Comments Add Comment

लकडाउनले बढायो मानसिक छटपटी, मनोचिकित्सक भन्छन्– आत्तिनु पर्दैन

४ जेठ, काठमाडौं । तपाईँ अहिले कहाँ हुनुहुन्छ ?

‘म साउदीबाट सर ।’

सबभन्दा धेरै डर कोरोनाको छ, अहिले ?

‘हजुर, हजुर ।’

त्यो डर हटाउन औषधि पनि खाइरहनुभएको छ ?

‘यस्तो हुन्छ भनेपछि डाक्टरले डिप्रेसनको दबाई त दिनुभएको छ, खाई पनि रहेको छु, तर कन्ट्रोलै भएको छैन ।’

तपाईँ कोठाबाट भागेको भाग्यै गर्नुहुन्छ रे, साथीहरूले तानेर ल्याउँछन्, हो ?

‘हजुर, हजुर ।’

किन भाग्नुपरेको ? छटपटी भएर ?

कोरोना लाग्नु अरू रोग लागेजस्तै हो । त्यसकारण संक्रमितलाई हीनताबोध गराउनु हुँदैन । तार्किक बनौं, मिथ्या सूचनाबाट नआत्तिऔं । – डा. विश्वबन्धु शर्मा

‘एकदमै छटपट–छटपट हुन्छ, बस्नै सक्दिनँ । टाउको, दिमागमा पनि असर पुगेको महशुस हुन्छ ।’

यस्तो छटपटी हुन थालेको कति भयो ?

‘लकडाउन सुरु भएपछि हो, धेरै आत्तिन थालेको त २०–२५ दिन भयो’

कोरोना सर्ला, अब मरिने भइयो जस्तो लाग्छ ?

‘हजुर, हजुर ।’

अरु के–के हुन्छ ?

‘यहाँबाट निस्केर घर जान नपाउने भयो । फ्लाइट नखुल्ने भयो । यस्तो पनि टेन्सन आउँछ– कोरोना यस्तै, के–के कुरा मात्रै मनमा आउँछ ।’ तपाईँहरू असुरक्षित हुनुहुन्छ त्यहाँ ?

‘हामी इल्लिगल छौं, कम्पनीको भिसावाला होइनौं ।’

किन इल्लिगल बस्या त ?

‘कम्पनीकै कारणले गर्दा यस्तो भयो । घर जान खोज्दा भिसा अनुसारको पैसा तिरेर मात्रै जाउ भन्न थाल्यो । अनि बाध्यताले अर्को कम्पनीमा काम गर्न थाल्यौ, इल्लिगल भएर बस्नुपर्‍यो । अहिले महामारीको कारणले टेन्सन हुन थाल्यो ।’

जे भए पनि आफूलाई सम्हालेर बस्नु, है त !

‘सर म त सम्हालिनै नसक्ने अवस्थामा छु, कसरी सम्हालिने होला ? छटपट–छटपट हुन्छ, भर्खरै अस्पताल जाउँ जस्तो हुन्छ । बस्दा पनि हुँदैन, उठेर हिँड्दा पनि हुँदैन, न सुत्दा निन्द्रा लाग्छ । यसमा के उपाय छ, लौ न ?’

०००

वैदेशिक रोजगारीमा रहेका एक युवकसँगको संवादको अंश हो, यो । यस्तो समस्या काठमाडौमा बस्नेहरूमा पनि देखिन्छ । उदाहरण हेरौं–

ललितपुरकी २४ वर्षीया अनिता शर्मा (नाम परिवर्तन) फेन्सी पसल संचालक हुन् । उनका श्रीमान पनि जमेकै व्यापारी हुन् । उनीहरुका एक छोरा छन् । ऋण नभएकाले किस्ता, ब्याजको चिन्ता छैन । कामै नहुँदा पनि केही वर्षलाई परिवार चल्ने बचत छ ।

नोवेल कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि ११ चैतमा लकडाउन सुरु भएयता उनीहरू घरबाहिर निस्केका छैनन् । सुरुवाती दुई हप्ता उनीहरूले रमाईलो गरी बिताए । एक किसिमले त्यो बिदा जस्तै भयो । तेस्रोपटक लकडाउन थपिएपछि भने अनितालाई छटपटी बढ्न थाल्यो ।

हंसिली स्वभावकी भनेर चिनिएकी उनलाई के हराए जस्तो, कहाँ जाउँ, के गरौं हुनथाल्यो । पहिला असाध्य मन परेको गीत सुन्दा पनि झर्को लाग्न थाल्यो । खाना नरुच्ने, निन्द्रा नलाग्ने, शारीरिक सम्पर्कमा अरुची हुने हुँदै गयो । हुँदाहुँदा मनमा आत्महत्याको सोचसम्म आउन थाल्यो ।

त्यसपछि मनोचित्सिकसंग सम्पर्क गर्दा उनलाई तीव्र तनाव विकार (एक्युट स्ट्रेस डिसअर्डर) भएको थाह भयो । लकडाउनकै बीच मनोचिकित्सकको परामर्श र उपचारबाट अहिले अनिता स्वास्थ्य लाभ गरिरहेकी छन् ।

लकडाउनमा घरभित्रै बस्नेहरू मात्र नभई ड्युटीमा जानेहरुमा पनि एक्युट स्ट्रेस डिसअर्डर (एएसडी) देखिन थालेको मनोचिकित्सकहरु बताउँछन् । त्यसको एक उदाहरण प्रहरी जवान सोभित महत (नाम परिवर्तन) ।

कोरोना विरुद्धको लडाइँमा अग्रपंक्तिमा खटिएका उनलाई लकडाउन भएको तेस्रो हप्तादेखि निन्द्रा लाग्न छोड्यो । बिना कारण डराउने, बढी रिसाउन पनि हुन थालेपछि उनी श्रीमतीको कर बलमा मनोचिकित्सकको सम्पर्कमा पुगे । अहिले उनी मनोपरामर्शसँगै डुयुटीमा जुटिरहेका छन् ।

उनले अनलाइनखबरकर्मीलाई एएसडीबारे यसरी सुनाएः

जीवन ठिकठाक चलिरहेको थियो । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि डेरामा फर्कदा घरधनीले किचकिच गर्न थाले । ड्युटीबाट लखतरान परेर फर्केका बेला उनको किचकिचले तनाव दिन्थ्यो । र पनि, आफ्नो काममा लागि रहेँ । घरबेटीको किचकिच रोकिएन । ड्युटीमा रहँदा सडकमा ननिस्कनुस्, घरभित्रै बस्नुस् भन्दा कोही नटेर्ने । त्यहीबेला सडकमा जनता पिटेको भन्दै प्रहरीको खुब आलोचना भयो । जोखिम मोलेर गरेको कामले उल्टै बद्नाम भएको देख्दा मलाई रिस उठ्न थाल्यो । हुँदाहुदा निद्रै लाग्न छाड्यो ।

अर्को उदाहरण हेरौं–

११ वर्षदेखि अमेरिका बसेका ५५ वर्षीय एक नेपाली, ‘मलाई कोरोना लागेको कन्फर्म हो, तिमीहरू नजिक नआओ, मबाट धेरैलाई कोरोना सरिसकेको छ’ भनेर बर्बराईरहन्छन् । सास फेर्न गाह्रो भयो, औंलाले थिचेको खुट्टा रातो भयो भनिरहन्छन् ।

आफू कार्यरत कम्पनीमा एक जनालाई संक्रमण भएको सुनेपछि उनले आफूलाई पनि कोराना लागेको ‘कन्फर्म’ गरेका हुन् । जबकि, उनी संक्रमित नभएको चाहिँ कन्फर्म भएको पारिवारिक स्रोत बताउँछ ।

लकडाउनको समयमा समस्या देखिएका माथिका चारै जनामा त्यसअघि कुनै मानसिक बिकार थिएन ।

नेपालमा कोभिड– १९ देखिन थालेपछि आफ्नो टेलिफोन नम्बर सार्वजनिक गरेका मनोचिकित्सक रितेश थापा अहिले अनलाइनबाट समेत गरी दैनिक ४० जनासम्मलाई परामर्श दिइरहेका छन् ।

दैनिक ८–१० जनाले भेटेरै परामर्श लिइरहेको डा. थापा बताउँछन् । अन्य मनोचिकित्सकले पनि आफुले जतिनै बिरामीलाई हेरिरहेको उनले बताए ।

कमाई–धमाई रोकियो, एक्लो परियो, यो लकडाउन कहिले खुल्छ भन्ने कुराले धेरैलाई आफैंं पिरोलेको देखिन्छ’, डा. थापा भन्छन्, ‘यसवीचमा केहीमा त साइकोसिस तहको मानसिक समस्या पनि देखिएको छ ।’

उता संक्रमण रोग विशेषज्ञ डा. अनुप सुवेदीकहाँ दैनिक पुग्नेमध्ये आधामा मानसिक तनाव देखिएको छ । हिजोआज निन्द्रा लागेन, छाती दुख्छ, जिउ दुख्छ भन्दै जचाउँन आउनेमध्ये आधामा केही शारीरिक खराबी नदेखिने गरेको डा. सुवेदी बताउँछन् ।

अनि किन नहोस् मानसिक समस्या ?

‘पहिलोपटक यति लामो समय घरमा थुनिएर बस्नु परेको छ, बाहिर लकडाउन छ, मास्क लगाएर हिँडेका छन्, यतिको मृत्यु, उती जनामा संक्रमण भन्ने समाचार पढेको छ, घरमा, टेलिफोनमा कोरोना–कोरोना भनेको छ, अनि हुँदैन त मानसिक समस्या ?’

यो मनोविश्लेषक वासु आचार्यको भनाइ हो ।

नियमित मनोपरामर्श दिइरहेका उनी नयाँ परिस्थितिमा सहज समाहित हुन नसक्नेहरूमा एएसडिको समस्या देखिएको बताउँछन् । कोरोनाका कारण कसैले पनि नसोचेको परिस्थिति आएपछि सम्हालिन गाह्रो हुनेहरूमा यस्तो समस्या देखिएको हो ।

‘खुशी हुन बाहना चाहिन्छ र हरेक मान्छेको खुशी हुने क्षमता फरक हुन्छ, आफूले भनेजस्तो नभइरहँदा साँच्चै गाह्रो हुन्छ’ डा. आचार्य भन्छन्, ‘एउटालाई सामान्य लागेको कुराले अर्कोलाई लौ बर्बादै भयो भन्ने पारिरहेको हुन्छ ।’

दुखेको मनलाई मल्हम

नेपालमा दैनिक कोरोना संक्रमण बढेको समाचार आइरहेको छ । बाहिरका देशमा कोरोनाका कारण मन्त्रीले आत्महत्या गरेको, डाक्टर–नर्स मरेको समाचार आइरहेको छ । यस्तो बेलामा मानसिक समस्या देखिनुलाई स्वभाविक मान्छन्, बरिष्ट मनोचिकित्सक विश्वबन्धु शर्मा ।

महामारीका बेलामा साथीभाइ, घरपरिवार, कार्यालय वा आफन्तले गर्ने स–साना व्यवहारले पनि ठूलो असर पार्न सक्ने उनको भनाइ छ । कोरोनाका कारण दुरी कायम गर्नु पर्दा पनि मानिसहरुको दिमाग खज्बजिएको डा. थापा बताउँछन् ।

‘हामी नजिकको मान्छेसित अंकमाल गथ्र्यो, साथीभाइसँग आत्मीयताको हात मिलाउँथ्यो, अहिले त्यसो गर्न पाइँदैन’ उनी भन्छन्, ‘सामान्य लाग्ने यस्तो कुरामा हाम्रो दिमाग अभ्यस्त भइसकेको छैन ।’

संक्रमित वा आइसोलेसन/क्वारेन्टाइनमा बसेकालाई विभेद महसुस हुने व्यवहार विल्कुलै गर्न नहुने डा. शर्माको सुझाव छ । मान्छेहरू किन मेरो नजिक परिरहेका छ्रैनन्, मबाट अरुलाई कोरोना सर्ने भयो भन्ने सोचीरहेकाप्रति सावधानीपूर्वक व्यवहार गर्न उनी सुझाउँछन् ।

उनका अनुसार, कोरोना लाग्नुभनेको अरु रोग लागे जस्तै हो, त्यसकारण संक्रमितलाई हीनताबोध गराउनुहुँदैन । डा. शर्माको अर्को सुझाव छ– तार्किक बनौं, मिथ्या सूचनाबाट नआत्तिऔं ।

‘मकहाँ आउने कतिपय मानिस नेपालमै दुई सयभन्दा बढी संक्रमित भए रे भन्दै आत्तिएका हुन्छन्’, डा. रितेश थापा भन्छन्, ‘संक्रमित होइन, परीक्षण बढेकाले धेरै देखिएको मात्र हो भन्ने सोचे यस्तो आतेस स्वत कम हुन्छ । फेरी, कोरोना लाग्दैमा कोही मर्दैन ।’

दम्बिँदो लकडाउनमा कोही छटपटी मान्ने, आत्तिने गरे परिवारका सदस्यले एकदमै भरोसापूर्ण व्यवहार गर्नुपर्ने चिकित्सकहरू बताउँछन् । त्योसँगै मनोविश्लेषकको परामर्श लिँदा उत्तम हुने उनीहरुको भनाइ छ । ‘यो पागल हुन लाग्यो कि क्या हो, कस्तो सानो मन गरेको भनेर हप्कीदप्की गर्नुहुँदैन’, मनोविश्लेषक वासु आचार्य भन्छन् ।

मानसिक स्वास्थ्य अभियन्ता जगन्नाथ लामिछाने योबेला सरकारदेखि सर्बसाधारणसम्मले ठुलो चित्त बनाउनुपर्ने, नाफा–घाटा, आम्दानी सोचेर बस्न नहुने बताउँछन् । ‘सिंगो मानव समुदाय एक प्रकारको पुनःस्थापनामा छौं अहिले’, उनी भन्छन्, ‘यस्तो बेला कोभिड– १९ अघिको कुरा सोचेर किन खिन्न बन्ने ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment