Comments Add Comment

गाउँपालिका अध्यक्षको विज्ञप्ति : बर्दियाको कोरोना संक्रमित दाङको अस्पतालमा नल्याऊ

मुख्यमन्त्रीलाई प्रश्न : बर्दियाका विरामी दाङको अस्पतालमा लैजान नपाइने ?

दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पताल भवन ।

३१ वैशाख, बुटवल । दाङको शान्तिनगर गाउँपालिकाले बर्दियाका कोरोना संक्रमित बिरामीलाई दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा ल्याउन नपाइने भनी विज्ञप्ति जारी गरेपछि त्यसले तरंग ल्याएको छ ।

शान्तिनगर गाउँपालिका अध्यक्ष कमासिंह डांगीले बर्दियाको कोरोना संक्रमित बिरामी उपचारका लागि दाङ ल्याउन नपाइने भन्दै कोरोना फैलिएमा त्यसको जिम्मेवारी सरोकारवाला पक्षले नै लिनुपर्ने चेतावनी दिएका छन् ।

‘… बर्दिया जिल्लाबाट कोभिड १९ का बिरामी ल्याई दाङमा उपचार गराउनु भनेको दाङ जिल्लाभित्र कोरोना भाइरस भित्र्याउने दुष्प्रयास हो, त्यसैले यस्ता कार्यलाई गम्भीरतापूर्वक लिइदिनु हुन सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु’ विज्ञप्तिमा भनिएको छ ‘कोरोना भाइरस संक्रमण भएका बिरामी भित्र्याउँदा उत्पन्न हुने महामारीको जोखिम तथा क्षतिको सम्पूर्ण जिम्मेवारी सरोकारवाला सम्बन्धित पक्षले लिनुपर्छ ।’

अध्यक्ष डाँगीले दाङमा अन्य जिल्लाबाट बिरामी ल्याउने कार्य उचित समयमै रोकी दाङ जिल्लालाई सम्भावित जोखिमबाट रोक्न माग गरेका छन् ।

मुख्यमन्त्रीको ध्यानाकर्षण

सरकारले दाङको बेलझुण्डीस्थित आयुर्वेद अस्पताललाई कोरोना विशेष अस्थायी अस्पताल तोकेको छ । दाङ प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको गृहजिल्ला हो ।

तर प्रदेश ५ मै पर्ने बर्दियाकी कोरोना संक्रमित ल्याउन नपाइने भन्दै गाउँपालिकाले विज्ञप्ति निकालेपछि राष्ट्रिय जनता पार्टीकी प्रदेश सभा सांसद कल्पना पाण्डे लम्सालले मुख्यमन्त्री शंकर पोखरेलको ध्यानाकर्षण गराएकी छन् ।

प्रदेश सरकारको लगानीमा स्थापना भएको कोरोना विशेष अस्थायी अस्पतालमा अन्य जिल्लाका बिरामी ल्याउन नपाइने भनी गाउँपालिका अध्यक्षले विज्ञप्ति निकाल्नु आश्चर्यजनक भन्दै सांसद पाण्डेले मुख्यमन्त्रीले यस्ता विषयमा ध्यान पुर्‍याउनुपर्ने आग्रह गरेकी छन् ।

‘बर्दियाका कोरोना संक्रमित बिरामीलाई बर्दियामा नराखेर किन दाङ ल्याइएको भनेर विज्ञप्ति निकालिएको देखेर अचम्म लाग्यो, प्रदेश सरकारले यत्रो लगानी गरेर हस्पिटल बनाउनुको के अर्थ ? यदि अर्काे जिल्लाको नाममा बिरामी लैजान पाइँदैन भने ? यसतर्फ सबैले ध्यान दिइयोस्’ सांसद पाण्डेले भनेकी छन् ।

मुख्यमन्त्री शंकर पोखरेलले गाउँपालिकाको नाम नलिई फेसबुक स्टाटसमार्फत अस्पतालमा बिरामी राख्दा कोरोना नफैलिने भनेर प्रष्टीकरण दिएका छन् । ‘कोरोना संक्रमितलाई अस्पताल ल्याउनु भनेको सुरक्षित तरिकाले उपचार गर्नु हो, कोरोना विशेष अस्पतालवाट नेपालमा कोरोना फैलिएको छैन’ मुख्यमन्त्रीले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment