Comments Add Comment

कपिलवस्तुमा स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

पत्रकार र चिकित्सकसमेत जोखिममा

३० वैशाख, कपिलवस्तु । तौलिहवा अस्पतालमा कार्यरत एक २५ बर्षीया स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । अस्पतालमा उनीसहित ९ जनाको स्वाब संकलन गरिएको थियो । बाँकी ८ जनाको रिर्पोट नेगेटिभ छ ।

पर्याप्त सावधानी नअपनाउँदा कपिलवस्तुमा अब समुदायस्तरमै कोरोना संक्रमण फैलिएको छ । भारतबाट आएकाहरुमा देखिएको संक्रमण अब स्थानीयस्तरमै फैलिएको हो ।

कपिलवस्तु नगरपालिकाभित्र क्वारेन्टाइनमा बसेकाहरुको थ्रोट स्वाब संकलन गर्ने क्रममा तौलिहवा अस्पतालकी स्वास्थ्यकर्मीलाई पनि कोरोना पुष्टि भएको हो ।

संक्रमित स्वास्थ्यकर्मी क्वारेन्टाइनमा नबसी आफ्नै घरमा जाने गरेकी थिइन् । उनी कार्यरत तौलिहवा अस्पतालमा स्थायी र करार गरी ६७ जना स्वास्थ्यकर्मीहरु काम गरिरहेका छन् । संक्रमित स्वास्थ्यकर्मीसहित अरुको स्वाब संकलन गरिए पनि उनीहरुलाई क्वारेन्टाइन राखिएको थिएन ।

स्वाब संकलन गर्दै स्वास्थ्यकर्मी

स्वास्थ्य मन्त्रालयले मंगलबार सार्वजनिक गरेको विवरणमा कपिलवस्तुमा ८ जना संक्रमित थपिएका छन् । ती सबै कपिलवस्तु नगरपालिकाका बासिन्दा हुन् । जसमध्ये एकजना तौलिहवा अस्पतालमा कार्यरत महिला स्वास्थ्यकर्मी रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

मंगलबार संक्रमण पुष्टि भएका ८ जनासहित कपिलवस्तुमा कोरोना संक्रमितको संख्या २९ पुगेको छ ।

संक्रमित स्वास्थ्यकर्मीसहित ७ जनालाई मंगलबार नै बुटवलस्थित प्रदेश कोरोना अस्पताल लगिएको छ ।

उनीहरुसँग सम्पर्कमा अस्पताल सम्पर्कमा आएकाहरुलाई तत्काल क्वारेन्टाइनमा राखिने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।

जोखिममा स्वास्थ्यकर्मी

तौलिहवा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी संक्रमित भएपछि अहिले जिल्लाभरका स्वास्थ्यकर्मी त्रसित बनेका छन् । संक्रमण देखिएका ५ वटा स्थानीय तहका फिल्डमा खटिने सबै स्वास्थ्यकर्मीको स्वाब जाँच गर्न स्वास्थ्यकर्मीहरुले माग गरेका छन् ।

जिल्ला स्वास्थ्य प्रमुख योगेन्द्र भगतका अनुसार अहिले जिल्लाभरि ६१४ जना स्वास्थ्यकर्मी कार्यरत छन् ।

समुदायस्तरमा कोरोना संक्रमण बढेसँगै जिल्लाका १० वटै स्थानीय तहले क्वारेन्टाइन निर्माण गरी स्वास्थ्यकर्मी परिचालन गरिरहेका छन् ।

स्थानीय तहले क्वारेन्टाइन जाँच, स्वाब संकलन, संक्रमित ओसार–पसार, बिरामी जाँच र औषधी उपचारमा आवश्यक पर्ने सुरक्षा उपकरण, पीपीई सेट लगायतका स्वास्थ्य सामग्री उप्लब्ध नगराउँदा आफूहरु जोखिममा रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

सुरक्षा सामग्रीका लागि स्रोत अभाव हुनुका साथै शंकास्पद व्यक्तिलाई क्वारेन्टाइन नराखी घर पठाएकै कारण कपिलवस्तुमा दोस्रो चरणमा कोरोना प्रवेश गरेको स्थानीयको ठम्याइ छ ।

विभागको टोली कपिलवस्तुमा

पछिल्लो समय कोरोना संक्रमणको इपिसेन्टर बनेको कपिलवस्तुमा थप सावधानी अपनाउन र संक्रमितको कन्ट्रयाक ट्रेसिङ्ग गर्नका लागि टोली मंगलबार कपिलवस्तु आइपुगेको छ ।

स्वास्थ्य विभागबाट राम नेपालीको संयोजकत्वमा ४ सदस्यीय टोली कपिलवस्तु आइपुगेको हो । टोलीले संक्रमित भेटिएका ५ वटा स्थानमा सूक्ष्म ढंगले कन्ट्रयाक ट्रेसिङ गर्ने र जाँच गर्ने कार्य अघि बढाउने बताइएको छ ।

सञ्चारकर्मी पनि उच्च जोखिममा

कोरोनासम्बन्धी समाचार संकलन गर्ने पत्रकारहरुसमेत उच्च जोखिममा रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लाका संक्रमित स्थानीय तहमा कार्यरत सञ्चारकर्मीहरु विना सुरक्षा उपकरण क्वारेन्टाइनमा छिर्ने, अन्र्तवार्ता लिने, भिडियोहरु बनाउने र सीमामा रहेकाहरु बिच गएर समाचार संकलन गर्ने कार्यले गर्दा उनीहरु जोखिममा रहेको बताइएको छ ।

पत्रकार महासंघ कपिलवस्तु अध्यक्ष डिलाराम भुसालले विनासुरक्षा रिर्पोटिङ्गमा हिँड्ने सञ्चारकर्मीको संख्या बढी भएको र उनीहरु उच्च जोखिममा रहेको जानकारी दिए ।

‘हामीले सावधानी अपनाउन भनेका छौं, आवश्यक स्रोत साधन छैन, सम्बन्धित मिडियाले उप्लब्ध गराउँदैन, समस्या छ,’ उनले भने ।

संक्रमित क्षेत्रका पत्रकारहरुको पनि स्वाब परीक्षणका लागि आवश्यक पहल गरेको र अहिले सेल्फ क्वारेन्टाइन बस्न आग्रह गरेको अध्यक्ष भुसालले बताए ।

उता वीरगञ्जमा मंगलबार ५७ जनामा कोरोना संक्रमण देखिएकोमा २ जना पत्रकारसमेत परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment