
३१ वैशाख, काठमाडौं । काठमाडौंकी ३३ वर्षीया कोरोना संक्रमित महिला चन्द्रागिरि नगरपालिकाको मच्छेगाउँको भएको खुलेको छ । उनी कन्चनपुरको महेन्द्रनगरबाट २९ गते काठमाडौं आएकी थिइन् ।
उनी सशस्त्र प्रहरी अस्पताल सतुंगलमा कार्यरत स्वास्थ्यकर्मीको परिवार भएको बताइएको छ । काठमाडौं आएलगत्तै उनी स्वाब परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला टेकुमा गएकी थिइन् । परीक्षण ग्रर्दा कोरोना पोजेटिभ पाइएको थियो ।
काठमाडौंको ३३ वर्षीया महिला काठमाडौं जिल्लामा देखिएको पाँचौ संक्रमित हुन् । काठमाडौंका अन्य चार जना संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन् ।
मंगलबार राति काठमाडौंका एक र भक्तपुरका दुई जनासहित थप २६ जनालाई कोरोना संक्रमण पुष्टि भएको जानकारी स्वास्थ्य मन्त्रालयले दिएको थियो ।
भक्तपुरका संक्रमित २७ वर्षीय पुरुष सशस्त्र प्रहरी हुन् । रामेछाप स्थायी ठेगाना भएका उनी भक्तपुरको चाँगुनारायण नगरपालिका-१ दुवाकोटवासी हुन् । उनी नेकपा नेता एवम् पूर्वगृहमन्त्री भीम रावलको सुरक्षार्थ खटिएका थिए ।
अर्का एक महिला भने सुनसरीबाट भक्तपुरको नयाँठिमीस्थित साथीको डेरामा आएकी थिइन् । उनी एक अस्पतालको कर्मचारी हुन् ।
प्रतिक्रिया 4