Comments Add Comment

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ८० हजार नाघ्यो, ह्वाइट हाउसमा पनि मास्क प्रयोग सुरु

३० वैशाख, काठमाडौं । अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ८० हजार नाघेको छ । संक्रमणको जोखिम बढेपछि राष्ट्रपति कार्यालय ह्वाइट हाउसका कर्मचारीले पनि मास्क प्रयोग गर्न थालेका छन् ।

जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या १३ लाख ४६ हजार सात सय २३ पुगेको छ भने ८० हजार तीन सय ५२ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित देश अमेरिका हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनालाई लुकेर बसेको दुस्मनको संज्ञा दिएका छन् । ट्रम्पका अनुसार अमेरिकामा दैनिक एक लाख ५० हजारदेखि तीन लाख जनाको परीक्षण भइरहेको छ । सोमबारसम्म ९० लाखभन्दा बढीको कोरोना परीक्षण भइसकेको छ ।

कोरोना संक्रमणको जोखिम महसुस गरेपछि ह्वाइट हाउसका अन्य कर्मचारीले पनि मास्क प्रयोग गर्न सुरु गरेका छन्

कोरोनाको संक्रमणको महामारीसँगै अमेरिकी अर्थतन्त्र नराम्रोसँग प्रभावित भएको छ । ट्रम्पले भने आगामी वर्ष अमेरिकी अर्थव्यवस्था राम्रो स्थितिमा पुग्ने विश्वास व्यक्त गरेका छन् । उनले भने, ‘आगामी वर्ष सबैभन्दा राम्रो वर्ष हुनेछ । किनभने बजारमा माग अत्यधिक हुनेछ ।’

ह्वाइट हाउसकै कर्मचारीहरू पनि कोरोनो संक्रमित पाइएको सन्दर्भमा ट्रम्पले भने, ‘एक जनामा पोजेटिभ देखिएको छ । आश्चर्य त यो छ कि एक दिन अगाडि नेगेटिभ पाइएको थियो । यो लुकेर बसेको दुस्मन हो । हामी चनाखो हुनुपर्छ ।’

यसअघि गत बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पको एक जना सुरक्षाकर्मीलाई कोरोना पुष्टि भएको थियो । त्यसको तीन दिनपछि उपराष्ट्रपति माइक पेन्सको प्रेस सेक्रेटरीलाई पनि कोरोना पोजेटिभ देखिएको थियो । कोरोना संक्रमितको सम्पर्कमा आएपछि कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बनाइएको ह्वाइट हाउस टास्क फोर्सका मुख्य तीन अधिकारीहरू क्वारेन्टाइनमा छन् ।

कोरोना संक्रमणको जोखिम महसुस गरेपछि ह्वाइट हाउसका अन्य कर्मचारीहरूले पनि मास्कको प्रयोग गर्न सुरु गरेका छन् । अमेरिकी मिडियाहरूले सार्वजनिक गरेको एउटा तस्वीरमा ह्वाइट हाउसका कर्मचारीहरूले मास्क लगाएको देखिएको छ ।

अमेरिकी मिडियाका अनुसार ह्वाइटहाउसले आफ्ना कर्मचारीलाई मास्क प्रयोग गर्न सूचित गरेको छ । तर, राष्ट्रपति ट्रम्प स्वयंमा भने यो नियम अझै लागू भएको छैन । किनभने उनले मास्क लगाएको अझै देखिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment