News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थ सचिव डा. घनश्याम उपाध्यायले भोटेकोशी र कालीगण्डकी करिडोरको पुनर्निर्माण छिट्टै शुरू गर्ने बताएका छन् ।
- उनका अनुसार बाढीबाट चार खर्ब आठ अर्ब २९ करोड रुपैयाँ क्षति भएको छ र पुनर्निर्माणमा सात खर्ब २३ अर्ब ३१ करोड रुपैयाँ आवश्यक छ ।
- सरकारले पुनर्निर्माणका लागि विश्व बैंक, एडीबी, भारत र चीनसँग अनुदान र सहुलियतपूर्ण ऋणका लागि छलफल अघि बढाइरहेको छ ।
१२ कात्तिक, काठमाडौं । अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायले भोटेकोशी तथा कालीगण्डकी करिडोर क्षेत्रमा छिट्टै पुनर्निर्माणको काम अगाडि बढाउने बताएका छन् ।
भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन गर्न गठित संसदीय विशेष समितिमा भएको छलफलमा उनले तत्कालै पुननिर्माणको काम थाल्ने बताएका हुन् ।
पुनर्निर्माणकाको लागी अनुदान र सहुलियतपुर्ण ऋणको प्रयोग गर्ने उनले बताए । उनका अनुसार बाढीबाट चार खर्ब आठ अर्ब २९ करोड रुपैयाँ बराबरको क्षति भएको छ भने पुनर्निर्माणमा सात खर्ब २३ अर्ब ३१ करोड रुपैयाँ आवश्यक लाग्ने प्रारम्भिक आकलन गरिएको छ ।
‘बाढीबाट भएको क्षति राष्ट्रिय योजना आयोगबाट संकलन भएको छ । यसले करिब चार खर्ब आठ अर्ब २९ करोडको क्षति गरेको छ । पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब ३१ करोड आवश्यक पर्छ भन्ने देखिएको थियो । अहिले राष्ट्रिय योजना आयोगले डिटेल रुपमानै पिडिएने गरिरहेको छ,’ सचिव उपाध्यायले भने, ‘हाल पुनर्निर्माणका लागि विभिन्न मन्त्रालयबाट विपद परिषदमा पेश भएर अनुमोदन समेत भैसकेको अवस्था छ । दुई खर्ब २५ अर्ब ७७ करोड आठ लाख रुपैयाँ बराबरका आयोजनाहरू पुनर्निर्मानको लागी विपद् परिषद्बाट अनुमोदन भएका छन् ।’
विपद्पछिको पुनर्निर्माणका लागि आवश्यक स्रोत जुटाउन विश्व बैंक, एसियाली विकास बैंक (एडीबी) तथा छिमेकी मुलुक भारत र चीनसँग सरकारले छलफल अघि बढाइरहेको उनले जानकारी दिए । पुनर्निर्माणका लागि सकेसम्म अनुदान र सहुलियतपूर्ण ऋण परिचालन गर्ने सरकारको तयारी रहेको उनको भनाइ छ । तत्कालीन राहत तथा उद्धारका लागि मात्रै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको रकम उपयोग गरिने उनले बताए ।
‘अब सम्बन्धित मन्त्रालयहरूले प्राथमिकता निर्धारण गरेर अर्थ मन्त्रालयबाट खरिद प्रक्रिया सुरु गर्ने, टेन्डेरिङ सुरु गर्ने सहमतिका लागि सम्बन्धित मन्त्रालयबाट अर्थ मन्त्रालयमा पेश गर्ने क्रममा रहेका छन् । हामीले यसमा खरिद प्रक्रिया अगाडि बढाउने गरी सहमति दिने क्रममा रहेको छ । यसको स्रोत व्यवस्थापनको क्रममा नेपाल सरकारको नियमित बजेटको नै हुनेछ,’ उनले भने ।
बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि विभिन्न मन्त्रालयबाट प्रस्तावित दुई खर्ब २५ अर्ब ७७ करोड आठ लाख रुपैयाँ बराबरका आयोजना विपद् परिषद्बाट अनुमोदन भईसकेका छन् । सम्बन्धित मन्त्रालयहरूले प्राथमिकता निर्धारण गरी खरिद प्रक्रिया तथा ठेक्का आह्वानका लागि आवश्यक सहमति लिन अर्थ मन्त्रालयमा प्रश्ताव पेस गर्ने तयारी समेत गरेको उनले जानकारी दिए । भौतिक पूर्वाधार तथा ऊर्जा र सिंचाई क्षेत्रका आयोजनाबारे मन्त्रालयहरूसँग छलफल भइरहेको र आवश्यक प्रक्रिया पूरा भएपछि खरिद प्रक्रिया अघि बढाइने उनको भनाइ छ ।
‘तत्काल राहत उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भएको रकमबाट व्यवस्थापन हुन्छ । अर्थ मन्त्रालयले स्रोतको व्यवस्थापन गर्ने भनेको वर्ल्ड बैंक, एडिबी र छिमेकी मित्र राष्ट्र मूलभूत रूपमा भारत र चिन सरकारसँग विभिन्न किसिमका नेगोसिएसनहरू अगाडि बढाइरहेको छ,’ उनले भने, ‘यो विपदमा सकेसम्म धेरै चाहीँ अनुदान नै प्राप्त गर्ने र सहुलियतपूर्ण ऋणहरू परिचालन गर्ने हाम्रो लक्ष्य छ । सकेसम्म छिटो चाँही पुनर्निर्माणमा अगाडि बढाउने गरी अर्थ मन्त्रालयले तयारी गरिरहेको छ ।’
प्रतिक्रिया 4