Comments Add Comment

धनले किन मन अघाउँदैन ?

समाजमा मान, प्रतिष्ठा भएकाहरू पनि अहिले भ्रष्टचारमा लिप्त छन् । जसरी हुन्छ धन-दौलत जोड्ने दाउपेचमा लागिरहेका हुन्छन् । खासगरी नेता-मन्त्री, कर्मचारीमा धन-सम्पतिप्रति अति नै आशक्त देखिन्छ । सबैकुरा पुगिसरी हुँदा पनि मान्छेको धनले कहिल्यै अघाउँदैन ? सधैं अशान्त हुन्छन् ? यसै सन्दर्भमा एक रोचक कथा छ ।

एक जना राजा थिए । उनी हरेक दिन बिहान दान गर्ने गर्थे । त्यहीकारण राजाको प्रसिद्धि अन्य राज्यहरूमा पनि फैलिएको थियो । हरेकदिन बिहान राजाको महल बाहिर गरिब मानिसहरू पङ्क्तिबद्ध रुपमा उभिएका हुन्थे । आफूले यसरी दान दिन सकेको, आफ्नो प्रसिद्धि सर्वत्र फैलिएको कुराले भने उनमा दम्भ पैदा गरेको थियो ।

एकदिन राजाको महलमा प्रसिद्ध सन्त पनि आए । सन्तलाई देखेर राजा खुसी भए र उनलाई प्रणाम गरे । सन्तले राजालाई भने—‘मेरो कलश स्वर्ण मुद्राहरूले भरिदेऊ ।’ राजाले ती सन्तलाई धेरै सम्मान गर्थे ।

राजाले जवाफ दिँदै भने- ‘गुरुजी यो त अत्यन्त सानो काम हो । म अहिले नै तपाईंको यो भाँडालाई स्वर्ण मुद्राले भरिदिन्छु ।’

राजाले आफूसँग राखेको स्वर्ण मुद्राको त्यो भाँडामा हाल्दा सबै मुद्रा गायब भयो । त्यसपछि राजाले आफ्नो मन्त्रीसँग अरू मुद्रा मगाएर त्यो भाँडामा हाले । तर, ती सबै मुद्राहरू पनि गायब भए । राजाले मुद्रा गायब भएको देखेर आश्चर्यमा परे ।

राजालाई आफ्नो कुरा पूरा गर्नु थियो । त्यसैले उनले राज्यको कोषाध्यक्षलाई स्वर्ण मुद्राहरू लिएर आउनका लागि आदेश दिए । केही क्षणमा नै कोषाध्यक्ष अत्यधिक धेरै स्वर्ण मुद्राहरू लिएर आए।

राजाले कोषाध्यक्षले ल्याएका स्वर्ण मुद्राहरू त्यो भाँडामा हाल्न थाले । तर, त्यो भाँडा खाली नै भइरह्यो  । राजाले सन्तको अगाडि हात जोडेर माफी माग्दै हार मानेर भने–‘कृपया यो भाँडाको रहस्य के हो ? यो किन भरिएन ? बताउनुहोस् ।’

सन्तले जवाफ दिए-‘राजन, यो भाँडाले हाम्रो मनको प्रतिनिधित्व गर्छ । जसरी हाम्रो मन धनबाट, पदबाट र ज्ञानबाट कहिले भरिँदैन । ठिक त्यसैगरी यो भाँडा पनि कहिले भरिँदैन । हामीसँग जति धन भए तापनि, हामीले जति नै ज्ञान आर्जित गरे तापनि, सम्पूर्ण संसार जिते पनि मनका इच्छाहरू कहिले सकिँदैन । हाम्रा इच्छाहरू अनन्त छन्।

ती कहिलै पूरा हुन सक्दैनन् । त्यसैले हामी हरेक स्थितिमा खुसी हुन सिक्नुपर्छ । जस्तो अवस्थामा पनि सन्तुष्ट रहनुपर्छ । कहिले पनि घमण्ड गर्नुहुँदैन । हरेक क्षण भगवानको ध्यान गर्नुपर्छ। तब मात्र जीवन सार्थक बन्न सक्छ । इच्छा र घमण्डलाई त्याग गर्दा मन शान्त हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment