Comments Add Comment

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको ओपीडी सेवा सुरु

फाइल तस्वीर

३० वैशाख, पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको ओपीडी मंगलबारबाट पुनः सुरु भएको छ । कोरोना भाइरस (कोभिड १९) लकडाउनका कारण ओपीडी सेवा एक महिनादेखि बन्द थियो ।

‘ओपीडी सेवा आजदेखि सुरु गरेका छौं । तर, पहिलेजस्तो सहजरुपमा भने होइन,’ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रमुख अर्जुन आचार्यले भने, ‘ओपीडीमा पनि केही जटिल र अत्यावश्यक केसलाई मात्रै लिने भनेका छौं ।’ उनले मंगलबार पहिलो दिनमात्रै २ सय ५० जना ओपिडी बिरामी चेकजाँच गरिएको जानकारी दिए ।

सबै सामान्य चेकजाँचका लागि अझै पूर्ण रुपमा ओपीडी नखुलेका अत्यावश्यकबाहेक अन्यले अस्पतालमा भीड नगरिदिन समेत डा आचार्यले आग्रह गरे । ‘सामाजिक दूरी कायम गरेर चेकजाँच गर्ने त भनेका छौं । तर, भिड हुने देखियो,’ उनले भने, ‘यसमा प्रशासनलेमात्रै नभएर सेवा लिन आउने सेवाग्राहीले पनि ध्यान दिन जरुरी छ ।’

गण्डकी प्रदेशमा अहिलेसम्म ७ सय ३४ जनाको नमुना संकलन भएको छ । जसमध्ये ७ सय २७ जनाको परीक्षण नेगेटिभ आएको छ भने २ जना संक्रमित निको भएर घर फर्किसकेका छन् । ५ जनाको नतिजा आउन बाँकी छ । मंगलबारसम्म ६ हजार ५ सय २७ जनाको आरडिटी परीक्षण भएको अस्पताल प्रशासनले जनाएको छ ।

कोरोना संक्रमणबाट कम प्रभावित भएको दाबी गर्दै प्रदेश सरकारले विभिन्न मापदण्ड बनाएर लकडाउन खुकुलो बनाएको छ । विकास निर्माण, कृषिलगायतका उद्योग तथा विभिन्न अत्यावश्यक सेवा सञ्चालनका लागि पोखरामा सवारी पास नचाहिने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment