Comments Add Comment

हेल्लो सरकार, यही हो त क्वारेन्टाइन ?

कपिलवस्तुको क्वारेन्टाइनमा मान्छे ७ हजार, जाँच न्यून

४ जेठ, कपिलवस्तु । भारतबाट आएका वा स्थानीय व्यक्तिमा कोरोना संक्रमणको आशंका देखिए क्वारेन्टाइनमा बस्नुपर्ने नियम छ । त्यस्ता क्वारेन्टाइनस्थल विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार हुनुपर्छ । आशंकित व्यक्तिहरु घरमा भन्दा क्वारेन्टाइनमा बस्दा स्वास्थ्यकर्मीको निगरानी हुने र अरुलाई सार्ने सम्भावना कम हुने भएकैले शायद क्वारेन्टाइनमा बस्न भनिएको हो ।

क्वारेन्टाइनस्थलमा पर्याप्त स्वास्थ्य सुविधा वा निगरानी हुन सकेको भए प्रदेश ५ अन्तरगतको बाँके जिल्लामा आइतबार बिहानै २५ वर्षीय संक्रमित युवकले ज्यान गुमाउनुपर्ने थिएन कि ? क्वारेन्टाइनमा रहँदा स्वास–प्रश्वासमा समस्या आए पनि अस्पताल लगिएन र क्वारेन्टाइनमै उनले ज्यान गुमाए । र, उनी नेपालमा मृत्यु हुने दोस्रो कोरोना संकमित बन्न पुगे ।

बाँकेमा भारतबाट आएका ती युवकलाई राखिएको क्वारेन्टाइनस्थल कस्तो थियो, त्यसको यथार्थ विवरण पक्कै आउला । तर, यहाँ मुख्यमन्त्री शंकर पाखेरेलकै नेतृत्वको प्रदेश ५ को अर्को जिल्ला कपिलवस्तुमा क्वारेन्टाइनको अवस्था कस्तो छ भन्नेबारे चर्चा गर्ने प्रयास गरिएको छ ।

लकडाउनका बेला सत्तारुढ नेकपाको व्यवस्थापन गर्न काठमाडौं पुग्ने मुख्यमन्त्री पोखरेलले आफ्नै प्रदेशको व्यवस्थापनमा चाहिँ के कति काम गरेछन् भन्ने कपिलवस्तुको अवस्थाले छर्लङ्ग पारेको छ ।

कपिलवस्तुमा अहिले ७७ जिल्लाकै सबैभन्दा बढी अर्थात् ७ हजार ८ जनालाई क्वारेन्टाइनमा राखिएको छ । वैधानिक र अवैध रूपमा भारतबाट नेपाल प्रवेश गर्नेहरूलाई १० वटा पालिकाले स्थापना गरेका क्वारेन्टाइनहरूमा खाना खुवाएर राखिएको छ

र, कोरोना रोकथामका लागि पर्याप्त तयारी गरेको दाबी गर्ने संघीय सरकारको क्षमता पनि कपिलवस्तुको सीमा क्षेत्रमा पटाक्षेप भएको छ । स्थानीय तहहरुले आफ्नो क्षमताले भ्याए अनुसारको व्यवस्थापन गरे पनि प्रदेश र संघबाट कुनै सहयोग पाएका छैनन् ।

क्वारेन्टाइनमा ७ हजार, जाँच न्यून

प्रदेश ५ मा सबैभन्दा बढी कोरोना संक्रमित कपिलवस्तुमा देखिएका छन् । देशकै रेडजोनमा रहेको कपिलवस्तुमा बाँके र रुपन्देहीपछि मात्र कोरोना देखिएको थियो । तर, तीन साताभित्र प्रदेशकै उच्च जोखिममा परेको कपिलवस्तुमा आइतबारसम्म ४३ जना संक्रमित फेला परेका छन् ।

देशमै पहिलो पटक स्वास्थ्यकर्मी, सुरक्षा अधिकृतहरु तथा सरकारी कर्मचारीहरु हुँदै कपिलवस्तुमा दोस्रो चरणमा कोरोना संक्रमण फैलिइसकेको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार लकडाउन घोषणा गरिएयता वैधानिकरुपमा ६ हजार ९७४ जना नागरिक भारतीय सीमाबाट कपिलवस्तु प्रवेश गरेका छन् । करिब १ हजार बढी मानिसहरु खुला सीमानाबाट अवैध रुपमा नेपाल प्रवेश गरेका छन्, जसको तथ्यांक वा सम्पर्क प्रशासनसँग छैन ।

कपिलवस्तुमा अहिले ७७ जिल्लाकै सबैभन्दा बढी अर्थात ७ हजार ८ जनालाई क्वारेन्टाइनमा राखिएको छ । वैधानिक र अवैधरुपमा भारतबाट नेपाल प्रवेश गर्नेहरुलाई १० वटा पालिकाले स्थापना गरेका क्वारेन्टाइनहरुमा खाना खुवाएर राखिएको छ ।

यीमध्ये १६ सय ४१ जनालाई क्वारेन्टाइनबाट डिस्चार्ज गरिएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । अहिलेसम्म क्वारेन्टाइन बसेका ११ सय १० जनाको मात्र र्‍यापिड टेस्ट भएको छ भने ९२९ जनाको पीसीआर टेस्ट गरिएको छ । तीमध्ये ४२ जनालाई कपिलवस्तुमा र एक बालिकालाई काठमाडौंमा कोरोना संक्रमण देखिएको हो ।

अझै क्वारेन्टाइनमा बसेका ६ हजार बढीको पीसीआर जाँच गरिएको छैन ।

सीमानाबाट अवैध प्रवेश जारी

सरकारले चैत ११ गतेदेखि लकडाउन घोषणा गरेलगत्तै भारतमा रोजगारी गर्नेहरु धमाधम नेपाल प्रवेश गर्न थाले । केही वैधानिक बाटो हुदै आए भने केही खुला सीमानाबाटै नेपाल छिर्न थाले ।

लगत्तै जिल्लाको ९७ किमी लामो सीमानामा सशस्त्र प्रहरीका ६५ वटा पोष्ट र नेपाल प्रहरीका १९ वटा प्रहरी चौकी स्थापना गरियो । हाल १७ सय सुरक्षाकर्मी सीमानामा खटिएका छन् ।

तर, प्रशासनको तथ्यांकअनुसार लकडाउनयता मात्रै जिल्लामा ८ हजार ६ सय ४९ जना प्रवेश गरेका छन् । तीमध्ये ८ हजार ६ सय २१ जना भारत र बाँकी अन्य मुलुकबाट आएका हुन् ।

तर, सुरक्षा श्रोतका अनुसार त्यसबाहेक १ हजार बढी मानिसहरु खुला सीमानाबाट नेपाल प्रवेश गरेका छन् । उनीहरु न त क्वारेन्टाइन बसेका छन्, न उनीहरु जाँचको दायरामा आएका छन् । क्वारेन्टाइन बाहिर रहेका ती एक हजार व्यक्तिहरुबाट समुदायमा थप संक्रमण फैलन सक्ने उच्च जोखिम देखिएको छ ।

आत्मघाती क्वारेन्टाइन

कपिलवस्तुका १० वटा स्थानीय तहले ७ हजार ४ सय १५ जना अटाउने क्वारेन्टाइन निर्माण गरेको प्रशासनको तथ्यांक छ । राजमार्ग किनारका क्वारेन्टाइन केही व्यवस्थित छन् भने हुलाकी तथा सीमाना छेउका क्वारेन्टाइनको अवस्था दयनीय छ ।

नेपालमै सबैभन्दा बढी ७ हजार मानिसलाई क्वारेन्टाइन राखिएको जिल्ला कपिलवस्तुमा क्वारेन्टाइनको अवस्था र मापदण्ड हेर्न सक्ने निकायसमेत छैन । अव्यवस्थित क्वारेन्टाइनमा बसेका ९० प्रतिशतको अझैसम्म कोरोना सम्बन्धी जाँच गरिएको छैन ।

क्वारेन्टाइनको एउटै कोठामा १५ देखि २५ जनासम्म राखिएको छ । सुत्ने, खाने र स्वास्थ्य उपचारको अवस्था निकै दयनीय छ । कतिपय स्थानमा त पाल टाँगेर क्वारेन्टाइन बनाइएको छ । उनीहरुलाई घर परिवारले खाना लिएर आउने, कपडा लत्ता धोइदिने र विस्तरा ल्याइदिनेसमेत गरेका छन् । केही मानिसहरु क्वारेन्टाइनस्थल वरपरका चिया पसलहरुमा जाने– आउने गर्छन् ।

कपिलवस्तुमा मापदण्डविना बाध्यताले निर्माण गरिएका ती क्वारेन्टाइनहरु कोरोनाको एम्बुस बन्दै गएको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

‘सामाजिक दुरी छैन, सबै सँगै हुन्छन् । बाहिर जान्छन्, घुम्छन्, शौचालय–स्नान सबैमा छैन, अवस्था सोचेकाभन्दा गम्भीर छ’ ,महाराजगञ्जमा कार्यरत एक स्वास्थ्यकर्मीले भने ।

एउटा क्वारेन्टाइनमा एकजनामा मात्र कोरोना संक्रमण भएमा त्यहाँ बसेका २० प्रतिशतलाई सहजै सर्न सक्ने स्वास्थयकर्मीहरुकै दाबी छ ।

क्वारेन्टाइन बसेकाहरुलाई केही जनप्रतिनिधिको सिफारिसमा घरसमेत लाने गरेको हुँदा समुदाय पनि जोखिममा रहेको पाइन्छ । हाल क्वारेन्टाइन बसेका ७ हजार जना सबै भारतबाट आएका हुन् ।

सतर्कतामा लापरबाही

गत मंगलबार कपिलवस्तुको तौलिहवा अस्पतालमा कार्यरत स्वास्थ्कर्मीमा कोरोना संक्रमण देखियो । लगत्तै बुधबार कृष्णनगरमा खटिएका प्रहरी नायव निरीक्षक, प्रहरी हवल्दार, शशस्त्र प्रहरी नायव निरीक्षक र एकजना गुप्तचरमा समेत कोरोना संक्रमण देखियो ।

सोही दिन कृष्णनगर नगरपालिकामा कार्यरत प्राविधिक र कार्यालय सहायकलाई संक्रमण पुष्टि भयो । संक्रमितको पहिलो सम्पर्कमा आउने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरु मात्र नभई कर्मचारीसमेत यसबाट प्रभावित भएका छन् ।

तर, संक्रमणको अवस्थापश्चात पनि कपिलवस्तुमा स्वास्थ्य सुरक्षामा सर्तकता अपनाइएको छैन । यसमा चरम लापरवाही गरिएको छ । संक्रमित स्वास्थ्यकर्मीलाई तौलिहवा अस्पताल राखिएको छ भने उनका परिवारलाई पनि क्वारेन्टाइनमा राखिएको छैन ।

संक्रमित प्रहरीको सम्पर्कमा आएका अन्य सुरक्षाकर्मीहरु पनि क्वारेन्टाइन बसेका छैनन् । जनशक्ति अभाव भन्दै उनीहरु सुरक्षामै खटिएका छन् ।

बिरामीको उपचार, पीसीआर जाँच र सुरक्षामा खटिएका स्वास्थ्यकर्मी अनि विना सुरक्षा उपकरण फिल्ड हिँड्ने सञ्चारकर्मीहरुले लापरवाही गर्दा समुदाय तहमा कोरोनाको संक्रमण बढेको छ ।

भारतीय सवारी चालक पनि

लकडाउनका क्रममा भारतबाट अत्यावश्यक तथा खाद्यान्नहरु नेपाल आयात भइरहेका छन् । कृष्णनगर भन्सारका अनुसार दैनिक सरदर ५० वटा मालवाहक सवारी साधन खाद्यान्न लिएर नेपाल प्रवेश गर्छन् ।

कृष्णनगर नगरपालिकाले भारतबाट आएका सवारी साधनहरुलाई स्यानिटाइज गरेर प्रवेश गराए पनि सवारी चालकहरुको स्वास्थ्य भने कसैले जाँच गर्दैन । उनीहरुको पीसीआर वा आरडीटी जाँच हुँदैन । उनीहरु नेपालका विभिन्न स्थान जान्छन् । बाटोमा खाजा, खाना खान्छन्, बस्छन् र आर्थिक कारोबार गर्छन ।

यसरी सवारीसहित निर्वाधरुपमा नेपाल प्रवेश गर्ने त्यस्ता भारतीय सवारी चालक, सहचालकबाट पनि समुदायमा कोरोनाको त्रास बढेको छ ।

कृष्णनगरको सीमाक्षेत्रमा खटिएका सुरक्षाकर्मीहरुलाई सोही माध्यमबाट कोरोना संक्रमण भएको अनुमान गरिएको छ । सुरक्षाकर्मीमा कोरोना देखिएपछि कृष्णनगर भन्सारमा कार्यरत कर्मचारीहरुले पनि जाँचको माग गरेका छन् ।

कपिलवस्तुमा गत बैशाख २५ गतेबाट कोरोना संक्रमित देखिन थालेको हो । सुरुमा २ जनाबाट देखिएको संक्रमितको संख्या ४३ पुगेको छ । क्वारेन्टाइनमा बसेकाहरुमध्ये अझै ९० प्रतिशतको जाँच बाँकी रहेको हुँदा यो संख्या धेरै बढ्ने स्वास्थकर्मीहरुको विश्लेषण छ ।

वैध बाटोबाट मात्रै प्रवेश गराई अवैध प्रवेशमा नियन्त्रण गर्नुपर्ने र त्यसरी प्रवेश गरेकाहरुको तत्काल खोजी गरी जाँच गरिनुपर्ने नागरिक अगुवा विजय प्रकाश जैसवाल बताउँछन् ।

त्यसैगरी क्वारेन्टाइनलाई मापदण्डअनुसार व्यवस्थापन गर्नुपर्ने र स्रोतका लागि संघीय सरकारले सहयोग गर्नुपर्ने स्थानीयको माग छ । लकडाउन पालना, क्वारेन्टाइन बसेकाहरुको तत्काल जाँच, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले उच्च सर्तकता अपनाउनुपर्ने र भारतबाट आउने मालवाहक साधनका चालकहरुको जाँच गरेर मात्र प्रवेश गराउन सके कोरोना संक्रमणको अवस्था केही घटाउन सकिने स्वास्थकर्मीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment