१८ कात्तिक, रुकुमपूर्व । रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ मा अवस्थित ‘कमलदह’ पछिल्ला वर्षहरूमा आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ । गाउँपालिकाको आगन नजिक रहेको यो दह अहिले वर्षभरि नै पर्यटकले गुञ्जायमान हुन्छ ।
सूर्योदयका सुनिला किरणसँगै दहमा फुलेका कमलका फूल, हरियाली बनको शान्त माहोल र पानीमा परावर्तित डाँडाकाँडाको दृश्यले यहाँ आउने जो–कोहीलाई मन्त्रमुग्ध पार्छ ।
बिहानको हिँडाइ, फोटोग्राफी, भिडियो सुटिङ, ध्यान-योगदेखि परिवारसहित विश्राम र घुमघामसम्मका लागि कमलदह उपयुक्त स्थान बनेको छ ।
अधिकांश सर्वसाधारण, विद्यार्थी र सरकारी कर्मचारी कार्यालय खुल्नुअघि र बन्द भएपछि केही समय यतै बिताउँछन् । सहरको भीडभाड र तनावबाट टाढा रहन चाहनेहरूका लागि यो दह सहज र शान्त विकल्प बनेको छ ।
पहिले खासै परिचित नभएको कमलदह अहिले स्थानीय तहको सक्रियता र प्रचार–प्रसारका कारण नयाँ गन्तव्यको रूपमा स्थापित हुँदैछ । संरक्षण र पूर्वाधार विकाससँगै यसको सौन्दर्यमा थप निखार आएको छ ।
दहमा दैनिक फोटा खिच्ने चार–पाँच जना युवाले रोजगारी पनि पाएका छन् । यसले स्थानीय युवामा ‘देशमै केही गर्न सकिन्छ’ भन्ने आत्मविश्वास जगाएको छ ।
बाहिरबाट घुम्न आएका पर्यटकका अनुसार स्थानीय सरकार र समुदायले संरक्षण, सफाइ र पर्यटकीय व्यवस्थापनमा निरन्तर ध्यान दियो भने कमलदह जिल्लाको अर्थतन्त्रलाई टेवा दिने प्रमुख गन्तव्य बन्न सक्ने बताएका छन् ।
कमलदहमा फोटो खिच्दै आएका रमेश सुनार भन्छन्, ‘यो ठाउँको प्राकृतिक सुन्दरता आफैंमा अनौठो छ। व्यवस्थापनमा सुधार भयो भने निकट भविष्यमा रुकुमपूर्वको मुख्य पर्यटन आकर्षण यही हुनेछ।’
प्राकृतिक सौन्दर्य, सहज पहुँच र स्थानीयको आत्मीय आतिथ्यले ‘कमलदह’ अहिले रुकुमपूर्वको पहिचान बन्दै गएको छ ।
 
 
 
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4