Comments Add Comment

लकडाउनमा सुनको मूल्य कति ? व्यवसायी भन्छन्- नकिन्नोस् !

कारोबार गरिए सुनचाँदीको मूल्यले कानुनी मान्यता नपाउने

१ जेठ, काठमाडौं । दैनिक २३ करोडभन्दा बढीको व्यापार हुने सुन चाँदी व्यवसाय लकडाउन कारण ५९ दिनदेखि बन्द छ । तर, चैत ८ गतेदेखि सुनको भाउ नै तोक्न बन्द भएको अवस्थामा पनि बजारमा सुनचाँदीको सामान्य कारोबार भने भइरहेको छ ।

कतिपयले विहेका लागि भाउ नतोकिएको सुन खरिद गरेको गुनासो सुनिएको छ ।

लकडाउनमा सुनचाँदी व्यवसायको अवस्था कस्तो छ त ? यसै सन्दर्भमा नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यसँग अनलाइनखबरकर्मी नवीन ढुंगानाले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ-

देशमा लकडाउन सुरु भएको दुई महिना पुग्न लाग्यो, सुनचाँदी व्यवसायीहरु के गर्दैछन् ?

सरकारले घोषणा गरेको लकडाउन पालना गर्न देशैभरका सुनचाँदी व्यवसाय अहिले ठप्प छ । महासंघमा आवद्ध करिब १५ हजार व्यवसायी आफ्नो व्यवसाय बन्द गरेर घरमै बसेका छन् । कति साथीहरु लकडाउनअघि नै आफ्नो जन्मथलो पुगेर बसिरहेको सूचना आएको छ ।

तर, केही व्यवसायीहरुले त भित्री रुपमा सुनचाँदी बिक्री गरेको सुन्नमा आएको छ, यो साँचो हो ? लकडाउनमा फाट्टफुट्ट बिहे पनि भइरहेको सुनिन्छ…

विवाहमा निकै आपत पर्‍यो भनेर सुनचाँँदी खरिद भएको भन्ने अपुष्ट सूचना महासंघमा पनि आएको छ । तर, यसको कुनै आधिकारिकता छैन । हामीले पूर्णरुपमा व्यवसाय बन्द गरेका छौँ । सुनको भाउ तोक्न बन्द भएकै ५९ दिन भयो । महासंघले अन्तराष्ट्रिय मूल्य लिएर भाउ नतोकेकै अवस्थामा कुन मूल्यमा खरिद-बिक्री भयो हामीले पनि बुझेका छौनौँ ।

अन्तर्राष्ट्रिय बजारमूल्यका आधारमा व्यवसायीले भाउ तोक्न र कारोबार गर्न सक्दैनन् ?

सक्दैनन् । सुनको भाउ तोक्ने काम महासंघको हो । यसलाई महासंघले स्थगन गरेका बेलामा गरिने कारोबार कानुनी हुन सक्दैन र तोकिएको मूल्यको विषयमा बिक्रेता र जो ग्राहक हुन्, उनीहरु मात्रै जवाफदेही हुन्छन् ।

जस्तो- हिजोको अन्तराष्ट्रिय मूल्यमा सुनको प्रतितोला मूल्य ८६ हजार हाराहारी हुन आउँछ । अब किन्ने ग्राहकले ९० हजार तोलामा किन्यो वा ७५ हजारमा अथवा बिक्री गर्नेले कतिमा गर्‍यो ? त्यस किसिमको कारोबारको कानुनी मान्यताको वहन महासंघले गर्दैन ।

लकडाउनका बेला भएको कारोबार गैह्रकानुनी हो त ?

आपत नै परेर कारोबार भएको छ भने पनि त्यसलाई पैंचो वा काम चलाएको रुपमा भएको कारोबार मात्र होस् भन्ने महासंघको धारणा छ । अथवा, निश्चित रकम डिपोजिट गरेर अहिले सुन लैजाने, पछि भाउ निश्चित भएपछि सोहीअनुसार हिसाब गर्ने गरी भएको कारोबार आपसी सहमतिको हो, यसमा बिक्रेता र क्रेता दुवै पक्षले चिनजान र विश्वासका भरमा मात्रै कारोबार गरेका हुन्छन् ।

तर, अन्तराष्ट्रिय भाउ यति हो, चाहिन्छ भने म बिक्री गर्छु भन्दै सुन चाँदी बिक्री गर्ने वा त्यसलाई मानेर खरिद गर्ने ग्राहकको कारोबार वैधानिक होइन ।

कसैले आपत परेर सुन किन्नु वा बेच्नुपर्‍यो भने भाउ कसरी गर्ने त ?

धेरैजसो ग्राहकहरु महासंघको वेबसाइट र केही अनलाइन पोर्टलमा राखेको पुरानो भाउलाई लिएर व्यवसायीहरुसँग सोधपुछ गरिरहेको बुझिन आएको छ । अर्थात त्यो भाउ अहिलेको होइन, बजार बन्द हुँदाको दिन चैत ८ गतेको हो ।

अन्तर्राष्ट्रिय मूल्य अहिले उतार-चढावको अवस्थामा छ । हिजोको मूल्य ८६ हजार हाराहारी हो तर, ठ्याक्कै होइन । भोलि यही हुन्छ भन्ने पनि छैन । त्यसैले आपसी समझदारीमा आफूसँग पर्याप्त प्रमाण र कानुनीरुपमा बलियो भएर पैंचो वा कुनैरुपले चिनजानकै मान्छेबाट कारोवार हुन सक्छ । तर, यो धारणा महासंघको होइन, मेरो व्यक्तिगत हो । र, त्यो गर्जो टार्नका लागि मात्रै हो ।

वैशाख महिनामा लगनका बेला गत वर्ष राम्रौ कारोबार भएको थियो होला नि ? यसपालिको चाहिँ ठप्पै भयो हैन ?

अघिल्लो वर्ष वैशाखमा सरदर दैनिक ३० देखि ४० किलोसम्म सुनको कारोबार हुन्थ्यो । त्यो भनेको दैनिक २३ करोड हाराहारीको कारोबार हो । तर, अहिले त ठप्प छ ।

विलासी वस्तुको कारोबार रोकिँदा तपाईहरुलाई घाटा भए पनि राज्यको ढुकुटी त जोगियो नि होइन ? व्यवसायीको घाटा वा क्षतिको कुनै मूल्याकंन भएको छ ?

सरकारले सुनको आयातमा कोटा घटाएको छ । कारोबार खुलेको भए पहिले दैनिक २० किलो सुन आयात गर्न पाइन्थ्यो । तर, अहिले त्यो सीमा १० किलोमा झारिएको छ । मोटामोटी दुई महिनामा ६ सय किलो सुन आयात हुन्थ्यो । अर्कोतर्फ, कोटा घटाएका कारण अर्को ६ सय किलो सुन आयात हुनै पाएन । मोटोमोटी कारोबार नभएका कारण ४ अर्ब र आयात कोटाका कारण थप ४ अर्ब राज्यको ढुकुटीबाट बाहिरिन जोगिएको छ ।

तर, देशभरका १५ हजार व्यवसायीको दैनिक २३ करोडको कारोबार रोकिँदा हामी ठूलो मारमा छौँ । कर्मचारीको तलब, भाडा, बैंक ब्याज लगायतका दायित्वहरु यथावत छन् । तर, हामीले एकमुष्ट क्षतिको आँकलन गरेका छैनौँ । करोडौँको क्षति त छ नै ।

सुनचाँदी व्यवसायी अबका चुनौतीहरु के-के हुन् ?

कोरोना कहर कहिलेसम्म भन्ने अनिश्चित भएसँगै हामीले पनि योजना बनाउन छाडिसकेका छौँ । कुनै न कुनै दिन त बजार खोल्नैपर्छ । हाम्रो दायित्व र समस्या फरक-फरक गर्नैपर्छ । तर, कोरोनाका कारण अहिलेको अवस्थामा सुरक्षाको विषय मुख्य चुनौती हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment