
हामीलाई मसलेदार खानेकुरा मनपर्छ । मासुजन्य खानेकुरा मनपर्छ । तेलमा तारेको, भुटेको भनौं डिप फ्राई गरेको खानेकुरा मनपर्छ । थरीथरीको मिश्रण भएको चटपटे मनपर्छ । चिल्लो, पीरो, अमिलो, मसलेदार स्वादमा हाम्रो जिब्रो रमाउछ ।
तर, यस्ता खानेकुरा मुखबाट भित्र पुगेपछि हानिकारक बनिदिन्छ । जब मसेदार, तारेको, भुटेको, चिल्लोचाप्लो खानेकुरा पेटमा पुग्छ, पाचन प्रक्रियामा समस्या हुन्छ ।
त्यसो भए खानेकुरामा स्वाद नै नखोज्ने त ? पक्कै होइन ।
खानेकुरा स्वादिलो हुनुपर्छ । तर, स्वस्थ्यकर पनि । स्वादिलो, स्वस्थ्यकर, सुपाच्य र सन्तुलित खानेकुरा उपयुक्त हुन्छ । तर, खानामा यस्तो सन्तुलन कसरी मिलाउने ? जो स्वादिलो पनि होस्, स्वास्थ्यकर पनि ।
उसिनेको खानेकुरा
हामीलाई लाग्छ, खानेकुरा उसिनेर सेवन गर्दा त्यती स्वाद आउँदैन । किनभने हामीलाई तेल वा घिउमा भुटेर, तारेर, मरमसला मिसाएर खाने बानी परेको छ । तर, उसिनेको खानेकुरालाई पनि स्वादिलो बनाउने काइदा छ ।
जस्तो कि, भेज तरकारी खान मन लाग्यो । यसरी बनाउन सकिन्छ । ब्रोकाउली, काउली, सिमि, गाजरलाई हल्का उसिन्ने । यसमा उसिनेको आलु मिसाउन सकिन्छ । उसिनेको अन्डालाई पनि टुक्रा गरेर राख्न सकिन्छ । अब त्यसलाई एउटै कचौरामा राखेर त्यसमाथि कागतिको रस चुहाउने, वीरे नुन छर्कने । हरियो धनिया, खुर्सानी र गोलभेडा काटेर हाल्ने । त्यसलाई हल्का मोल्ने । यस्तो सब्जी स्न्याक्स वा नास्ताको रुपमा सेवन गर्न सकिन्छ ।
अक्सर हामी भुटेको, तारेको मासुमा पल्किएका छौं । मासु खानु परेमा त्यसमा सक्दो मसला मिसाएर, धेरै तेलमा लामो समय पकाएर खाने गर्छौं । शरीरमा सम्पूर्ण पोषक तत्व आपूर्तिको लागि मासु पनि चाहिन्छ । तर, त्यसलाई हामीले जुन ढंगले पाएकार सेवन गर्छौ, त्यो अस्वस्थ्यकर छ ।
अक्सर मासु खाइसकेपछि धेरैलाई पेटको समस्या हुन्छ । ग्याष्ट्रिकको समस्या हुन्छ । त्यसैले मासु सेवन गर्दा डराई–डराई खाइन्छ । तर मासुलाई स्वस्थ्यकर ढंगले पनि तयार गर्न सकिन्छ । यसका लागि उसिनेको मासु उपयुक्त विकल्प हो ।
मासुलाई राम्ररी उसिन्ने । उसिनेको मासुलाई अचार वा स्न्याक्सको रुपमा सेवन गर्न सकिन्छ ।
उसिनेको मासुलाई निश्चित टुक्रामा बनाउने । त्यसमा नुन, खुर्सानीको पेस्ट हाल्ने । अब प्याज, धनिया, हरियो खुर्सानीलाई काटेर मिसाइदिने । स्वादको लागि कागतिको रस चुहाउन सकिन्छ ।
मटर, केराउ एवं चनालाई पनि यसरी उसिनेर नुन, खुर्सानीसँग मिश्रण गरी सेवन गर्न सकिन्छ । सलादलाई पनि यसरी मिश्रण गरेर स्वादिलो बनाउन सकिन्छ ।
बच्चाको लागि गाजरको हलुवा
यहाँ बच्चाको लागि स्वादिलो गाजरको हलुवा पकाउने विधी सिकाइएको छ ।
गाजरको सेवन स्वास्थ्यको लागि राम्रो मानिन्छ । हेर्दा राम्रो पनि देखिन्छ । त्यसैले बच्चाको खाजामा गाजरको हलुवा किन नबनाउने ?

सामग्री
-गाजर ( कोरेसोले कोरेको २ कप गाजर)
-दुध (३७५ मिलीलिटर)
-घिउ (डेढ ठूलो चम्चा)
– शख्खर
-काजु (५ वटा टुक्रा गरिएको)
-५ बदाम
-८ किसमिस
-थोरै सुकुमेल पाउडर
कसरी बनाउने ?
१. एक बाक्लो कराहीमा मध्यम आँचमा घिउ तताउने । त्यसमा कोरेसोले कोरेको गाजर हाल्ने । तीन चार मिनट लगातार चलाउँदै भुट्ने ।
२. त्यसमा दुध मिसाउने र मध्यम आँचमा विस्तारै उमाल्ने ।
३. जब मिश्रण उम्लन थाल्छ, त्यो बिस्तारै गाढा हुँदै जान्छ । यसबीचमा बेलाबेला चम्चाले चलाइरहनुपर्छ ।
४. जब गाजर र दुधको हलुवा बन्छ, त्यसमा थोरै चिनी, किसमिस, काजु हाल्ने र चलाउने ।
५. त्यसमाथि सुकुमेलको पाउडर हालेर चलाउने । यसरी गाजरको हलुवा तयार हुन्छ ।
प्रतिक्रिया 4