Comments Add Comment

घरमै बसेर सम्पदा क्षेत्रको भ्रमण गर्न नेपालमा कति सम्भव ?

Photo Credit : storycycle

२५ वैशाख, काठमाडौं । कोरोनाविरुद्ध विश्वका धेरै मुलुकहरुले लकडाउनको मोडल अपनाएपछि सबैभन्दा धेरै प्रचलनमा आएको कुरा हो ‘भर्चुअल वर्क’ ।

अध्ययन भर्चुअल, भेटघाट भर्चुअल, सभासम्मेलन र बहसका कार्यक्रमहरु सबै भर्चुअल हुन थालेका छन् । विदेशतिर कतिपय देशहरुमा त भगवानको पूजाआजा समेत भर्चुअल रुपमा हुने गरेको छ ।

यहीबीच अहिले भर्चुअल सम्पदा यात्राको अवधारणा पनि विश्वभरि सुरु भएको छ । इजिप्टले विश्वसम्पदा सूचीमा सूचीकृत आफ्नो पाँच वटा सम्पदामा भर्चुअल यात्रा गराउँदै आएको छ । अरू देशहरुले पनि यस्तो कार्यको थालनी गरेका छन् । स्मार्ट टुर नाम गरेको संस्थाले पनि जोर्डन अस्ट्रेलिया जस्ता मुलुकका चर्चित सम्पदा क्षेत्रमा भर्चुअल टुर गर्दै आएको छ ।

विश्वका कतिपय संग्रहालयहरुले समेत भर्चुअल रुपमा नै सम्पदाको बारेमा जानकारी दिने काम जारी राखेका छन् ।

विभिन्न देशका कुल १७ वटा यस्ता भर्चुअल म्युजियमहरु छन् जसले अहिले टू डी, थ्री डी, तस्वीर, भिडियो रिकन्स्ट्रक्सन जस्ता माध्यमबाट सम्पदा यात्रा सञ्चालन गरिरहेका छन् ।

यसले गर्दा सम्पदाप्रेमीहरुले आफूलाई जान्न चाहेको कुरा सिक्नको लागि लकडाउनकै कारण रोकिनुनपरेको सम्पदा विज्ञहरु बताउँछन् ।

सम्पदा विज्ञ अनिल चित्रकार अहिले लकडाउनको समयमा र अरू समयमा पनि भर्चुअल सम्पदा यात्रा प्रभावकारी हुने बताउँछन् । लुम्बिनी गएरै पनि त्यस क्षेत्रको बारेमा अधिक जानकारी भएको पथप्रदर्शकको अभावमा पर्याप्त ज्ञान पाउन नसक्ने पर्यटक एवं त्यहाँसम्म जान नै नसकिरहेकाहरुको लागि यो प्रभावकारी हुने उनको बुझाइ छ ।

यतिचलिरहँदा नेपालमा लकडाउनको समयमा सरकारी तवरबाट सम्पदा यात्रा सम्बन्धी के प्रयास भइरहेको छ त ?

पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम अहिले तत्काल अन्यत्र जस्तो टू डी, थ्री डी र प्रत्यक्ष रुपमा सम्पदा यात्रा गराउन सम्भव नभएको बताउँछन् । यद्यपि तस्वीर र भिडियोको माध्यमबाट विश्व सम्पदा सूचीमा परेका सम्पदाहरुको बारेमा जानकारी दिनको लागि भने काम चलिरहेको उनले जानकारी दिए ।

लकडाउन खुकुलो हुँदा पनि तत्काल संग्रहालयहरु खुल्ला गर्न नसकिने भन्दै यो वर्ष सम्पदा क्षेत्रले ठूलो आर्थिक नोक्सानी ब्यहोरेको उनी बताउँछन् । यद्यपि अहिले सम्पदा पुनर्निर्माण र अन्य कामका लागि कार्यालयले गर्ने टेण्डरलगायत आन्तरिक प्रकि्रयाहरु पूरा गरेर लकडाउन सकिएसँगै अरू काम सुरु गर्ने तयारीमा विभाग रहेको महानिर्देशक गौतम बताउँछन् ।

तर, निजी क्षेत्र भने नेपालमा पनि प्राविधिक रुपमा समेत सम्बन्धित सम्पदा क्षेत्रमा गएर प्रत्यक्ष रुपमा विषय विज्ञले त्यसको व्याख्या गर्न सक्ने अवस्था रहेको बताउँँछ । उनीहरुका अनुसार प्रत्यक्ष रुपमा सम्पदा क्षेत्रमा गएर नै जानकारी दिने काम एकदमै महँगो हुने गर्छ ।

स्टोरी साइकल नामक संस्थाले लकडाउनको समयमा पनि भर्चुअल सम्पदा यात्रा गरिरहेको छ । संस्थाले समय सन्दर्भ मिलाएर नेपालका विभिन्न स्थानमा भर्चुअल सम्पदा यात्रा गर्दै आएको छ । यही सन्दर्भमा बिहीबार संस्थाले बुद्ध जयन्तीको अवसर पारेर साँझ ४ बजेदेखि ५ बजेसम्म बुद्धको जन्मस्थान लुम्बिनीमा भर्चुअल सम्पदा यात्रा गराउने भएको छ ।

संस्थाले यसअघि वागमती सम्पदा यात्रा, बारपाकमा रहेका सम्पदाहरुको यात्रा जस्ता कार्यक्रम सञ्चालन गरिसकेको छ भने मे २९ अर्थात् सगरमाथा दिवसको दिन सगरमाथाको भर्चुअल यात्रा, जुन १९ मा धे मुस्ताङ र जुलाई १० मा साइपाल हिमालको यात्रा गरिने भएको छ ।

कसरी गर्ने घरमै बसेर सम्पदाको यात्रा ?

स्टोरी साइकलका सहसञ्चालक सौरभ ढकालका अनुसार भर्चुअल सम्पदा यात्रा जुम एपको सहयोगमा सञ्चालन हुन्छ । यसअघि स्टोरी क्याम्प सञ्चालन गरेर संकलन गरिएका तस्वीर र भिडियोहरु देखाएर सम्पदा विज्ञको सहभागितामा सम्पदाको वर्णन गर्ने गरिन्छ ।

जस्तो, बिहीबार सञ्चालन हुने भर्चुअल लुम्बिनी सम्पदा यात्रामा सम्पदा विज्ञ अनिल चित्रकारले लुम्बिनीको बारेमा वर्णन गर्दैछन् । उनी काठमाडौंको ताहाचलमा बसेर पुराना तस्वीर र भिडियोको सहयोगमा लुम्बिनीको बारेमा व्याख्या गर्ने तयारीमा छन् ।

विदेशको भर्चुअल सम्पदा यात्रा र नेपालमा फरक के ?

इजिप्ट जस्ता देशहरुले सञ्चालन गरेको सम्पदा यात्रामा केवल तस्वीर र भिडियोहरु देखाइन्छ । त्यहाँ सम्पदाको बारेमा व्याख्या गर्ने छुट्टै व्यक्ति राखिएको हुँदैन ।

युनेस्कोले उल्लेख गरेको १७ वटा म्युजियमहरुमा पनि पुराना तस्वीर र भिडियो नै देखाउने गरिन्छ ।

तर, नेपालमा भने तस्वीर र भिडियोसँगै त्यस क्षेत्रका जानकारसँग अन्तक्रिया समेत गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment