News Summary
Generated by OK AI. Editorially reviewed.- रोहन र रश्मीको प्रेम सम्बन्ध पारिवारिक दबाब र आर्थिक भारका कारण विवाह समारोहको व्यवस्थापनमा समस्या पर्यो।
- रोहनका बुबाआमाले चारतारे होटलमा विवाह गर्ने शर्त राख्दा रश्मीलाई आर्थिक बोझ र सामाजिक दबाब महसुस भयो।
- अन्ततः रोहन र रश्मीले जागिरसहित लिभिङ टुगेदर बस्ने निर्णय गरे ।
रोहन र रश्मी (नाम परिवर्तन) लामो समयदेखि प्रेम सम्बन्धमा छन् । एमबीबीएस पढ्दादेखिको उनीहरूको सम्बन्धले विविध आरोहअवरोह झेल्दै इन्गेज्मेन्ट सम्मको यात्रा तय गर्न सफल भएको छ । रोहन एमडी सकेर एक निजी असस्पतालमा काम गर्छन भने रश्मी एमडी सक्काउनेअन्तिम चरणमा छिन् ।
फरक-फरक पारिवारिक पृष्ठभूमि भएका उनीहरूले आफ्नो सम्बन्धको विषयमा परिवारलाई केही वर्ष अघि नै मुस्किलले मनाउन सकेका थिए । वास्तवमा, एक-अर्काको परिवारलाई मनाउने संघर्षमा सफल भएपछि उनीहरूलाइ लाग्थ्यो- हामी दुई मिलेर जस्तोसुकै समस्याको पनि समाधान निकाल्न सक्छौ ।
पढाइमा अब्बल रोहन र रश्मी साथीहरू माझ पनि लोकप्रिय थिए । सहपाठीबीच उनीहरूको सम्बन्ध एक आदर्श प्रेमका रूपमा परिचित थियो ।
एक-अर्काको परिवारमा पनि व्यक्तिगत तवरले दुवैले राम्रो छवि कायम गर्न सफल थिए ।रश्मीले रोहनको परिवारलाई आफ्नो पनको आभाष दिन सकेकी थिइन् भने रोहनको भलाद्मी र जिम्मेवारी पनले रश्मीको परिवारलाई थप आकर्षित गर्थ्यो। करिब विवाह भइसकेको जस्तै सम्बन्ध थियो दुई परिवारको बीचमा ।
अमेरिका सेटल हुने र बुबाआमाले आफूमागि गरेको लगानीको प्रतिफल दिन सक्ने गरी करिअर बनाउने योजना थियो रश्मीको । तर रोहनसँगको सम्बन्ध पछि त्यो सोच परिवर्तन गरेकी थिइन् ।
केही स्वभाव तथा आनीबानीका बारेमा एक-अर्काको सोच मिल्दैनथ्यो । तर पनि एक-अर्का प्रतिको समर्पण, माया र सम्मानको कारण ती असमझदारीहरू स्वतः छायामा पर्थे। सम्बन्धप्रति वास्तवमै गर्व थियो उनीहरूलाई ।
रोहन र रश्मीको लागि चिन्ताको एउटा विषय थियो वैवाहिक समारोहको व्यवस्थापन ।
विशेषज्ञ चिकित्सकका रूपमा रोहनको जागिर र रश्मीको आवासीय चिकित्सकका रूपमा पाउने भत्ताको आम्दानी थियो । भविष्यमा आर्थिक सम्भावना दुवैको अत्यन्त राम्रो थियो । विवाह समारोहको तयारी र योजना हुन थालेपछि समस्या उत्पन्न हुनथाल्यो । फरक-फरक पारिवार, साँस्कृतिक र व्यक्तिगत इच्छाका कारणले विषय जटिल वन्ने सम्भावना थियो ।
रोहनको परिवार सम्भ्रान्त थियो । उनका बुबाआमाका लागि विवाहको खर्च व्यवस्थापन त्यत्रो ठूलो विषय थिएन । उनीहरू डाक्टर छोराको विवाह तामझामका साथ गर्ने सुरमा थिए । तर रोहनको भने सामान्य हिसाबले नै विवाह गर्ने इच्छा थियो ।
देखावटीका लागि धेरै तामझाम गर्ने बुबाआमाको योजना मन परेको थिएन । अर्कोतर्फ आफ्ना बुबाआमाको महंगो इच्छाले रश्मी र उनका बुबाआमामा पार्ने आर्थिक भारबाट उनी सचेत थिए । रश्मीको परिवार आर्थिक हिसाबले मध्यम खालको मात्र थियो ।
करिअरको सुरुवाती चरणमा रहेको र आफ्नो व्यक्तिगत बचत खासै नभएकाले विवाह सामान्य हिसाबले गर्नेमा रोहन र रश्मी पहिलेदेखि नै एकमत थिए । इज्जत र प्रतिष्ठाका लागि आडम्बरको भर लिनु पर्ने आवश्यकता थिएन उनीहरूलाई । राम्रो व्यक्तित्व, असल चरित्र र आफ्नो पेशामा समर्पित हुँदा नै समाजमा प्रतिष्ठा पाइन्छ भन्ने सोच थियो ।
रोहनका बुबाआमा, परिवारका अरू सदस्य र आफन्तबीच सल्लाह हुँदा विवाह कमसेकम चारतारे होटलबाट हुनुपर्ने शर्त एकाएक आयो । विवाहको रीतिरिवाज र समारोहको विषयमा परिवारबीच केही सामान्य शर्त, केही समझदारीका लागि मानसिक रुपमा तयार थिए रोहन र रश्मी । तर यस्तो शर्तको कल्पना गरेका थिएनन् उनीहरूले ।
यो एउटा प्रस्ताव मात्रै भएकोले त्यो नै अन्तिम निर्णय नहुने र आफूले परिवारलाई सम्झाउन सक्ने विश्वास दिलाउँदै रोहनले रश्मीलाई सुनाए । रश्मीलाई यो प्रस्तावले झस्कायो। उनलाई थाहा थियो- यो प्रस्तावको गम्भीरता । चारतारे होटल भन्नु भनेको गरगहना, किनमेल, व्यवस्थापन लगायतका सबै खर्च त्यहीअनुसारको माग गरिएको भन्ने अर्थ लाग्थ्यो ।
रोहनले सहजरूपमा यो शर्त आफूलाई सुनाउन सकेको देखेर नै रश्मीलाइ भित्रभित्र रिस उठेको थियो । आफूलाई सम्हाल्दै रश्मीले एउटै प्रश्नमार्फत धेरै कुरा रोहनलाई भनिन । तिमी के भन्छौ रोहन ? यो प्रश्नको भाव थियो तिमी के चाहन्छौ ? यो शर्तका विषयमा तिम्रो धारणा के हो ?
रश्मीलाई यहाँसम्म पुर्याउन उनका बाबुआमाले कति संघर्ष गर्नुपरेको छ भन्ने कुरा रोहनलाई राम्रोसँग थाहा थियो । अब छोरीको कमाइ हुने बेलामा विशेषज्ञ डाक्टर बनेकी छोरीलाई आफ्नो घरमा पठाउन त्यत्रो ठूलो आर्थिक भार लिन बाबुआमालाई मनाऊ भन्नु स्वार्थीपन हुने उसले बुझेको थियो । अर्कोतर्फ, रश्मीले व्यक्तिगत ऋण लिनु भनेको विहेपछि उसैमाथि पर्ने वोझ हुन्थ्यो ।
रश्मीको पीडा मिश्रित रिस देखेर रोहन अलमल्ल पर्यो । क्षणमै उनीहरूको त्यो प्रेम र निकटता कताकता हराएकोजस्तो भयो । रोहन केही नबोलेपछि रश्मीले गम्भीर भएर । तिम्रो बुबाआमालाई सम्झाऊ भने अनुरोध गरिन् । त्यसो गर्न नसके यो सम्बन्धबाट टाढा हुनुपर्ने आफ्नो बाध्यता सुनाइन ।
यो भेट र कुराकानीको बारेमा रश्मीले बुबाआमालाई सुनाउन आवश्यक ठानिनन् । रोहनले आफ्ना बुबाआमालाई विवाह ठिकठाक हिसाबले गर्ने कुरा मनाउन धेरै प्रयत्न गरे । धेरै छलफल गरे । तर बुबाआमाको कुरा सुनेर उनी असहाय महसुस गरिरहेका थिए। आमा भन्दै हुनुहुन्थ्यो- फलानोको विहेमा फाइभ स्टारमा भयो । फलानोको बिहेमा गएर रमाइलो गरियो, छोराको विहे फोर स्टारमा पनि गर्न नपाए त लाज मर्नु हुन्छ हामीलाई छिमेकमा । आमाको भनाइले लागिरहेको थियो, मानो कि यो कुरामा जीवन-मरणको सवाल छ ।
अस्पतालमा अप्रेसनका लागि एक-दुई लाख पनि जुटाउन नसकेर पीडा लुकाउँदै ‘डा.साब घरसल्लाह गरेर अर्को महिना आउँछौँ’ भन्दै कति बिरामी उपचार नगरी फर्किएको अनुभव छ रोहनसँग। उनले सोचे, ‘के मेरा बाबा आमाको विवशता पनि के त्यही स्तरको हो ? खर्च गर्न सक्षम छु, भन्दैमा एक दिनको आडम्बरका लागि दशौँ वर्षको आर्थिक तनाव लिन वा रश्मीको परिवारलाई तनाव दिन जरुरी छ ?’
‘बुबाआमालाई अरू व्यक्ति वा छिमेकीले के भन्छन् भन्ने रश्मी र मेरो सम्बन्ध वा हाम्रो भविष्य भन्दा बढी महत्वको विषय हो ? यो प्रश्न थियो उनको मनमा तर उत्तर थिएन ।
बुबाआमालाई मनाउन नसकेपछि रोहन र रश्मीको भेटघाट पातलिन थाल्यो । उनीहरूको पातलिँदो कुराकानी, भेटघाट र व्यवहारमा देखिएको परिवर्तन र गम्भीरताले दुवैका बुबाआमा चिन्तित थिए । सम्बन्ध नै छुटोस् भन्ने चाहना रोहनका बुबाआमाको पनि थिएन ।
करिब ३ महिनापछि रोहनले आफ्नो नयाँ जागिर चितवन मेडिकल कलेजमा तय भएको र दुई हप्तापछि चितवन जाने कुरा बुबाआमालाई सुनाए । काठमाडौंमा घरपायकको जागिर छाडेर छोरा चितवन जाने कुराले उनीहरू अलमल्ल परे । उनीहरूको मन कताकता डराइ रहेको थियो । हामीले रोहनलाई धैरै हर्ट त गरेनौँ? धेरै विवश त बनाएनौं ? उसले कतै हतास महसुस गरिरहेको त छैन ?
यो सरप्राइज र चिन्ताकाबीच रोहन र रश्मीका केही साथीहरूसँग रोहनकी आमाले बुझिन् । त्यसपछि थाहा भयो- रश्मी नयाँ जागिरको सिलसिलामा भरतपुर पुगिसकेकी रहिछिन् ।
उनीहरू अनुमान लगाए- अब रोहन र रश्मीले जागिरसहित ‘लिविङ टुगेदर’ मा भरतपुर बस्ने निर्णय लिए । रोहनका बुबाको अनुहारमा खुसी र स्फूर्ति स्पष्ट देखिन्थ्यो । उनले यो निर्णयप्रति रोहनकी आमालाई दुविधामा नरहन सम्झाए । उनको तर्क सुनेपछि आमा पनि विश्वश्त भइन् कि सायद त्यो नै सबैभन्दा उपयुक्त विकल्प हो । यतिवेला उनीहरूलाई समाज र छिमेकीले के भन्छ भन्दा पनि छोराको खुसी र भविष्य ठूलो लाग्यो ।
सरसल्लाह पछि रोहनका बुबाले रश्मीलाई फोन गरेर उनीहरूको निर्णयमा खुसी व्यक्त गरे । र, यो निर्णयमा आफूहरूको पूर्णतः साथ रहेको सुनाँउदै एउटा अनुरोध गरे, ‘हामीले तिमीलाई बुहारीको रूपमा स्वीकार गरिसकेका छौँ । यो सम्बन्धलाई कानुनी मान्यता प्रदान गरिदेऊ ।’
सामाजिक औपचारिकता तिमीहरूले चाहेको समयमा र चाहेको तरिकाले गर्न हामी तयार छौँ भन्ने निर्णय पनि सुनाए ।
यो एउटा प्रतिनिधि घटना हो । यस खालका तनाव धेरै सम्बन्धहरूमा देखिन्छ ।
राम्रो रहेको सम्बन्धलाई पनि विवाहबाट औपचारिकता दिने प्रक्रियामा सकीनसकी ठूलो लगानी गर्ने गलत परिपाटीले धेरै युवायुवतीलाई तनाव दिने गरेका उदाहरण धेरै भेटिन्छ समाजमा । यो तनाव र एन्जाइटीको एक प्रमुख कारण बनिरहेको छ । कयौँलाई विवाह एक ‘जोखिमपूर्ण लगानी’ लाग्न थालेको पाइएको छ ।
समाजले यो विषयलाई सम्बोधन नगरे वैवाहिक सम्बन्धप्रतिको नयाँ पिँढीको दृष्टिकोण नै नकारात्मक बन्दै जाने जोखिम बढेको छ ।
प्रतिक्रिया 4