Comments Add Comment

डेरामा डाक्टर र नर्सलाई अवरोध नगरौं : स्वास्थ्य मन्त्रालय

‘स्वास्थ्यकर्मीको मनोबल बढाऔं, वहाँहरुलाई सुरक्षित राखौं’

३ जेठ, काठमाडौं । महामारीका बेला अग्रमोर्चाका काम गर्ने स्वास्थ्यकर्मीलाई सबैले सम्मान र सहयोग गर्नुपर्ने हो । तर, हाम्रो समाज यति स्वार्थी र असहिष्णु बन्न थालेछ कि स्वास्थ्यकर्मीहरुलाई अस्पतालबाट डेरामा फर्कनसमेत कतिपय घरधनीले अवरोध गरेका समाचार आउन थालेका छन् ।

कोरोना महामारीका बेला आफ्नो ज्यान जोखिममा राखेर बिरामीको सेवामा लागेका स्वास्थ्यकर्मी, डाक्टर र नर्सहरुलाई डेरा वा घरमा आवत–जावत गर्न अवरोध गर्ने तथा उनीहरुलाई हतोत्साहित बनाउने कार्य नगर्न शनिबार स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भने, ‘स्वास्थ्यकर्मीहरु कोभिड १९ का विषयमा अत्यन्त जानकार हुनुहुन्छ । कोभिड १९ को नियन्त्रणमा खटिने पहिलो पंक्तिका योद्धाहरुलाई राम्ररी थाहा छ कि कसरी संक्रमणबाट जोगिने र कसरी अरुलाई संक्रमण हुनबाट जोगाउने ।’

डा. देवकोटाले अगाडि भने, ‘यो घडीमा वहाँहरुको मनोबल बढाउनुपर्छ । वहाँहरुलाई सुरक्षित राख्नुपर्छ । वहाँहरुलाई सहयोग गर्नुपर्छ । यसो गर्नुको सट्टा उहाँहरुको मनोबल गिराउने, उहाँहरुलाई असहयोग गर्ने र घरमा पस्न नदिने लगायतका कार्यहरु अवाञ्छनीय हुन् ।’

मनत्रालयद्वारा शनिबार आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता देवकोटाले गरेको आह्वान उनकै शब्दमा–

म केही अनुरोध गर्न चाहन्छु, खास गरी स्वास्थ्यकर्मीहरुलाई डेरामा बस्न अप्ठ्यारो भएको विभिन्न सञ्चारमाध्यकबाट हामीले पढ्न र सुन्न पाएका छौं ।

यस स्थितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो पंक्तिमा रहेको सबै स्वास्थ्यकर्मीहरुको परीक्षण गर्ने नीति लिएकै छ । स्वास्थ्यकर्मीहरु कोभिड १९ का विषयमा अत्यन्त जानकार हुनुहुन्छ । कोभिड १९ को नियन्त्रणमा खटिने पहिलो पंक्तिका योद्धाहरु पनि हुनुहुन्छ, उहाँहरुलाई राम्ररी थाहा छ कि कसरी संक्रमणबाट जोगिने र कसरी अरुलाई संक्रमण हुनबाट जोगाउने भनेर उहाँहरुलाई त्यो कुरा थाहा छ ।

आफ्नो घर छिमेक वरपर स्वास्थ्यकर्मीहरु, चिकित्सकहरु, नर्सहरु हुनु हामी सबै समुदायका लागि स्वास्थ्यको दृष्टिकोणले राम्रो पनि हो । विभिन्न परामर्शहरु लिन सकिन्छ ।

तपाई–हामीजस्तै नेपाली सबै दाजुभाइ दिदी बहिनीहरुको उपचारमा स्वास्थ्यकर्मीहरु, चिकित्सकहरु खटिनुभएको छ । अझ भन्ने हो भने कोभिड १९ को यो महामारीमा फ्रन्टलाइनमा खटिने भनेकै स्वास्थ्यकर्मीहरु नै हुनुहन्छ । उहाँहरुलाई हामी यदि असहयोग गर्छौं भने आफैंलाई असहयोग गरेको सरह हो । यो कुरा हामीले बुझ्न जरुरी छ ।

हाम्रोजस्तो देशमा स्वास्थ्यकर्मी, चिकित्सकहरुको संख्या नै न्यून छ । यस्तो न्यून संख्या भएको अवस्थामा पनि हामीले उहाँहरुबाटै सकेसम्म धेरै स्वास्थ्य सेवा लिनुपर्ने हुन्छ । यो घडीमा वहाँहरुको मनोबल बढाउनुपर्छ । वहाँहरुलाई सुरक्षित राख्नुपर्छ । वहाँहरुलाई सहयोग गर्नुपर्छ । यसो गर्नुको सट्टा उहाँहरुको मनोबल गिराउने, उहाँहरुलाई असहयोग गर्ने र घरमा पस्न नदिने लगायतका कार्यहरु अवाञ्छनीय हुन् । यी क्रियाकलापहरु गर्नु हुँदैन भन्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मान्यता छ ।

त्यसैले कोभिड १९ को परिपे्रक्ष्यमा र अन्य अवस्थामा पनि यसो नगरिदिनुहुन, नगराउनुहुन सम्बन्धित सबैमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हार्दिक अपिल गर्छ ।

जहाँसम्म टेस्टिङ गर्ने कुरा छ, हामीसँग उहाँहरुका लागि व्यक्तिगत सुरक्षा सामग्री पीपीई लगायतमा सामग्रीहरु र टेस्ट गर्ने किटहरु यथेष्ट मात्रामा हाललाई रहेकै छन् । त्यसले गर्दादेखि निःसन्देहका साथ उहाँहरुलाई सहयोग गर्नु हुन हामी हार्दिक अनुरोध गर्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment