Comments Add Comment

मुम्बई र कानपुरबाट आएका थिए रुपन्देहीका नयाँ संक्रमित

३० वैशाख, बुटवल । मंगलबार कोरोना संक्रमण पुष्टि भएका रुपन्देहीका नौ जना लुम्बिनी सांस्कृतिक नगरपालिकाका बासिन्दा भएको खुलेको छ ।

संक्रमितहरूमध्ये वडा नंं ११ का ३ जना, वडा नंं १२ का २ जना, वडा नंं. ७ का २ जना, वडा नंं. ५ का १ जना र वडा नंं ४ का १ जना छन् । उनीहरू १७ देखि ५० वर्ष उमेरका पुरुष हुन् ।

उनीहरू लकडाउनको समयमा भारतको मुम्बई र कानपुरबाट नेपाल–भारत सीमा क्षेत्र दशगजासम्म आइपुगेका थिए ।

यो पनि पढ्नुहोस नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि, पत्रकार र स्वास्थ्यकर्मी पनि संक्रमित

दशगजा क्षेत्रबाट उनीहरू सुरक्षाकर्मीको आँखा छलेर आठ दिनअघि लुकिछिपी नेपाल प्रवेश गरेका थिए । उनीहरूलाई लुम्बिनीस्थित श्रीलंकन गेस्ट हाउसमा बनाइएको क्वारेन्टाइनमा राखिएको नगर प्रमुख मनमोहन चौधरीले बताए ।

वडा नंं. ४ का एकजना क्वारेन्टाइनमा नगई घर बसेका थिए । भोलिपल्ट मात्रै उनलाई क्वारेन्टाइनमा ल्याइएको थियो । अन्यको कन्ट्याक्ट ट्रेसिङ पत्ता लगाउने प्रक्रिया सुरु भइसकेको छ ।

नगरपालिकाका क्वारेन्टाइनमा रहेका एक सय २८ जनामध्ये ६२ जनाको परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।

संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्थायी अस्पतालको आइसोलेसनमा लैजाने तयारी भइरहेको नगर प्रमुख चौधरीले बताए ।

यसअघि सोमबार लुम्बिनी सांस्कृतिक नगरपालिकाकै वडा नंं. १ र ४ का एक–एकजनामा कोरोना संक्रमण देखिएको थियो । दुवै लुम्बिनी बौद्ध विश्वविद्यालयको छात्रावासको क्वारेन्टाइनमा थिए । यस्तै कोटहीमाई गाउँपालिका १ का २५ वर्षीय युवक र सम्मरीमाई गाउँपालिकाका चार जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

मंगलबार थपिएका संक्रमितसँँगै रुपन्देही जिल्लामा कोरोना संक्रमितको संख्या १६ जना पुगेको छ ।

कपिलवस्तुका संक्रमित तौलिहवा र आसपासका

यस्तै, कपिलवस्तुमा मंगलबार थपिएका ८ जना कोरोना संक्रमित सदरमुकाम तौलिहवा र आसपासका हुन् । कपिलवस्तु नगरपालिका वडा नं. १ कि २५ वर्षीया महिला, वडा नं. ३ का २०, ३२ वर्षका २ जना पुरुष, वडा नं. ४ का २५ वर्षीय पुरुष, वडा नं.५ का ३६ वर्षीय पुरुष, वडा नं. ६ का १९ वर्षीय पुरुष, वडा नं. ७ का १९ वर्षीय पुरुष र वडा नं. ८ का २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र थप उपचारका लागि बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पताल पठाउने तयारी भएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए ।

जिल्लाको यशोधरा गाउँपालिका वडा नं. ५ का ८ र वडा नं. ८ का ४ जना, बुद्धभूमि नगरपालिका वडा नं. ७ का ३, वडा नं. १० का १ जना, मायादेवी गाउँपालिकामा चार जना र शुद्धोधन गाउँपालिकामा एक जनामा गरी कुल २९ जना कोरोना संक्रमित पुगेका छन् । कपिलवस्तुमा कोरोना संक्रमितहरू पनि भारतको मुम्बई र नयाँदिल्लीलगायतका सहरबाट लकडाउनकै अवधिमा लुकिछिपी जिल्ला प्रवेश गरेका थिए ।

अझै करिब दुई हजार कपिलवस्तुवासी घर फर्कन नेपाल–भारत सीमाक्षेत्रमा आएर बसेका छन् । रुपन्देहीको सीमा क्षेत्र सुनौलीमा पनि करिब १५ सय जना जम्मा भएका छन् ।

हाल कपिलवस्तु जिल्लालाई सिल गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment