Comments Add Comment

कतारमा कामदारलाई दिन थालियो ‘इन्ड अफ सर्भिस’को सूचना

कतार । कतारमा कम्पनीले बोलाएर ‘इन्ड अफ सर्भिस’ भन्दै पत्रमा हस्ताक्षर गर्न सुरू गरेको कामदारहरूले बताएका छन् । कामदार आफू कार्यरत कम्पनी छोड्दा अथवा कम्पनीले निकाल्दा पाउने हिसाबलाई ‘इन्ड अफ सर्भिस (ग्राचुइटी)’ भनिन्छ ।

कतारको एक प्रतिष्ठित कम्पनीले कामदारलाई बोलाएर अहिलेको अवस्थामा कर्मचारी कटौती गर्नुपर्ने अवस्था आएको जानकारी दिन थालेको हो । उनीहरूलाई मे महिनाको अग्रिम तलबसमेत कम्पनीले उपलब्ध गराएको छ भने नेपालको उडान नखुलेसम्म खाने र बस्ने सुविधा उपलब्ध गराउने बताएको छ । हाल ती कामदारहरू कोठामै बसेर दिन बिताइरहेका छन् ।

त्यस्तै, कतारमा कतिपय कम्पनीले काम नभएको भन्दै कर्मचारीलाई ‘फोर्स रिजाइन’ पनि दिन लगाएको छ। फोर्स रिजाइन गरेकाहरू पनि आफ्नो देशको उडान रद्द हुँदा कोठामै बस्न बाध्य भएका छन् ।

त्यस्तै, राजीनामा दिएर सम्पूर्ण प्रक्रिया पूरा गरेका तथा प्रक्रिया बाँकी रहेकाहरू पनि नेपाल सरकारले खाडी सहित ५५ मुलुकको अन्तर्राष्ट्रिय उडान रद्द गर्दाको समस्यामा परेका छन् । केहीसँग न जागिर छ, न घर जान नै सम्भव छ । जसकारण अहिले उनीहरू समस्यामा परेका छन् ।

विश्वलाई प्रभावमा पारेको कोरोना भाइरस (कोभिड-१९) ले कतारमा कार्यरत आप्रवासी कामदारलाई पनि प्रत्यक्ष असर पारेको छ। कोरोनाका कारण कतारमा रहेका नेपाली कामदारहरूले जागिरबाट विमुख हुनुपर्ने अवस्था आएको हो ।

त्यस्तै, नेपाली दूतावास दोहा कतारले नेपालमा प्रवेश गर्ने सबै अन्तर्राष्ट्रिय उडानहरू तथा नेपालभित्रका आन्तरिक उडानमा लगाइएको अस्थायी प्रतिबन्ध आगामी १५ मे २०२० (शुक्रबार, २०७७ जेठ २ गते) सम्म रहेको जानकारी दिएको छ । नागरिक उड्डयन प्राधिकरणले २८ अप्रिल २०२० सूचना जारी गर्दै यस्तो जनाएको थियो ।

नेपाल सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएपछि २० मार्च अर्थात् चैत्र ७ गते शुक्रबारबाट युरोपका सबै मुलुक, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापान सहित ५५ देशबाट नेपाल आउन रोक लगाएको थियो ।

हाल कतारमा तीन लाख ५१ हजार नेपालीहरू कार्यरत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment