Comments Add Comment

थप २६ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौं र भक्तपुरमा पनि भेटिए संक्रमित

३० वैशाख, काठमाडौं । काठमाडौं र भक्तपुरमा तीन जनासहित थप २६ जनामा कोरोना भाइरस (कोभिड-१९ ) को संक्रमण पुष्टि भएको छ । यससँगै मंगलबार एकैदिनमा ८३ जना संक्रमित थपिएका छन् ।

मंगलबार राति सवा १० बजे स्वास्थ्य मन्त्रालयका अनुसार भक्तपुर २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । यस्तै काठमाडौंमा ३३ वर्षीया महिलाको रिपोर्ट पनि पोजेटिभ आएको छ ।

यसैगरी पर्सामा १८ जनामा संक्रमण पुष्टि भएको छ । २२, २८, २८, ३२, ४५ र ६० वर्षीया महिला र १६, २२, २४, २५, २५, २८, २८, ३२, ५५, ५९, ६१ र ६१ वर्षीय पुरुषमा संक्रमण देखिएको छ ।

यस्तै महोत्तरीमा १६ र ३५ वर्षीय पुरुष तथा धनुषामा २० वर्षीया महिला र ४० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।

दुई पत्रकार पनि संक्रमित

यसअघि मंगलबार ५७ जनामा संक्रमण देखिएको थियो

उनीहरू मध्ये ३९ जना पर्साका थिए । त्यसमध्ये २५ जना वीरगञ्ज महानगरपालिकाका थिए । उनीहरु छपकैया, इनरवा, घुसुकपुर र नग्वा क्षेत्रका हुन् । र, १२ बर्षदेखि ५३ बर्ष उमेरका छन् ।

दुई जना वीरगञ्जका पत्रकार समेत छन् । नेपालमा पहिलो पटक पत्रकारमा संक्रमण पुष्टि भएको हो ।

यस्तै छिपरमाई गाउँपालिकाको मंगल माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसका १४ जना संक्रमित छन् । उनीहरु १३ वैशाखमा बागलुङबाट पर्सा आइपुगेका थिए ।

बाराको बिश्रामपुर गाउँपालिकाका संक्रमित १४ बर्षीय किशोर हुन् । छपकैयाका संक्रमितको कट्याक ट्रेसिङका क्रममा उनको थ्रोट स्वाब संकलन गरिएको थियो ।

कोरोना संक्रमितको संख्या बढेसँगै पर्सा र बारा प्रशासनले निषेधाज्ञा समेत जारी गरेका छन् ।

स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

यस्तै कपिलवस्तुमा थपिएका ८ जना संक्रमितमध्ये एक जना २५ वर्षीया स्वास्थ्यकर्मी समेत छिन् । नेपालमा पहिलो पटक स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको हो ।

तौलिहवा अस्पतालमा कार्यरत ९ जनाको स्वाब संकलन गरिएको थियो । त्यसमध्ये एक जनामा संक्रमण पुष्टि भयो भने ८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालमा स्थायी र करार गरी ६७ जना स्वास्थ्यकर्मी काम छन् ।

मंगलबार थपिएका सबै संक्रमित कपिलवस्तु नगरपालिकाका बासिन्दा हुन् । यसससँगै कपिलवस्तुमा मात्र कोरोना संक्रमितको संख्या २९ पुगेको छ ।

संक्रमित स्वास्थ्यकर्मीसहित ७ जनालाई मंगलबार नै बुटवलस्थित प्रदेश कोरोना अस्पताल लगिएको छ । उनीहरुसँग सम्पर्कमा अस्पताल सम्पर्कमा आएकाहरुलाई क्वारेन्टाइनमा राखिने प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।

भारतबाट आएका थिए ९ संक्रमित

यस्तै रुपन्देहीमा भेटिएका नौ जना संक्रमित लुम्बिनी सांस्कृतिक नगरपालिकाका बासिन्दा हुन् । वडा नंं ४, ५, ७, ११ र १२ का उनीहरू १७ देखि ५० वर्ष उमेरका पुरुष हुन् ।

उनीहरू सबै लकडाउनको समयमा भारतको मुम्बई र कानपुरबाट नेपाल-भारत सीमा क्षेत्र दशगजासम्म आइपुगेका थिए । यससँगै रुपन्देही जिल्लामा मात्र कोरोना संक्रमितको संख्या १६ जना पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment