Comments Add Comment

कोरोनाविरुद्धको लडाइँका १० ठूला दानवीर : ट्विटर सीईओदेखि बिल गेट्ससम्म

अहिलेसम्म संसारका ४० लाख मानिसलाई संक्रमणको चपेटामा पारिसकेको तथा झण्डै दुई लाख ८० हजार मानिसको ज्यान लिइसकेको कोरोना भाइरसको महामारीबाट विश्व आक्रान्त छ ।

कोरोना भाइरसको महामारीका कारण विश्वको अर्थतन्त्र थिलथिलो मात्र भएको छैन संक्रमितको उपचारका साथै सम्भावित औषधि र खोपको अनुसन्धानमा समेत ठूलो धनराशी खर्च भइरहेको छ ।

कोरोना भाइरस विरुद्धको लडाइँमा विश्व जगत एकजुट भइरहेको बेला संसारका केही दानी अर्बपतिहरुले मन खोलेर आर्थिक सहयोग गरिरहेका छन् । कोरोना विरुद्धको लडाइँमा सबैभन्दा धेरै दान गर्नेहरुमा प्रविधि क्षेत्रका अर्बपतिहरू अगाडि छन् । कोरोना भाइरस महामारीविरुद्धको लडाइँका टपटेन दानवीरहरूको सूची यस्तो छ :

१. ज्याक डोर्सी : माइक्रो ब्लगिङ साइट ट्विटरका सीईओ ज्याक डोर्सी कोरोना भाइरसविरुद्धको लडाइँमा सबैभन्दा धेरै दान गर्ने व्यक्तिको पहिलो नम्बरमा पर्दछन् । उनले एक अर्ब अमेरिकी डलर रकम कोरोना भाइरस महामारीको उपचार, रोकथाम तथा अनुसन्धानलगायतका कार्यका लागि दान गरेका छन् ।

२. बिल एण्ड मिलिण्डा गेट्स फाउण्डेसन : माइक्रोसफ्टका संस्थापक बिल गेट्स तथा उनकी पत्नी मिलिण्डा गेट्सले आफ्नो परोपकारी संस्था बिल एण्ड मिलिण्डा गेट्स फाउण्डेसनको तर्फबाट कोरोनाविरुद्धको लडाइँका लागि २५ करोड ५० लाख डलर रकम प्रदान गरेका छन् ।

३. अजिज प्रेमजी : भारतमा सूचना प्रविधि क्षेत्रका वादशाहसमेत भनेर चिनिने अजिज प्रेमजीले कोरोनाविरुद्धको लडाइँमा १३ करोड २० लाख डलर दान गरेका छन् । यो रकम भारतका तर्फबाट गरिएको सबैभन्दा ठूलो व्यक्तिगत आर्थिक सहयोग रकम हो ।

४. जर्ज सोरोस : हंगेरियन मूलका अमेरिकी अर्बपति तथा दानवीर समाजसेवी जर्ज सोरोसले कोरोना भाइरस महामारीविरुद्धको लडाइँमा १३ करोड डलर आर्थिक सहयोग गरेका छन् ।

५. जेफ बेजोस : विश्वका सबैभन्दा धनी व्यक्ति अमेजन कम्पनीका मालिक जेफ बेजोस कोरोनाविरुद्धको लडाइँमा भएको आर्थिक सहयोगको मामिलामा चाहिँ ५ नम्बरमा छन् । कोरोना भाइरस महामारीका कारण विश्वका अन्य धेरै अर्बपतिहरूको सम्पत्तिमा गिरावट आएको बेला बेजोसको सम्पत्ति भने तीव्र रुपमा बढिरहेको छ ।

लकडाउनका बेला अमेजनको अनलाइन व्यापार चम्किँदा बेजोसको सम्पत्तिमा पनि ठूलो बढोत्तरी भएको छ । तिनै बेजोसले कोरोनाविरुद्धको लडाइँमा चाहिँ १० करोड डलर दान गरेका छन् ।

६. माइकल डेल : आईटी कम्पनी डेल टेक्नोलोजीजका अध्यक्ष तथा सिइओ माइकल डेल पनि कोरोनाविरुद्धको लडाइँमा गरिने आर्थिक सहयोगमा अगाडि छन् । उनले पनि बेजोसले जति नै अर्थात् १० करोड डलर आर्थिक सहयोग गरेका छन् ।

७. एन्ड्रु फरेस्ट : अस्ट्रेलियन अर्बपति फरेस्टले कोरोनाविरुद्धको लडाइँका लागि १० करोड डलर दान गरेका छन् ।

८. जेफ्री स्कल : इन्टरनेट क्षेत्रका क्यानाडेली अर्बपति तथा स्कल फाउण्डेसनका अध्यन जेफ्री स्कोलले कोरोनाविरुद्धको लडाइँमा १० करोड डलर आर्थिक सहयोग गरेका छन् ।

९. माइकल ब्लुम्बर्ग : अमेरिकी अर्बपति तथा मिडिया कम्पनी क्षेत्रका बादशाह माइकल ब्लुम्बर्गले कोरोनाविरुद्धको लडाइँका लागि सात करोड ४५ लाख अमेरिकी डलर योगदान गरेका छन् ।

१०. लीन एण्ड स्टेसी सुस्टरम्यान : अमेरिकी अर्बपति चाल्र्स सुस्टरम्यानकी पत्नी लीन तथा छोरी स्टेसीले कोरोना भाइरसविरुद्धको लडाइँमा हालसम्म सात करोड अमेरिकी डलर दान गरिसकेका छन् ।

कोरोनाविरुद्धको लडाइँमा सबैभन्दा बढी दान गर्ने यी शीर्ष १० व्यक्तित्वबाहेक अन्य व्यक्तिहरूले समेत महत्वपूर्ण योगदान गरिरहेका छन् । त्यसमध्ये प्रविधि क्षेत्रका अर्बपतिहरूमा फेसबुकका सीईओ मार्क जुकरबर्गको नाम अगाडि आउँछ । उनले कोरोना भाइरस महामारीविरुद्धको लडाइँमा अढाई करोड अमेरिकी डलर आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् ।

त्यस्तै अलिबाबा कम्पनीका संस्थापक ज्याकमाले कोरोना भाइरसविरुद्धको खोपको अनुसन्धानका लागि १० करोड युआन अर्थात् एक करोड ४५ लाख अमेरिकी डलर बराबरको रकम आर्थिक सहयोग गर्ने घोषणा गत जनवरीमै गरेका थिए । त्यसयता उनले अमेरिकालगायत विश्वका विभिन्न देशहरुलाई ज्याकमा फाउण्डेसनमार्फत लाखौँ डलर मूल्यका चिकित्सा सामग्री तथा औषधिहरू दान गरिसकेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment