Comments Add Comment

कोरोना भाइरस : शत्रुसँग लड्ने मात्र होइन, साथमा जिउनु पनि पर्छ

कोरोना भाइरसको संक्रमण कहिले कम होला ? यसको खोप कहिले बन्छ होला ? के यो पूर्णत: नियन्त्रणमा आउँछ ?

यो प्रश्न अहिले विश्व मानव समुदायमाथि उठिरहेको छ । आँखाले देख्नै नसकिने भाइरसले मानव जातिमाथि नै धावा बोलिरहेको छ। विश्वमा यसले ठूलो उथलपुथल ल्याइदिएको छ । यसले मान्छेको स्वास्थ्यलाई मात्र आक्रमण गरिरहेको छैन, कृषि, उद्यम, व्यवसाय एवं समग्र अर्थतन्त्रमाथि खतरनाक प्रहार गरिरहेको छ । अब विश्व समाज कसरी तङ्ग्रिन्छ ? यसको जवाफ पनि अनिश्चित छ ।

भोलि के होला ? मानव समुदाय कसरी सामान्य दिनचर्यामा फर्किनेछन् ? अहिले अनुमान गर्न सकिने स्थिति छैन ।

वैज्ञानिकहरूले भनिरहेका छन्, कोरोना भाइरस पूर्णत: निर्मूल हुने सम्भावना छैन । यो भाइरस त्यसरी नै मानव समुदायसँग टाँसिएर बस्नेछ । जसरी एड्स जस्ता रोगहरू बसेको छ । कोभिड-१९ को संक्रमण फैलाउने यो भाइरस पूर्ण रुपमा नियन्त्रणमा आउने सम्भावना न्यून छ ।

यो भाइरस तीव्र गतिमा फैलिँदैछ र यसले विश्वलाई पिरोल्दैछ । तर, यो जति तीव्रताका साथ फैलिँदैछ । यसबाट हुने मृत्यदर भने एकदमै न्यून छ । अहिलेसम्मको आँकडामा मृत्युदर दुई प्रतिशत मात्र छ । अधिकांश त निको भएर घर फर्किसकेका छन् । यस हिसाबले भन्न सकिन्छ, यो भाइरस आफैँमा शक्तिशाली भने छैन । कमजोर नै छ ।

तर, यो भाइरस अनियन्त्रित रुपमा फैलिइरहँदा विश्व समुदायको जन-जीविकालाई असहज बनाउने जोखिम छँदैछ । विश्वका थुप्रै मुलुक अहिले लकडाउनको स्थितिमा छ । उद्योगधन्दा, खेतीकिसानी, व्यवसाय सबै ठप्प जस्तै छ । अर्थात् अहिले विश्व नै अनुत्पादक अवस्थामा छ । यसले भोलिका दिनमा खाद्य संकटदेखि महँगीसम्मको जोखिमको संकेत गरिसकेको छ ।

कोरोना भाइरसको संक्रमण यही स्थितिमा रहेमा लकडाउन नै गरेर सबैजना घरभित्र बस्न सम्भव छ ?

कोरोना भाइरस नियन्त्रणमा अएन भने घरभित्रै बस्न सम्भव छैन । जन-जीविकाका लागि सबैले आ-आफ्नो कामधन्दामा फर्किनुपर्नेछ । तर, के यो जोखिमरहित हुन सक्छ ?

जोखिमरहित तबसम्म हुँदैन, जबसम्म हामीले उच्च सर्तकता एवं सावधानी अपनाउने छैनौं । जस्तौ शारीरिक दुरी कायम गर्ने, व्यक्तिगत सरसफाइदेखि सुरक्षात्मक व्यवस्था अपनाउने । संक्रमणको जोखिमलाई मध्यनजर गरेर सोही अनुसार हामीले आफ्नो जीवनशैली परिवर्तन गर्नुपर्ने हुन्छ । अर्थात् कोरोना भाइरसको संक्रमणअघि हामी जस्तो जीवनशैली अपनाइरहेका थियौं, त्यो पूर्णत: जोखिमपूर्ण र गलत हुनेछ ।

त्यसैले शारीरिक सफाइदेखि शारीरिक दुरीसम्मका कुरा पालना गरेर सामान्य दिनचर्यामा फर्किनुपर्ने हुन सक्छ । साथसाथै पोषिलो एवं स्वस्थ्यकर खानपान, शारीरिक सक्रियता, व्यायाम, योग, ध्यान, सकारात्मक चिन्तन जस्ता शर्तहरूलाई पूर्णत: पालना गर्नुपर्नेछ ।

यसको अर्थ के भने अब हामीले कोरोनाविरुद्ध लड्ने मात्र होइन, साथमा बाँच्ने पनि अभ्यास गर्नुपर्ने हुन सक्छ । तामासी बन्दै गएको मानव समुदायको लागि यो एक नियन्त्रकको रुपमा देखिनेछ । मानव जातिले आफ्नो जीवनशैलीलाई सही बाटोमा डोहोर्‍याउने यत्न गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment