Comments Add Comment

यूएनडीपीले सरकारलाई दियो अनलाइन बैठक गर्न मिल्ने सफ्टवेयर

२४ वैशाख, काठमाडौं । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले लकडाउनको बेला अनलाइन बैठक तथा छलफल गर्न उपयोगी हुने जुम सफ्टवेयर नेपाल सरकारलाई उपलब्ध गराएको छ ।

‘फुलफिचर’युक्त सो सफ्टवेयर यूएनडीपीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई उपलब्ध गराएको छ । यो सफ्टवेयर मन्त्रालयले सबै प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउँदैछ । त्यसका लागि मन्त्रालयले जुम एप्लिकेसन चलाउने आधिकारिक व्यक्तिको विवरण स्थानीय तहहरुसँग माग गरेको छ ।

के छ यो सफ्टवेयरमा ?

कोरोना भाइरसको महामारी रोकथामका लागि लकडाउन गरिएपछि विश्वभर जुम एप्लिकेसनको प्रयोग बढिरहेको छ । नेपालमा पनि कतिपय विश्वविद्यालय र कलेजहरुले यही सफ्टवेयरमार्फत् विद्यार्थीहरुलाई पढाइरहेका छन् ।

निःशुल्क डाउनलोड गरेको यो सफ्टवेयरमा कुरा गर्दागर्दै ४० मिनेटपछि आफैं काटिन्छ । काटिएपछि फेरि रि–कनेक्ट गर्नुपर्छ ।

तर, यूएनडीपीले उपलब्ध गराएको जुम सफ्टवेयरको प्याकेजमा भने त्यस्तो समस्या नरहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कम्प्युटर अधिकृत सुनीलकुमार केसीले जानकारी दिए ।

‘यूएनडीपीले हामीलाई दिएको एक वर्षको इन्टरप्राइजेज लाइसेन्स हो,’ केसीले भने, ‘यसमा टाइम पनि अनलिमिटेड छ, पार्टिसिपेसन पनि अनलिमिटेड हुन्छ । क्लाउड पनि छ । रेकर्ड पनि अटोमेटिक अपडेट हुन्छ । फूल फिचरसहितको छ ।’

केसीले भने, ‘बैठक गर्न, छलफल गर्न प्रदेश–प्रदेशको कन्ट्रोल रुम बनाएर यहीँबाटै उनीहरुलाई जोड्न सक्छौं । पालिका–पालिकाबीच छलफल गराउन पर्‍यो भने पनि उनीहरुलाई जोडिदिन सक्छौं । सोसल मिडियामा लाइभ गर्न पर्यो भने पनि गर्न सकिन्छ । यी फिचरहरु स्थानीय तह आफैंले पनि प्रयोग गर्न सक्छन् ।’

मन्त्रालयका अनुसार हाल प्रदेश नम्बर ५ र सुदूरपश्चिम प्रदेशले लाइसेन्स नै लिएर जुम सफ्टवेयरमार्फत् काम सुरु गरिसकेका छन् ।

अब अन्य प्रदेश र सबै स्थानीय तहहरुमा पनि प्रयोग गर्ने तयारी भइरहेको छ । त्यसका लागि मन्त्रालयले प्रदेश र स्थानीय तहका सूचना प्रविधि अधिकृतहरुलाई तालिम दिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment