Comments Add Comment

काठमाडौं उपत्यकाका मेयरले भने–आउने-जानेलाई पूर्णरूपमा रोकौं

२३ वैशाख, काठमाडौं । उपत्यका नगरपालिका फोरमका पदाधिकारीले सरकारसँग कोरोना संक्रमणबाट उपत्यकालाई जोगाउन निर्वाध प्रवेशलाई पूर्णारूपमा रोक्नुपर्ने माग राखेका छन् । कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिका संयोजक समेत रहेका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललाई भेटगरी उनीहरूले यस्तो माग राखेका हुन् ।

उपत्यकाका दुई महानगर र १६ नगरपालिकाका मेयर-उपमेयरहरूको साझा संस्था नगरपालिका फोरमका पदाधिकारीले संयोजक पोख्रेललाई भेटी उपत्यकाभित्र निर्बाध आवत-जावतलाई कडाइ गरी उपत्यकाभित्र भने केही खुकुलो बनाउनुपर्ने माग गरेका हुन् ।

‘उपत्यका बाहिरका केही स्थानमा अहिले पनि कोरोना संक्रमित बढिरहेका छन्। यस्तो बेलामा एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा आवत-जावत गर्दा संक्रमणको खतरा बढी हुन्छ,’ फोरमका अध्यक्ष समेत रहेका काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भने, ‘यस्तो बेलामा उपत्यकाबाट हुने आवत-जावतमा कडाई नगर्ने हो भने त्यसले थप समस्या सिर्जना गर्न सक्छ । हामीले उच्चस्तरीय समन्वय समितिका संयोजक समेत रहनुभएका रक्षामन्त्री ईश्वर पोखरेलज्यूसँगको भेटमा यही कुरा राखेका छौँ ।’

आवत-जावतलाई कडाइ गरे पनि उपत्यका भित्रको चहल-पहललाई भने केही खुकुलो बनाउनु पर्ने प्रस्ताव पनि पोख्रेलसँग राखेको शाक्यले जानकारी दिए।

‘काठमाडौंबाट मजदुर-विद्यार्थीलगायतलाई धमाधम गाउँ फर्काउने र बाहिरबाट पनि काठमाडौँ पठाउने होडबाजी गर्दा त्यसले झन थप समस्या हुन्छ । यसलाई कडाइका साथ रोक्नुपर्छ भनेर पनि भनेका छौँ,’ उनले भने, ‘हाम्रो मागप्रति मन्त्रीज्यू सकारात्मक हुनुहुन्छ । उहाँले समितिको बैठक र मन्त्रिपरिषद्मासमेत यी कुरा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।’

संयोजक पोख्रेललाई भेट्न मेयर फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, संघीय सांसदहरू कृष्णगोपाल श्रेष्ठ, जीवनराम श्रेष्ठलगायत पुगेका थिए ।

‘उपत्यकालाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा केन्द्रित भएर हामीले छलफल गर्यौँ,’ मध्यपुर ठिमी नगरपालिकाका प्रमुख एवं फोरमका सचिव श्रेष्ठले भने, ‘पुनः लकडाउन थप्ने र खुकुलो बनाउने भन्ने कुरा आइरहेको छ । खुकुलो बनाउने नाममा उपत्यकामा निर्बाध प्रवेश दिनुहुँदैन भनेर हामीले प्रष्टसँग भनेका छौँ ।’

श्रेष्ठले पनि फोरमका मागप्रति मन्त्री सकारात्मक रहेको जानकारी दिए। ‘उपत्यकाभित्रको चहलपहललाई खुकुलो बनाउने तर उपत्यका बाहिरबाट आउने र बाहिर जानेलाई कडाइ गर्नुपर्छ त्यो भयो भने मात्र उपत्यका सुरक्षित रहन्छ । हामीले हेलचेक्र्याइँ गर्ने र एक-दुई जना मात्रै संक्रमित उपत्यकामा प्रवेश गर्ने अवस्था भयो भने अवस्था भयावह हुन सक्छ भन्ने जानकारी गराएका छौँ,’ श्रेष्ठले भने, ‘भेटमा उपत्यकाका साना व्यवसायी र खेती-किसानीलाई सहज बनाउनुपर्छ भनेका छौँ ।’

फोरमलेले केही समयअघि राहतको अभावमा उपत्यका नछाड्न उपत्यकावासीलाई आग्रह गर्दै संयुक्त अपिल जारी गरेको थियो । फोरमले यसअघि पनि एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा निर्बाधरुपमा आवत-जावत गर्दा संक्रमणको खतरा बढी हुने भन्दै त्यसो नगर्न आग्रह गरेको थियो ।

फोरमले कोरोनाविरुद्धको लडाइँमा उपत्यकाका सबै नगरपालिका एक जुट हुने निर्णय पनि गरेको छ ।  नगरपालिका फोरमले उपत्यकाका सबै नाकाबाट आवत-जावत हुने सवारीलाई अनिवार्य सेनिटाइज गरेर मात्रै आवत-जावतको प्रवन्ध गर्नुपर्ने लगायतका विषयलाई प्राथमिकताका साथ उठाउँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment