+
+
Shares

गोरखाका चार बालबालिकामा दादुरा

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २१ गते १७:५८

२१ वैशाख, गोरखा । पूर्ण खोपयुक्त घोषणा भएको गोरखा जिल्लामा दादुराको संक्रमण देखिएको छ । गण्डकी गाउँपालिका–७ घ्याल्चोकका चार जना बालबालिकामा दादुराको संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

दादुरासँग मिल्दोजुल्दो लक्षण देखिएपछि रगतको नमूना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो । आइतबार आएको रिपोर्ट अनुसार उनीहरुमा दादुराको संक्रमण देखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी राजुरमण न्यौपानेले बताए ।

‘दादुराको आशंकामा यही बैशाख १७ गते पाँच जना बालबालिकाको रगतको नमूना संकलन गरेर परिक्षणका लागी टेकु पठाएका थियौ,’ उनले भने, ‘आज रिपोर्ट आयो, पाँच जनामध्य चार जनामा संक्रमण देखियो ।’ संक्रमित हुनेहरु ६ महिनादेखि १७ बर्षसम्मको रहेको उनले बताए ।

‘दादुराको औषधी भनेको खोप नै हो, बच्चा जन्मिएको ९ र १५ महिनाभित्र यो खोप लगाउनुपर्छ, तर संक्रमितहरुको घरमा गएर बुझ्दा खोप लाए नलाएको परिवारलाई पनि थाहा रहेनछ,’ न्यौपानेले भने । दादुरा हावाको माध्यमबाट सर्ने रोग भएकाले उक्त ठाउँमा थप सर्तकता अपनाइएको उनले बताए ।

स्वास्थ्य स्वयंसेविकामार्फत घरघरमा जनचेतना फैलाउने काम समेत भइरहेको उनको भनाइ छ । ‘संक्रमित बालबालिकाहरुलाई घरबाट बाहिर ननिस्कन र बाहिर घुलमिल हुन नदिन भनेर अभिभावक समेतलाई भनेका छौं, र घरमै पुगेर स्वास्थ्य अवस्था पनि बुझिरहेका छौ,’ उनले भने ।

गण्डकी गाउँपालिकाको अन्य ठाउँमा पनि दादुरा संक्रमित बालबालिका हुन सक्ने अनुमान कार्यालयको छ । वैशाख २६ गतेबाट दादुरा रुवेलाविरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको न्यौपानेले जानकारी दिए ।

उनका अनुसार ज्वरो आउने, रुघाखोकी लाग्ने र शरीरमा विमिरा आउने दादुराका लक्षण हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?