Comments Add Comment

राज्यको चौथो अंगलाई संकुचित नगरौं : अनुपराज शर्मा

२१ वैशाख, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले अभिव्यक्ति स्वतन्त्रता र मानवअधिकार एक अर्काका पूरकका रूपमा रहेको बताएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल पत्रकार महासंघद्वारा आइतबार आयोजित श्रव्यदृश्य अन्तक्र्रियामा उनले यस्तो बताएका हुन् ।

समाजका राम्रा–नराम्रा कुराको खबरदारी गर्दै अघि बढिरहेको राज्यको चौथो अंगलाई संकुचित गर्ने काम नगर्न उनले सबैलाई आग्रह गरे ।

अध्यक्ष शर्माले भने, “आँखामा पट्टी बाँध्न, मुख थुन्न सकिए पनि मस्तिष्कमा आउने विचारलाई कसैले रोक्न सक्दैन, राजनेताको तस्वीर र भाषण छाप्ने कि प्रताडितका जनजीवनसँग सम्बन्धित घटनालाई प्राथमिकता दिने भन्ने विषयमा भने पत्रकारिता क्षेत्रले छुट्याउन सक्नुपर्छ । प्रेस स्वतन्त्रता भएन भने लोकतन्त्रका अवयव स्थापित हुन सक्दैन ।’

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले ठूलो बलिदान र संघर्षबाट प्राप्त लोकतन्त्र र प्रेस स्वतन्त्रताविरुद्ध आउने चुनौतीको सामना गर्न पत्रकारिता जगत् र नागरिक समाज मिलेर काम गर्नुपर्ने आवश्यकता औंल्याए ।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले राज्यका कमीकमजोरी औंल्याउने र सुधारका लागि आलोचना गर्ने जिम्मेवारीमा रहेको आमसञ्चार क्षेत्रलाई सरकारले विरोधीका रुपमा हेर्ने गरेको बताए । सरकारको यस्तो प्रवृत्तिलाई बदल्न महासंघले भूमिका खेल्नुपर्ने गाउँलेको भनाइ छ ।

पूर्वअध्यक्ष तारानाथ दाहालले राजनीतिक पक्षबाट प्रेस स्वतन्त्रतालाई लोकतन्त्रको खम्बाका रूपमा हेर्ने र सोहीअनुरूपको वातावरण नबनाउँदा पत्रकारमाथिको आक्रमण दोहोरिँदै आएको बताए ।

उपाध्यक्ष विपुल पोखरेलले प्रेस स्वतन्त्रताको पूर्ण अभ्यासको वातावरण बनाउन र लोकतन्त्रलाई समृद्ध तुल्याउन सरोकारवाला पक्ष एकठाउँमा उभिन आवश्यक रहेको बताए ।

महासचिव रमेश विष्टले गएको एक वर्षको अवधिमा ९४ वटा प्रेस स्वतन्त्रतामाथि उल्लङ्घनका घटना भएको जानकारी दिँदै प्रदेशगत तहमा त्यसरी भएका घटनाको विवरण प्रस्तुत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment