 
																			३१ वैशाख, काठमाडौं । बन्द भएको ५० औं दिनमा मंगलबार खुलेको सेयर बजार २५ अंकले ओरालो लाग्यो ।
लकडाउनका बेला पनि दैनिक २ घण्टा कारोबार गर्ने गरी खुलाएको बजार डेढ घण्टा पनि नपुग्दै कारोबारमा नेगेटिभ सर्किट ब्रेक लागेर बजार बन्द भयो । अझ बुधबार त बजार खुलेको ४० मिनेटमा नै सर्किट ब्रेक लागेर बन्द भयो ।
लकडाउनका बेला बजार धेरै घट्न सक्ने भएकाले नै नेपाल स्टक एक्सचेञ्जले २ प्रतिशत भन्दा धेरै घटबढ भए बजार सर्किट ब्रेक लाग्ने व्यवस्था गरेको छ । लगातार ठूलो अंकले ओरालो लागेपछि लगानीकर्ता डराएका छन् । केही लगानीकर्ताहरुले आफूहरुको चाहना विपरीत बजार खुलाएको भन्दै आपत्ति समेत जनाएका छन् ।
पूर्ण रुपमा अनलाइन कारोबार हुन नसक्ने भएका कारण पनि बजार खुलाउनु गलत भएको लगानीकर्ताहरु बताउँछन् । घरबाटै कारोबार (अनलाइनबाट) गराउन नसकिने भएका कारण यस्तो बेलामा बजार खुलाउन नहुने पूर्वबैंकर अनलराज भट्टराई बताउँछन् ।
बैंक र बीमा कम्पनीहरु पूर्ण रुपमा सञ्चालनमा नआएको र कारोबार राफसाफ गराउन पनि समस्या रहेको भन्दै उनले बजार अहिले बन्द हुनु नै राम्रो हुने बताए । सबै क्षेत्रमा वित्तीय पहुँच नभएका कारण पनि कारोबार गराउन समस्या भएको पूर्बबैंकर भट्टराईले बताए ।
‘अहिले कारोबार पनि राम्रो भएको छैन, खोल्न अलि हतार भएकै हो’ उनले भने, ‘नेपाल सरकार, नेपाल राष्ट्र बैंकले बजारसम्बन्धी सही नीति नलिई खुल्नु हुँदैन ।’
लगानीकर्ता ज्ञानेन्द्रलाल प्रधानले पनि यो बेला बजार खुलाएर कारोबार गराउने समय नभएको बताए । यस्तो बेलामा बजार खोल्दा ओरालो लाग्ने भन्दै उनले भने, ‘पुँजी बजार ओरालो लाग्दा अर्थतन्त्र पनि त ओरालो जान्छ नि ।’
सबै क्षेत्रलाई सहुलियत दिदा पुँजी बजारलाई छुटाउन नहुने उनले बताए । जलविद्युत् लगायतका क्षेत्रमा जस्तै पुँजी बजारमा पनि निश्चित प्रतिशत लगानी गर्नुपर्छ भन्ने नियम बनाउँदा राम्रो हुने उनले बताए ।
अर्का लगानीकर्ता सिर्जना सुवेदीले लगानीकर्तामा मनोवैज्ञानिक त्रास रहेका बेला बजार खोल्नु गल्ती भएको बताइन् । संकटका बेला लगानीकर्ताहरुलाई सम्पत्ति बेच्ने भन्दा पनि आफ्नो पोर्टफोलियो घट्छ भन्ने चिन्ता धेरै भएको उनले बताइन् । यस्तो बेलामा बजार खोलेर लगानीकर्तालाई मात्रै नभई सरकारलाई पनि नाफा नहुने बताइन् ।
‘यो बेला भनेको सुरक्षित हुने बेला हो फेरि घाटामा जाने बजार खोलेर सरकारलाई पनि त धेरै राजश्व आउदैन नि’ उनले भनिन्, ‘बजार खुलाउने होइन, कोरोनाबाट कसरी जोगिने भन्ने चिन्ता पहिलो हो ।’
धेरै लगानीकर्ताहरु लकडाउनले गाउँगाउँमा थुनिएको भन्दै उनले यस्तो बेलामा बजार खुलाउनु गलत हुने बताइन् ।
स्टक ब्रोकर एशोसिएनसनका अध्यक्ष भरत रानाभाट भने बजार घट्दैमा आत्तिनु नपर्ने बताउँछन् । केही दिनमा बजारमा सुधार हुने उनको अपेक्षा छ । नेपाली सेयर बजारमा अधिकांश हिस्सा बैंक तथा वित्तीय क्षेत्र र बीमाले ओगटेको भन्दै उनले बजार सधैं नघट्ने बताए ।
‘बीमाको कारोबार अहिले पनि भइरहेको छ, बैंकले पनि कारोबार गरिहेका छन्’ उनले भने, ‘वित्तीय क्षेत्र र बीमाको हिस्सा धेरै भएका कारण डराइहाल्नु अवस्था छैन ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4