Comments Add Comment

सामान्य अवस्थामा फर्किँदै चीन, वुहानमा खुले विद्यालय

२४ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को उद्गमस्थल मानिएको चीन बिस्तारै सामान्य बन्दै गएको छ । सबैभन्दा पहिले कोरोना भाइरसको बिरामी फेला परेको वुहान सहरमा बुधबारदेखि विद्यालयहरु खुलेका छन् । बुधबारबाट नौ देखि १२ कक्षासम्मका विद्यार्थीहरु विद्यालय जान थालेका हुन् ।

विद्यालय खुले पनि विद्यार्थीहरुले विद्यालय जानुभन्दा अगाडि कोरोना भाइरस (कोभिड-१९) परीक्षण गर्नु अनिवार्य गरिएको छ । साथै उनीहरुले विद्यालय भौतिक दुरीको नियम पनि पालना गर्नुपर्ने बताइएको छ । चीनको अन्य प्रान्तका १२ कक्षाका विद्यार्थीहरु यसअघि गत मार्चदेखि नै विद्यालय जान थालेका थिए ।

पछिल्लो ३२ दिनयता वुहान मात्र नभई हुबेई प्रान्तमा नै कुनै पनि नयाँ संक्रमित फेला परेका छैनन् । त्यसैले वुहानले पनि बुधबारदेखि विद्यालय खोल्ने निर्णय गरेको हो । यसअघि नै बिस्तारै वुहानमा प्रतिबन्ध हट्दै आएको थियो । बुधबार बुहानमा ५७ हजार आठ सय विद्यार्थीहरु विद्यालय फर्किने बताइएको छ । एक सय २१ विद्यालयहरु खुल्नेछन् ।

बुधबार चीनमा केवल दुई नयाँ संक्रमित फेला परेका छन् । यससँगै चीनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८२ हजार ८८३ पुगेको छ । साथै यसबाट मृत्यु हुनेको संख्या पनि चार हजार ६ सय ३३ पुगेको छ । चीनमा अब तीन सय ५० भन्दा पनि कम बिरामी बाँकी निको हुन बाँकी छन् । जसमध्ये २६ जनाको अवस्था गम्भीर छ ।

यद्यपि चीनको तथ्यांकमा भने विभिन्न किसिमको आशंका व्यक्त गरिँदै आएको छ । विशेषगरी अमेरिकाले चीनले वास्तविक संख्या लुकाइरहेको बताउँदै आएको छ ।

स्रोत  : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment