Comments Add Comment

के हामी सबैले फेरि हात मिलाउन पाउँछौँ ?

सानो भेटघाटदेखि लिएर अर्बौं डलरको सम्झौता सम्पन्न भएको अवसरमा एक किसिमको प्रक्रिया पूरा गरिन्छ । तपाइँले यस्तो व्यक्तिसँग पनि हात मिलाउनुहुन्छ, जुन मानिससँग जिन्दगीमा सायदै दोस्रोपटक भेट हुन्छ । अझ अर्बौं डलरको सम्झौता हुँदा त झन् यो अनिवार्य जस्तो नै हुन्छ ।

हात मिलाउने चलन कहाँबाट सुरु भयो त ? यस विषयमा फरक फरक विचार छन् । एक मतका अनुसार यो चलन ग्रिसमा शान्तिको प्रतीकको रुपमा सुरु भएको हो । यसको अर्थ जो मानिसले हात मिलाउँछ, त्यो मानिससँग कुनै किसिमको हतियार छैन भन्ने कुराको पुष्टि हुन्थ्यो । मध्यकालीन युरोपमा योद्धाहरूको बीचमा यस किसिमको चलन दुस्मनको हातमा लुकाइएको हतियार हल्लाएर झारिदिनको लागि पनि प्रयोग भएको थियो ।

हात मिलाउने प्रचलनलाई बढावा दिने श्रेय क्वैकर्स (इसाई धर्मका एक सदस्य)लाई पनि जान्छ । उनी कसैलाई झुकेर अभिवादन गर्नुको सट्टामा हात मिलाउनुलाई बढी बराबरीको व्यवहार मान्थे ।

हात मिलाउने चलनको इतिहास हजारौं वर्ष पुरानो छ । त्यसैले यसमाथि रोक लगाउनु पनि त्यति नै गाह्रो छ । मानिसहरूको लागि शारीरिक स्पर्श पनि उत्तिकै महत्वपूर्ण रहेको प्राध्यापक लेगार बताउँछिन् ।

अर्कोलाई स्पर्श गर्ने र स्पर्श गराउने जैविक इच्छा हरेक प्राणीमा पाइन्छ । सन् १९६० मा अमेरिकी मनोवैज्ञानिक ह्यारी हर्लोले एक युवा बाँदरका लागि स्पर्श र प्रेमको विकासको लागि कति महत्वपूर्ण छ भन्ने कुरा देखाएका थिए ।

जनावरहरू पनि स्पर्शको लागि विभिन्न किसिमको गतिविधि गर्छन् । चिम्पान्जीहरू हत्केलामा छुने, अंकमाल गर्ने र अभिभादनको रुपमा चुम्बन गर्नेजस्ता गतिविधि गर्छन् । जिराफहरू एकआपसमा गर्धन जुधाएर एकअर्काको शक्तिको आकलन गर्छन् ।

विश्वभरका मानिसहरू पनि फरक–फरक किसिमको अभिवादन गर्छन् । यसबाट तपाईं अर्को मानिसबाट हुने संक्रमणबाट बच्न सक्नुहुन्छ । हिन्दु संस्कृतिमा दुई हात जोडी नमस्कार गरेर अभिवादन व्यक्त गर्ने चलन छ ।

मुस्लिम देशमा छुन नमिल्ने मानिसलाई आफ्नो छातीमा हात राखेर अभिवादन गरिन्छ । हवाईयन शाका साइन पनि अहिले अभिवादनको एक तरिका बनेको छ । यसमा तीनओटा औंला मुठ्ठी पारिन्छ र हात मिलाउँदा बूढी औंला र कान्छी औंलालाई अगाडि ल्याइन्छ ।

शारीरिक स्पर्श यसअघि यति धेरै महत्वपूर्ण मानिएको थिएन । २० औं शताब्दीको मध्यमा धेरै मनोवैज्ञानिकहरू बालबालिकाप्रति आफ्नो प्रेम दर्शाउनु केवल एक भावनात्मक मुद्रा भएको मान्थे । यसको कुनै वास्तविक उद्देश्य नरहेको बताउँथे । उनीहरूले यस किसिमले प्रेम देखाउँदा रोग फैलिन सक्ने र वयस्क हुँदा उनीहरूमा मनोवैज्ञानिक समस्याको सामना गर्नुपर्ने बताउने गरेका थिए ।

सन् १९२० मा प्रकाशित एक आलेखमा पनि हात मिलाउँदा संक्रमण फैलिनसक्ने चेतावनी दिइएको थियो । सन् २०१५ मा युनिभर्सिटी अफ क्यालिफोर्नियाको एक आईसीयूमा हात मिलाउन नपाइने नियम ल्याएको थियो । तर, यो लामो समय टिकेन ।

केही मुस्लिम महिलाले पनि हात मिलाउन नहुने भन्दै आपत्ति जनाउँदै आएका छन् । तर, उनीहरूले धार्मिक आस्थाको कारण यसमा आपत्ति जनाएका हुन् । २० औं शताब्दी सकिँदासम्म हात मिलाउने चलन विश्वका सबैजसो क्षेत्रमा फैलियो ।

हात मिलाउने चलनको भविष्य

अमेरिकाको केही राज्यमा लकडाउन खुकुलो बनाइएको छ । तर, हात मिलाउनमा भने अझै रोक छ । ह्वाइट हाउसका कोरोना भाइरस टास्क फोर्सका डा. एन्थोनी फाउकीले गत अप्रिलमा अब हात मिलाउनु उचित नहुने बताएका थिए । यसले कोरोना भाइरस मात्र नभई इन्फ्लुएन्जा नियन्त्रणमा पनि सहयोग पुग्ने उनको भनाइ थियो ।

यस्तोमा अहिले हात मिलाउँदा केही फरक नहुने भन्ने र हात मिलाउनै नहुने भन्ने दुई किसिमको जमात देखिएको छ । तर, संसारमा अभिवादनको लागि धेरै विकल्पहरू छन् । शीर झुकाएर अभिवादन गर्नु पनि एक विकल्प हो । थाइल्याण्डमा कोरोना भाइरसबाट कम मृत्यु हुने श्रेय यस किसिमको अभिवादनलाई पनि जान्छ । त्यसका साथै हात वा शीर हल्लाउने, मुस्कुराउने, अन्य किसिमको संकेतबाट पनि अभिवादन गर्न सकिन्छ । जसका लागि कुनै शारीरिक स्पर्शको जरुरी हुँदैन ।

हार्वर्ड युनिभर्सिटीका प्राध्यापक स्टिभन पिङ्कर आफ्नो अभिवादनको शैली परिवर्तन गर्दैमा भावनात्मक रुपमा भने कुनै असर नपर्ने बताउँछन् । अभिवादन गर्ने मानिसले संक्रमण फैलिने डरले शैली परिवर्तन गरेको बुझ्ने भएकाले कुनै समस्या नहुने उनको भनाइ छ ।

 

अहिले धेरै मानिसले संक्रमण फैलिने डरले हात मिलाउन छाडेका छन् । यस्तोमा उनीहरूलाई यसअघिको बानी हटाउन पनि उत्तिकै गाह्रो भइरहेको छ । तर, केही मानिसहरू बरु समय समयमा हात धुने बानी बसाल्नुपर्ने तर पूर्णरुपमा शारीरिक स्पर्शबाट टाढा रहने उपाय उचित नहुने बताउँछन् । आगामी दिनमा अब मानिहरूको बीचमा शारीरिक स्पर्श नै नहुने र नेटवर्कको माध्यमबाट मात्र एकअर्कालाई आभाष गर्नुपर्ने अवस्था आउनेमा केहीले चिन्ता व्यक्त गरेका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment