Comments Add Comment

नागढुंगा नाकामा उपमेयरको अनुगमन

२४ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले बुधबार विहान नागढुंगा नाकाको अनुगमन गरेकी छन् । काठमाडौं उपत्यका भित्रिने सवारी साधन र मानिसको आवागमनका विषयमा बुझ्न उपमेयर खड्गी काठमाडौं र धादिङ जिल्लाको सिमाना खत्रीपौवासम्म पुगेकी हुन् ।

काठमाडौं बाहिरबाट उपत्यकाभित्र धमाधम मानिसहरु आउन थालेको खबर आएपछि वास्तविकता बुझ्न स्थलगत अनुगमनमा गएको उपमेयर खड्गीले बताइन् ।

उनले अनलाइनखबरसँग भनिन्, ‘मालबाहक ट्रकमा मानिसहरु लुकेर काठमाडौं आइरहेका छन् भन्ने सूचना मलाई आएको थियो । वास्तविकता के रहेछ भनेर आज बिहान म नागढुंगा गएको थिएँ । तीन-चार घण्टा बिताएँ तर त्यस्तो पाइएन ।’

उनले सवारी साधन भित्रिने गति, भित्र आउने सवारीको प्रयोजन, सवारी र सवारीमा आउने व्यक्तिको अभिलेख राख्ने तरिका अवलोकन गरेकी थिइन् । त्यस्तै सवारी चालकसँग भित्र आउनुपर्ने कारण, कति समय बस्ने, कहाँ बस्ने, सवारी साधन कसरी प्रयोग हुने गरेको छ जस्ता विषयमा पनि उनले जानकारी लिएकी थिइन् ।

नाकाका पुगेर उनले मास्क नलगाई सवारी चलाउने चालकलाई मास्क वितरण गरेकी थिइन् । उनले कार्यक्षेत्रमा खटिएको नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी लगायतसँग सुरक्षा व्यवस्थाबारे छलफल गरेकी छिन् । महानगरको अनुगमन समिति संयोजकसमेत रहेकी उनले सुरक्षाकर्मीहरुलाई भनिन्, ‘केही समयका लागि नाकामा कडाइ गर्नोस् । महामारी नियन्त्रणमा आएपछि, जनजीवन सहज हुने भएपछि बिस्तारै खुकुलो बनाउनुपर्छ ।’

उनले हरेक नागरिकको सुरक्षा अवस्थाप्रति गम्भीर रहेको भन्दै महामारी नियन्त्रण गर्न जो जहाँ छ, त्यहीँ बसेर सरकारको प्रयासमा साथ दिन आग्रह गरिन् ।

‘रातारात मान्छे काठमाडौं भित्रिए भनेर जुन तहमा खबर बाहिर आएको छ । त्यस्तो डरलाग्दो अवस्था देखिएन,’ उनले भनिन्, ‘उपत्यकामा आवश्यक पर्ने खाद्यवस्तु, तरकारी ढुवानी गर्ने ट्रकहरु, पेट्रोलियम बस्तु ढुवानी गर्ने साधनहरु, निर्माण सामाग्री ढुवानी गर्ने सवारी साधन, बिरामी बोकेका एम्बुलेन्स भित्रिँदै गरेका भेट्यौं । ती गाडिहरुमा चालक र सहचालक मात्र थिए ।’

महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले सोमबार ३७ वटा र मंगलबार १०३ वटा सवारीलाई नाकाबाट फर्काएको जानकारी दिए ।
‘हामीले काठमाडौंको जनजीवनलाई सहज बनाउन जे सामाग्री आवश्यक पर्छ, ती सवारी साधन पठाउनै पर्छ, अहिले नभएपछि हुने सामाग्री बोक्ने र अहिले काठमाडौं नगए पनि हुनेलाई फर्काउने गरेका हौं,’ उनले भने । वृत्त प्रमुख श्रेष्ठका अनुसार अहिले नागढुंगा नाकाबाट दैनिक औसतमा ५०० वटा सवारी साधन भित्रिने गरेका छन् ।

फोटो : चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment