Comments Add Comment

सीडीओ सा’ब चितवनमा लकडाउन खुलेको हो ?

व्यवहारिकता हेरेका हौं : सीडीओ भट्टराई

२३ वैशाख, चितवन । लकडाउनका सुरुवाती दिनमा चितवनमा गाडी सञ्चालनमा निकै कडाइ गरिए पनि हिजोआज खुकुलो देखिएको छ । डराएर घर बसेका नागरिक पनि सवारी साधन लिएर सडकमा निस्कन थालेका छन् ।

यसको उदाहरण चितवनका सहरी तथा भित्री भागमा देख्न सकिन्छ। जिल्लाका मुख्य बजार क्षेत्र नारायणगढ, भरतपुर लगायतका क्षेत्रमा साँझ र बिहानको समयमा लकडाउन बिर्साउने गरी सवारी साधनहरू चलिरहेका छन् । मानिसहरूको आवातजावत पनि निर्बाध छ ।

कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले देशव्यापी लकडाउन गरेको मंगलबार ४३ औं दिन भइसकेको छ । यस अवधिमा देशभरमा ८२ जनामा कोरोना संक्रमण देखिएको छ ।

पूर्वी चितवनको राप्ती नगरपालिका ८ का आमा र छोरालाई कोरोना संक्रमण देखिएकोमा छोरा निको भएर घर फर्किएका छन् भने आमा अझै अस्पतालमा नै छिन् ।

चितवनका ग्रामीण तथा सहरी क्षेत्रका भित्री पसलहरू धमाधम खुल्न थालेका छन् । मानिसहरू
झुण्ड-झुण्डमा किनमेलका जाने गरेका देखिन्छन् । सुरुमा धमाधम पक्राउ गरेर कारबाही चलाउने प्रहरी प्रशासन सडकमा त छन्। तर, उनीहरूले कुनै रोकावट गर्दैनन् । लकडाउनकै बेला पूर्वी चितवनको खैरहनीमा हाइवेमा नै ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्युसमेत भएको छ ।

पहिला लकडाउनको उल्लङ्घन गरेको भनेर दैनिकजसो यात्रुलाई नियन्त्रणमा लिएर छाड्ने गरिएको भए पनि हिजोआज सो क्रम रोकिएको छ ।

चितवनमा दिउँसो चर्को घाम लाग्ने हुँदा सडकमा त्यति मानिसहरु देखिँदैनन् । साँझपख शीलत खोज्न भन्दै धेरै मानिस बाहिर निस्केका छन् । अस्पतालमा समेत भिड बढ्न थालेको छ । बिरामीसहित उनीहरूका आफन्त पनि अस्पताल जाँदा भिड निकै बढेको र सामाजिक दुरी कायम गर्न नसकिएको अस्पतालहरूले जनाएका छन् ।

सहरी क्षेत्रका अधिकांश बैङ्क खुल्ला छन् । बैङ्कमा सर्वसाधारणको अत्यासलाग्दो भिड देख्न सकिन्छ । नारायणगढ र भरतपुरको एसबीआई बैङ्कमा सबैभन्दा भिड छ। भरतपुरस्थित प्रभु बैङ्क, नारायणगढको नेपाल इन्भेष्टमेन्ट बैङ्क, एनआईसी एसिया, एनसीसी, एभरेस्ट बैङ्कलगायतमा सर्वसाधारणको चाप निकै बढेको छ । सरकार मातहतका राष्ट्रिय वाणिज्य बैङ्क र नेपाल बैङ्क लिमिटेडमा पनि चाप बढी छ ।

तरकारी तथा खाद्यान्न बजारमा पनि भिड छ। कोरोना प्रभावित जिल्लाहरूबाट समेत नारायणगढ बजार क्षेत्रमा मान्छे आउने क्रम बढेको पाइएको छ । कोरोना प्रभावित जिल्लाबाट पनि मान्छे आएको थाहा पाएपछि बजार क्षेत्रका बासिन्दा त्रसित बनेका छन् ।

भरतपुर महानगरपालिका ३ का वडाध्यक्ष चन्द्रमित्र पण्डितले बजार क्षेत्रमा तराईवासी आउने-जाने क्रम बढेकोले डर बढेको बताए । उनी भन्छन् ‘बजार क्षेत्रमा विभिन्न ठाँउबाट मानिसहरू आएको भन्दै जनताले फोन गर्न थालेका छन् ।’

व्यवहारिकता हेरेका हौं : प्रजिअ भट्टराई

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले पहिलाभन्दा नागरिकको व्यवहारिक पक्ष हेरेर लकडाउनलाई केही सहज बनाइएको बताए ।

‘हामीले लकडाउन खोलेका होइनौँ, व्यवहारिक पक्षलाई ध्यान दिँदा केही सडकमा सवारी र मानिसको चाप बढेको पक्कै हो’ भट्टराईले भने ‘यसलाई प्रशासनले चासो दिएन भन्ने अर्थमा लिनुहुँदैन, नागरिक आफैँ सचेत हुनुपर्छ, सहयोग गर्नुपर्छ ।’

उनले बैङ्क, सहकारी, अस्पतालका ओपीडी खुल्दा चाप बढ्नु स्वाभाविक भएको बताए । ‘राष्ट्र बैङ्कले बैङ्कहरू खोल्न भनेको छ, बर्खाको सिजन छ मल बिउका लागि सहकारी खोल्नु नै पर्‍यो, अस्पतालहरुले ओपीडी खोल्दा चाप बढेको हो। तर, जहाँ पनि सामाजिक दुरी कायम गर्न भनेका छौं’ प्रजिअ भट्टराईले भने ।

जिल्लामा ठूला आयोजना सञ्चालन गर्न थालिएकाले मालवाहक सवारीको चाप सडकमा पर्दा भिडभाड बढेको देखिएको प्रजिअ भट्टराईले दाबी गरे। जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरसको संक्रमणबाट जिल्लालाई जोगाउन अन्तरजिल्ला सवारी साधनको पास वितरण सोमबारबाट बन्द गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी एकनारायण कोइरालाले उनले मंगलबार जिल्लाका विभिन्न चेकिङ प्वाइन्टहरुको अनुगमन गरेको बताए । धादिङसँगको सीमा नाका मौवाखोला, मुग्लिन, जुगेडी, आँपटारीमा चेकपोस्टहरूमा प्रहरीका गतिविधिको निरीक्षण गरिएको प्रवक्ता कोइरालाले बताए ।

प्रहरी प्रवक्ता कोइरालाले भरतपुर मेडिकल हबसमेत भएकोले बिरामीहरू अस्पताल आउँदा मानवीयता हेर्ने गरिएको बताए । बैङ्क र अस्पताल जान तथा खाद्यान्नलगायतका सामग्री किन्न जानेहरूलाई १० बजेदेखि ४ बजेसम्म छाडिएको कोइरालाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment