Comments Add Comment

गण्डकी प्रदेशमा विदेशबाट ५० हजार फर्किने अनुमान

कृषिमा लगाउने प्रदेश सरकारको योजना

कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री लेखबहादुर थापा ।

३० वैशाख, पोखरा । गण्डकी प्रदेशले कोरोना महामारीपछि विदेशबाट रोजगारी गुमाएर आफ्नो प्रदेशमा ५० हजार युवा फर्किने अनुमान गरेको छ । उनीहरुलाई कृषि क्षेत्रमा अभिप्रेरित गर्ने गरी बजेट ल्याउने प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री लेखबहादुर थापाले बताएका छन् ।

‘कोरोनाले विदेशमा कार्यरत लाखौंको रोजगार गुम्ने निश्चितजस्तो भइसक्यो । विदेशमा रोजगारी गुमाएर पनि बेरोजगार हुने हाम्रै देशका हुन्,’ उनले भने, ‘उहाँहरु फर्किएपछि कृषिमै लाग्ने गरी योजना बनाउने तयारीमा छौं ।’

विदेशबाट रोजगारी गुमाएर फर्किनेलाई आफ्नै खेतबारीमा काम गर्ने वातावरण बनाउने मन्त्री थापा बताउँछन् । ‘सबैभन्दा पहिलो उपाय त उहाँहरुलाई आफ्नै जग्गा जमिनमा परिश्रम गर्न सक्ने वातावरण बनाइदिनु नै मुख्य कुरो हो,’ उनले अनलाइनखबरसँग भने, ‘त्यसका लागि कहाँ कस्तो जमिन छ ? माटो छ ? त्यसबारे अध्ययन गरेर योजना अघि ल्याउँछौं ।’

थापाले कृषिमा आधारित व्यवसाय, बाँझो जग्गामा उत्पादन, बजार व्यवस्थापन लगायतको काममा प्रदेश सरकारले किसानलाई सहयोग गर्ने बताए । ‘जग्गा बाँझो राख्न पाइँदैन ।

त्यसका लागि प्रदेशले जहाँ सहयोग गर्नुपर्ने हो गर्छ,’ उनले भने । उनले कोरोनापछि स्थानीय तहमा हाटबजार र कृषि संकलन केन्द्रको समेत स्थापना गरिने जानकारी दिए ।
लकडाउनमा गाईलाई असर पर्‍यो, दूधलाई परेन !

लकडाउनमा गण्डकी प्रदेशका किसानले ठूलो क्षति व्यहोर्नुनपरेको कृषि मन्त्री थापाको दाबी छ । लकडाउनको सुरुवाती समयमा दाना, घाँस, ढुवानीलगायतमा केही समस्या देखिएको भए पनि पनि सहज भएको उनले बताए ।

मन्त्री थापाले लकडाउनमा ढुवानी असहज हुँदा गाई, भैंसीलगायत पशुपालन गर्नेलाई समस्या परेको तर, दूधलाई भने कुनै समस्या नपरेको सुनाए । पशुपालन, कुखुरापालनमा भने दाना दिइरहनुपर्ने तर, त्यही अनुपातमा बजार नपाउँदा त्यसले समस्या ल्याएको उनले बताए ।

‘दूधमा गण्डकी प्रदेश पहिलेदेखि नै आत्मनिर्भर छ । त्यसो हुँदा धेरै आयात, निर्यात गर्नु नपरेपछि खासै समस्या नभएको पाएका छौं,’ मन्त्री थापाले भने, ‘कुखुरा पालन, पशुपालन, अण्डा व्यवसायी भने मर्कामा परेका रहेछन् ।’ उनले गण्डकी प्रदेशमा दैनिकी ५० हजार दूध उत्पादन हुने र सो प्रदेशलाई पर्याप्त हुने दाबी गरे ।

१० महिनामा २७ प्रतिशतमात्रै काम

कृषि मन्त्रालयबाट चालु आर्थिक वर्षको १० महिनामा जम्मा २७ प्रतिशतमात्रै काम भएको छ । चैतदेखि असारसम्म धेरै प्रतिशत काम सकिने बेला भएको लकडाउनले योजनामा पनि असर पारेको मन्त्री थापाले बताए ।

तर, लकडाउन खुकुलो हुँदै गएपछि प्रदेश मातहतका सबै स्थानीय तहका योजनाहरु सीघ्र सञ्चालन गर्न निर्देशन दिइसकेको उनले जानकारी दिए । ‘यो समय सबैभन्दा बढी काम हुने हो । तर, लकडाउनले समस्या निम्त्यायो । अब यो चालु आर्थिक वर्षको अन्त्यसम्म ६० प्रतिशत योजना सक्नेगरी काम अघि बढाएका छौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment