Comments Add Comment

नेप्से ओरालो लागेपछि ४० मिनेटमै सेयर बजार बन्द

३१ वैशाख, काठमाडौं । सेयर बाजरमा परिसूचक नेप्से दुई प्रतिशतले घटेपछि बुधबार पनि नेगेटिभ सर्किट लागेर कारोबार बन्द भएको छ । कारोबार सुरु भएदेखि नै निरन्तर ओरालो लागेको नेप्से परिसूचक ४० मिनेट नपुग्दै २ प्रतिशतले घटेर बन्द भएको छ ।

नेपाल धितोपत्र बोर्डले लकडाउनको बेलामा दिनको दुई घण्टा बजार खोल्न सक्ने र नेप्सेमा दुई प्रतिशतको उतारचढाव भए एक दिनका लागि कारोबार बन्द गर्ने व्यवस्था गरेको छ । सोही व्यवस्थाअनुसार आज पनि बन्द हुने समयअघि नै नेगेटिभ सर्किट लागेर कारोबार बन्द भएको हो ।

नेप्से परिसूचक २ प्रतिशत अर्थात २४ दशमलव ५८ अंकले घटेर एक हजार दुई सय एक दशमलव ५७ अंकमा बन्द भएको छ । सेन्सेटिभ परिसूचक पनि २ दशमलव शून्य एक प्रतिशतले घटेको छ ।

यस्तै ७४ वटा कम्पनीको २ सय ११ कारोबारबाट ३६ लाख १३ हजार पाँच सय २३ रुपैयाँ बराबरको १० हजार पाँच सय २६ कित्ता सेयर खरिद बिक्री भएको छ। कारोबारमा आएका ११ वटै समूहका सूचकहरू घटेका छन् ।

यस्तै कारोबार भएका सबै कम्पनीको सेयर मूल्य पनि घटेको छ । सबैभन्दा धेरै कारोबार नेपाल टेलिकमको आठ लाख ६२ हजार नौ सय ५० रुपैयाँको भएको छ । यस्तै, लक्ष्मी बैङ्क र तारागाउँ रिजेन्सी होटलका सेयरधनीले तीन प्रतिशतले गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment