Comments Add Comment

वीरगञ्जका संक्रमितलाई भोजन खुवाउने जिम्मा सानो पाइलाले लियो

४ जेठ, वीरगञ्ज । वीरगञ्जमा उपचाररत कोरोना संक्रमित बिरामीलाई भोजन तथा खाजा खुवाउने जिम्मा एक सामाजिक संस्थाले लिएको छ ।

अस्पतालको आइसोलेसनमा रहेका बिरामीहरुले पोषणयुक्त भोजन नपाएको गुनासो आएपछि त्यसको व्यवस्थापन गर्ने जिम्मा सामाजिक संस्था सानो पाइलाले लिएको हो ।

संक्रमित बिरामीले पोषणयुक्त भोजन नपाएको गुनासो गर्दै अस्पतालमा उपचाररत एक जना संक्रमित पत्रकारले चाउचाउ खाएर हामी कोरोनासँग लड्दैछौं भनेर स्वास्थ्यमन्त्रीलाई पत्र लेखेको समाचार समेत सार्वजनिक भएको थियो ।

कोरोना संक्रमितका लागि खाना र खाजाको व्यवस्थापन गर्ने जिम्मेवारी सानो पाइला नामक सामाजिक संस्थालाई दिइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए ।

संस्थाले पनि संक्रमितहरुलाई खाना र खाजाको व्यवस्थापन गर्ने इच्छा देखाएका कारण त्यसको व्यवस्थापन गर्ने जिम्मेवारी दिइएको बस्नेतले बताए ।

आइसोलेसनमा रहेका बिरामीलाई खाना र खाजा खुवाउन आफूहरु तयार रहेको सानो पाइलाका प्रमुख कार्यकारी अधिकृत कञ्चन झाले जानकारी दिए । झाले भने, ‘विश्व स्वास्थ्य संगठनको मापदण्ड र राष्ट्रिय कार्यविधि अनुसार चार समयमा भोजन तथा खाजा उपलब्ध गराउने विषयमा तयारी भइरहेको छ । सोमबार बिहानदेखि संक्रमितहरुलाई खाना तथा खाजा खुवाउने गरी अहिले काम भइरहेको छ । यसविषयमा अस्पताल प्रशासन, जिल्ला प्रशासन कार्यालय पर्सा र वीरगञ्ज महानगपालिकासँग मौखिक सहमति भइसकेको छ । भोलि नै यस विषयमा लिखित सहमति पनि हुने छ ।’

सानो पाइलाले नारायणी अस्पताल र सिद्धार्थ माविको आइसोलेसन कक्षमा रहेका संक्रमितहरुलाई खाना तथा खाजा खुवाउन सकिने बताएको छ ।

नारायणी अस्पतालमा ७१ र सिद्धार्थ माविमा २६ जना संक्रमित उपचाररत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment