड्रेनले नेपाल सरकारलाई कोभिड-१९ (कोरोनाभाईरस)को संक्रमण रोक्न सघाउने उद्देश्यले १ हजार ७ सय ४३ सेट व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) र अन्य अत्यावश्यक स्वास्थ्य सामग्रीहरु प्रदान गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको उपस्थितिमा सेभ द चिल्ड्रेनको नेपालस्थित राष्ट्रिय कार्यालयद्वारा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो ।

सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री ढकालले भने, ‘सेभ द चिल्ड्रेनले प्रदान गरेको सहायताले सरकारलाई स्वास्थ्य सेवा सुदृढीकरण गर्न र स्वास्थ्यकर्मीहरुलाई कोभिड-१९ को संक्रमणबाट रोक्न सहयोग गर्नेछ । त्यसकारण, यो सहायताले सुदृढ स्वास्थ्य सेवा र कोभिड-१९ को संक्रमण नियन्त्रणमा सघाउनेमा म विश्वस्त छु ।’

सेभ द चिल्ड्रेनले उपलब्ध गराएका व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) सेट विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको मापदण्ड अनुसारका रहेका छन् ।

‘हाम्रो प्राथमिकता कोभिड-१९ को संक्रमण फैलिनबाट रोक्नका लागि नेपाल सरकारलाई मद्दत गर्ने र अति सीमान्तकृत समुदाय विशेषगरी जोखिममा रहेका बालबालिकाहरुसम्म स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गराउने रहेको छ । नेपालको स्वास्थ्य प्रणालीको सुदृढीकरणका क्षेत्रमा सेभ द चिल्ड्रेन निरन्तर क्रियाशिल रहने, स्वाथ्यकर्मीहरूलाई जीवन बचाउका सामग्रीहरु सहज रुपमा उपलब्ध गराउने र सहयोग गर्ने कार्यमा प्रतिबद्ध रहेको छ,’ सेभ द चिल्ड्रेन नेपालका अन्तरिम राष्ट्रिय निर्देशक बन्दना रिसालले भनिन् ।

सेभ द चिल्ड्रेनले आफ्नो नियमित र ग्लोबल फण्डको आर्थिक सहायता प्राप्त परियोजनाहरुबाट संघीय, प्रादेशिक र स्थानीय सरकार मार्फत् कोभिड-१९ सँग सम्बन्धित सेवाका लागि तत्काल आवश्यक पर्ने मेडिकल र अन्य सामग्रीहरु उपलब्ध गराई सहयोग गरिरहेको बताएको छ ।

साथै संस्थाले थप २ हजार सेट व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) को खरिद प्रक्रियामा पनि रहेको जानकारी दिएको छ । सेभ द चिल्ड्रेनले आफ्ना नियमित कार्यक्रमहरु र ग्लोबल फण्ड परियोजना मार्फत् संघीय, प्रदेश तथा स्थानीय सरकारका सम्बन्धित मन्त्रालय तथा निकायसँगको सहकार्यमा मेडिकल र अन्य सामग्रीहरु प्रदान गरिरहेको छ ।

जसमा क्वारेन्टाइन केन्द्रहरु बनाउन सहयोग गर्ने, स्वास्थ्य तथा सरसफाईका सामग्रीहरु उपलब्ध गराउने, स्वाब संकलनका बारेमा स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने, स्वास्थ्यकर्मीहरुका लागि सहायक सामग्रीहरु जस्तै इन्फ्रारेड थर्मोमिटर, एन-९५ मास्क, कार्डिआक मोनिटर, इलेक्ट्रिक सक्सन मेसिन, ईसिजी मेसिन लगायत उपलब्ध गराएको छ ।

साथै, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना सञ्चार केन्द्रसँगको सहकार्यमा राष्ट्रिय तथा स्थानीय रेडियोहरु मार्फत् बालबालिका तथा समग्र जनमानसलाई लक्षित गरी कोभिड-१९ सँग सम्बन्धी सूचनाहरु प्रवाहका कार्यहरु समेत गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment