Comments Add Comment

दुई अध्यक्षको आँट र पहलका कारण एकीकरण अघि बढेको हो

पार्टी एकताको ऐतिहासिकता र हाम्रो जिम्मेवारी

आज नेकपा (एमाले) र नेकपा(माओवादी केन्द्र)का बीच पार्टी एकता भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको दुई वर्ष भयो । दुई भिन्न कार्यदिशा बोकेका र कतिपय अवस्थामा शत्रुतापूर्ण देखिने अन्तरविरोधको शिकार भएका पार्टीहरू बीचको एकतालाई अघि बढाउनु र सफल बनाउनु निकै कठिन र चुनौतीपूर्ण काम हो ।

बाह्रबुँदे सहमति, शान्ति सम्झौता, संविधान निर्माण र एउटै घोषणापत्रका आधारमा चुनावी गठबन्धन जस्ता सहकार्यकका श्रृङ्खलाले पार्टी एकताको आधार तयार गर्न सहयोग पुगेको हो । तर, प्रमुख रुपमा तात्कालिक नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आँट र पहलका कारणले एकीकरणको काम अघि बढ्न पुगेको थियो । पार्टी एकता भविष्य निर्माणका सन्दर्भमा दुवै पार्टी एउटै सोच र मान्यताको नजिक आएका कारणले पनि आवश्यक र सम्भव भएको थियो ।

पार्टी एकता गर्दा दुवै पार्टीका संवेदनशीलता र सवलपक्षलाई आत्मसात गर्न दुवै नेता तयार भएका कारणले पनि सहज भएको थियो । एकताका समयमा दुई अध्यक्षका बीचमा महाधिवेशनसम्म सहमतिका आधारमा अघि बढ्ने बलियो समझदारी समेत भएको थियो । तर, एकताको केही समयपछि पूर्वसमूह भित्रका अन्तरविरोध र स्वार्थ समूहको चलखेलका कारण दुई नेताको बीचको सम्बन्धमा समस्या देखियो ।

पछिल्लो समय पार्टीभित्र निकै असहज र असामान्य अवस्था समेत सिर्जना हुन पुग्यो । कार्यकर्ता पङ्क्तिसमेत विभाजित भएर सार्वजनिक बहसमा उत्रिएको अवस्था छ । पार्टी र जनसंगठनका जिम्मेवार नेताहरूसमेत समस्या समाधानका लागि अग्रसरता लिनु भन्दा विवादलाई तीव्र बनाउने काममा सक्रिय भएको अवस्था छ । शत्रुतापूर्ण ढंगले एक अर्काको विरोध गर्ने, मुख्य नेतृत्वलाई खुइल्याउने र सरकारमा रहेका र नहरेका बीचमा सरकारले गरेका कामका सन्दर्भमा आनकातान फरक विश्लेषण देखिनेजस्ता कुराहरू द्वन्द्ववादी कुरा हुन् भनेर किमार्थ स्वीकार्न सकिँदैन ।

पार्टी एकतालाई सफल बनाएर पार्टीलाई सबल र सुदृढ बनाउने हो भने पूर्वसमूहका नाममा देखिएको मनोवैज्ञानिक विभाजनलाई छिटोभन्दा छिटो मेट्ने प्रयास गरिनुपर्छ । इतिहासका प्रश्नमा अल्झनुभन्दा वर्तमानमा उभिएर भविष्यको बाटो कोर्ने काममा अग्रसर हुने हो भने धेरै समस्या हल गर्न सकिन्छ ।

आज नेकपाभित्र जुन प्रकारको समस्यालाई विधि र पद्धतिसँग जोडेर चर्चामा ल्याइए पनि त्यो मुलरुमा नेतृत्व बीचको असमझदारी, अविश्वास र त्यसको जगमा सुरु हुन खोजेको अनुचित शक्ति संघर्ष हो । त्यस अन्तरसंघर्षमा एकता प्रकृयाले सिर्जना गरेको विशेष अवस्था र उत्पन्न असन्तुष्टि र कुण्ठाले पनि काम गरेको छ । तर, यो परिस्थित पार्टी एकताको भावना र पार्टी निर्माणका लागि अत्यन्त घातक छ ।

पार्टी एकताको रक्षा गर्ने हो र पार्टीलाई सबल र सुदृढ बनाउँदै समाजवाद निर्माणको बलियो यन्त्रका रुपमा पार्टीको विकास गर्ने हो भने अहिले उत्पन्न संकटको यथाशीघ्र समाधान खोजिनुपर्छ । सचिवालयको बैठकमा दुवै अध्यक्षहरूले आ-आफ्नो कार्यशैलीमा भएका कमजोरीहरूलाई सच्चाउँदै आगामी दिनमा सहमतिका आधारमा अघि बढ्ने जुन निष्कर्ष निकाल्नुभयो । त्यसमा उभिएर अघि बढ्न सक्नुपर्छ । तर, सचिवालयको निर्णय स्थायी समितिमा पुग्न नपाउँदै नेतृत्व तहमा पुनः जुन प्रकारको असमझारी सिर्जना भयो त्यसमा केही हदसम्म मुख्य नेतृत्व नै जिम्मेवार रहेको भएपनि प्रमुख रुपमा स्थायी समितिका केही कमरेडहरूको अनुचित ढिपीले काम गरेको छ । तर, पछिल्लो समय प्रमुख नेतृत्वले देखाएको समझदारीले पुनः परिस्थित सङ्ग्लिँदै गएको देखिन्छ ।

पार्टी एकतालाई सफल बनाएर पार्टीलाई सबल र सुदृढ बनाउने हो भने पूर्वसमूहका नाममा देखिएको मनोवैज्ञानिक विभाजनलाई छिटोभन्दा छिटो मेट्ने प्रयास गरिनुपर्छ । इतिहासका प्रश्नमा अल्झनुभन्दा वर्तमानमा उभिएर भविष्यको बाटो कोर्ने काममा अग्रसर हुने हो भने धेरै समस्या हल गर्न सकिन्छ । जनताको नजरमा अहिलेको सरकारको सफलता नेकपाको भविष्यसँग जोडिएको छ । सरकारलाई कमजोर बनाएर पार्टी बलियो हुन सक्दैन । सरकारमा हुने र नहुनेको पार्टी र सरकारको कामको समीक्षा गर्ने दृष्टिकोण दुई थरी हुनुहुँदैन । किनकि सत्यता स्थापनाको मार्क्सवादी पद्धति एउटै हुन्छ ।

अर्कोतिर पार्टी एकताका बाँकी काम सम्पन्न गरेर जति छिटो भविष्यको वैचारिक राजनीतिक प्रश्न र संगठनात्मक प्रणालीको बहसमा केन्द्रीत हुन्छ त्यति छिटो पार्टी पूर्व अन्तरविरोधबाट मुक्त हुन सफल हुन्छ । एकता महाधिवेशको तयारीमा पार्टीलाई अघि बढाउने कुरा यस सन्दर्भमा उचित देखिन्छ । तर, त्यसका लागि सदस्यता नवीकरणको कामलाई भने तीव्रता दिनुपर्ने हुन्छ । किनकि सदस्यता नवीकरणको काम सम्पन्न नभई महाधिवेशनमा प्रवेश गर्न सकिँदैन ।

हामीले यतिबेला पार्टीको प्रमुख राजनीतिक कार्यदिशा आर्थिक सामाजिक विकास र रुपान्तरणका माध्यमबाट समाजवादको आधार तयार गर्ने कुरालाई आधार बनाएर अघि बढ्नुपर्छ । नेकपाको मात्र होइन, नेपालको कम्युनिस्ट आन्दोलनको भविष्य वर्तमान सरकारको सफलतासँग जोडिएको छ ।

नेकपाको नेतृत्वको सरकारलाई असफल हुने अनुमति र छुट दिन सकिँदैन । पार्टी र आन्दोलनको भविष्यसँग जोडिएको यस प्रश्नमा पार्टी र सरकार दुवै जिम्मेवार हुनुपर्छ । कोरोना महामारीका कारणले पार्टी र सरकारका काम र प्राथमिकता दुवै प्रभावित भएका छन् । यतिबेला सबै मिलेर यो महामारीलाई सामना गर्ने काम गर्नु पर्छ । कोरोना महामारीको चुनौतीबाट बाहिर निस्कने बित्तिकै सरकार र पार्टीलाई तीव्र वेगमा निश्चित लक्षमा डोहोर्‍याउनु पर्ने हुन्छ ।

यतिबेला नेकपासँग अनुभवी, क्षमतावान तथा सक्रिय नेता र कार्यकर्ताको ठूलो पङ्क्ति छ । सबैलाई एकताबद्ध रुपमा परिचालित गर्न सक्ने हो भने नेकपाले गर्न नसक्ने कुरा केही छैन । सचिवालयको नेतृत्व गरिरहनु भएका नेताहरू विशेषगरी पार्टी अध्यक्षद्वय र वरिष्ठ नेताहरूले यस काममा अग्रसरता लिनुपर्छ । सरकार र पार्टी कामका सन्दर्भमा कहाँ कसले प्रभावकारी भूमिका खेल्न सक्छ, विश्लेषण गरेर जिम्मेवारीमा हेरफेर गर्न पनि सकिन्छ । तर, त्यो गुटगत आग्रह र पूर्वाग्रहका आधारमा भने होइन।

विधिको कुरा गरिरहँदा भविष्यमा कस्तो प्रणाली र कार्यशैली स्थापित गर्ने कुरामा पनि यथोचित ध्यान दिन सक्नुपर्छ । विगतका समूहगत आग्रहबाट माथि उठ्ने आग्रह गरिरहेको बेला अहिलेको अन्तरविरोधको प्रभाव पनि देखिनुहुँदैन । नेतृत्व अहिले नै त्यस प्रकारको निर्णय गर्ने अवस्थामा पुगिनसकेको भएर केही समय लिनु उचित हुन्छ । तर, लामो समय अहिलेको समस्यालाई राखिरहनु उचित हुँदैन ।

पार्टी एकता समयको माग थियो र भविष्यको आवश्यकता हो । सहमतिका बेलामा एकताको महत्व देख्ने र विवादका बेलामा पश्चातापको अनुभूति गर्ने अवस्था राम्रो होइन । दुई ठूला भिन्नभिन्न कार्यदिशा बोकेका र नेपालको कम्युनिस्ट आन्दोलनमा आफ्नै इतिहास रचना गर्न सफल भएका पार्टीबीचको एकता सामान्य परिघटना होइन ।

हामीले पार्टी एकताको ऐतिहासिक जिम्मेवारी पूरा गरेर प्रतिकृयावादी शक्तिका सामु निकै ठूलो चुनौती खडा गर्ने काम गर्‍यो। तर, हामीले उनीहरूबाट हुनसक्ने प्रति-आक्रमणको प्रतिरक्षाको योजना बनाउने काम गरेनौं । त्यस कुरामा एकताको विलम्ब  र अन्तरविरोधले पनि एकहदसम्म नकारात्मक असर पुर्‍यायो । अहिले हामीलाई त्यो अवस्थाबाट बाहिर निक्लेर चुनौतीलाई सामना गर्नेगरी अघि बढ्ने अवसर प्राप्त भएको छ ।

कोभिड-१९ महामारीविरुद्धको सरकारको रणनीति प्रभावकारी नै देखिएको छ । सरकारको नीति तथा कार्यक्रमका माध्यमबाट जनमतलाई सकारात्मक बनाउने अवसर पनि प्राप्त भएको छ । मंसिर ४ मा सचिवालय बैठकले दुई अध्यक्षका बीचमा स्पष्ट कार्यविभाजन पनि गरेको छ । त्यसलाई विश्वासका साथ अघि बढाउने काम गर्नुपर्छ ।

यतिबेला सरकारको नेतृत्व परिवर्तनको कुरा जनचाहना र परिस्थिति अनुकूल देखिँदैन । तर, सरकारलाई थप प्रभावकारी बनाउने उपाय भने खोज्नु जरुरी छ । पार्टीलाई पनि अहिलेको जस्तो तदर्थ रुपमा सञ्चालन गर्ने कुरा उचित हुँदैन । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सरकारको काममा केन्द्रीत हुने र पुष्पकमल दाहाल प्रचण्ड कार्यकारी भूमिका सहित पार्टी काममा केन्द्रीत हुने कुरा उचित हुन्छ ।

जहाँसम्म पार्टी र सरकारले गर्ने सबै महत्वपूर्ण निर्णयहरू दुवै अध्यक्षको सहमतिमा गर्ने काम गरिनुपर्छ । यसका साथै दुवै काममा पार्टीका वरिष्ठ नेताहरूको सकृय सहभागिता सुनिश्चत गरिनुपर्छ । सचिवालयले कोर अफ दि लिडरसिपको भूमिकामा आफूलाई स्थापित गर्न सक्नुपर्छ । सचिवालयले स्थायी समिति र केन्द्रीय समितिको विश्वास हरदम हासिल गर्न सक्नुपर्छ । प्रमुख नेताहरू कोभिड-१९को महामारी रोकिएसँगै देशव्यापी रुपमा कार्यकर्ताको बीचमा पुग्ने योजना बनाउनुपर्छ ।

नेकपाको सान्दर्भिकता विगतको समीक्षाभन्दा भविष्यको योजनामा भेट्न सक्नुपर्छ । त्यसका लागि पार्टीको सैद्धान्तिक तथा वैचारिक आधार बलियो बनाउने काम गर्नुपर्छ । लक्ष र कार्ययोजना सही र सुस्पष्ट बनाउनुपर्ने हुन्छ । विश्व व्यवस्थामा आइरहेको परिवर्तनमा आधारित भएर राजनीतिक कार्यदिशालाई अघि बढाउनुपर्ने हुन्छ ।

महाधिवेशन नीति, विधि र नेतृत्व निरुपण गर्ने वैधानिक फोरम हो । तर, पहिलो एकता महाधिवेशन भएका कारणले महाधिवेशनको फोरममा प्रवेश गर्नुपूर्व हामीले धेरै गहिरो तयारी गर्नुपर्ने हुन्छ । त्यसका लागि प्रमुख नेतृत्वका बीचमा गहिरो समझदारी र संवाद आवश्यक पर्छ । यतिबेला मुख्य नेतृत्व समकालीन राजनीतिका प्रश्नहरूमा बढी अल्झनु परिरहेको अवस्थामा त्यसको पूर्वतयारीको काममा दोश्रो तहको नेतृत्वको टिमलाई जिम्मेवारी तोक्न सकिन्छ ।

केन्द्रीय कमिटीको बैठकले यो वर्षको अन्त्यसम्म महाधिवेशन गर्ने निर्णय गरिसकेको अवस्थामा हामीसँग अल्मलिने समय छैन । एकताको आवश्यकता देख्ने तर एकताको पक्षमा वातावरण नबनाउने अराजक शैली किमार्थ उचित होइन । नेपाली समाज नै विभिन्न कारणले सामाजिक अराजकताको अवस्थामा प्रवेश गर्न लागिरहेको बेलामा त्यसलाई रोक्ने जिम्मेवारी पनि पार्टीको हो ।

महाधिवेशनको तयारीसँगै सिङ्गो पार्टी त्यस दिशामा अग्रसर हुनुपर्छ । समयले हामीलाई रोजेको अवश्य हो तर यसले हामीलाई पर्खेर बस्छ भन्ने होइन । कामबाट नै हामीले आफूलाई सिद्ध गर्नुपर्छ र समयलाई पकडमा राख्न सक्नु पर्छ । समयको गतिलाई समातेर हिँड्ने कुरा समाजवाद निर्माणको हाम्रो लक्यको सफलतासँग गाँसिएको कुरा हो ।

पार्टीको एकता र भविष्यलाई सुनिश्चित र सुरक्षित गर्ने कुरा हो । पार्टी एकताको दोश्रो वर्षगाँठका उपलक्यमा सबैलाई यस दिशामा अघि बढ्न आग्रह गर्दछु ।

(नेकपा स्थायी कमिटी सदस्य पोखरेल प्रदेश ५ का मुख्यमन्त्री हुन्)

यो पनि पढ्नुहोस नेकपा एकताको दुई वर्ष : विचारमा वर्णसंकर मति, संगठनमा सर्वनाशको गति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment