+
+
Shares

कविता : उँधो बगेर म उकालो लाग्छु

मिजास तेम्बे मिजास तेम्बे
२०७७ जेठ ३ गते ८:२०

हुर्रिँदै भिरालोमा

च्यापिँदै खोंचहरुमा

खियाएर चट्टानहरु

छहरा भएर पहराहरुमा

कहिले जम्दै दहहरुमा

मार्दै चक्कर अप्ठ्यारा कुइनेटोहरुमा

अनि छिचोलेर नागबेलीहरु

सङ्लिँदै र धमिलिँदै

बग्नु छ अनि बगिरहनु छ ।

झरेका पातहरुलाई मात्र बगाउन पनि

पहिले त आफैं बग्नु पर्दोरहेछ

आफू बगेर मात्र अरु केही बगाउन सकिने रहेछ

बाँध बाध्छन् बगिरहन्छु

दुवाली फर्काउँछन् बगिरहन्छु

दह बनाउँछन् बगिरहन्छु

कहिले चट्टान नै अघि पर्छ, बगिरहन्छु

यो यात्रा सगरको वा सागरको ?

अनि सकिने कहिले ?

अब छाल भएर दौडन्छु

वा ज्वार भएर उठ्छु

अथवा शान्त र गम्भीर

अब बादल भएर उड्छु आकाशमा

अथवा ठोकिन्छु पहाडहरुमा

र समेटिन्छु बूँद बूँदमा

खस्छु बर्षा भएर

बग्छु फेरि नदी भएर

म नदी–

न त सुक्छु

म नदी–

न त बिलाउँछु

म नदी–

न त सकिन्छु

ओरालो बगेर मात्र नदीलाई जीवन भनिएको रहेन छ

बग्नु, बगिरहनु र

उँधै उँधो बगेर

उकालो लाग्दा पो

नदी जीवन बन्दोरहेछ

अनि

जीवन नदी बन्दोरहेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?