Comments Add Comment

सीमामा तारबार लगाउनु मधेसीको हितमा छैन : महेन्द्र राय यादव

फाइल तस्वीर

५ जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टी राजपा नेपालका नेता महेन्द्र राय यादवले सीमामा तारबार लगाउने विषय मधेसी जनताको हितमा नभएको टिप्पणी गरेका छन् ।

‘सीमामा तारबार लगाउने जताबाट जे कुरा आएको छ मलाई लाग्छ त्यो नेपालको राष्ट्रियताको लागि, मधेसको जनताको लागि हितकर छैन’ सोमबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि बोल्दै नेता यादवले भने ।

यादव सर्लाही २ बाट संघीय संसदमा प्रतिनिधित्व गर्छन् ।

केही दिनअघि पूर्वप्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सधैँ विवाद गरिरहनु भन्दा सीमामा तारबार वा पर्खाल लगाउन आवश्यक रहेको बताएका थिए ।

कतिपय सांसदले सीमामा तरबार लगाउने र पर्खाल लगाउने भए आफ्नो तलब दिने घोषणासमेत गरिरहेका छन् ।

त्यसप्रति लक्षित गर्दै नेता यादवले मधेसी जनताको राष्ट्रियतामाथि प्रश्न नउठाउन आग्रह गरे । ‘५८ प्रतिशत तराई मधेशको भूभागमा त्यहाँको मधेसी जनताले खुन बगाउँछ । पसिना बगाउँछ । हामी त्यहाँ लड्छौं । हामीमाथि यत्रो राष्ट्रियताको प्रश्न खडा गर्ने हो ?’ यादवले भने ।

आफूहरु पनि नेपालको भूमि मिचिन नहुने भन्ने पक्षमा रहेको उनले बताए ।

‘९८ प्रतिशत सीमा समस्या मिलिसक्यो’

नेपाल र भारतका बीचमा रहेका सीमा समस्याहरुमध्ये ९८ प्रतिशत मिलिसकेको नेता यादवको भनाइ छ ।

तर, मिलिसकेको विषयमा दुवै देशले हस्ताक्षर नगरेको भन्दै उनले असन्तुष्टि राखे । ‘दुवै देशका बीचमा ९८ प्रतिशत सहमति भइसकेको विषयमा दुइटै देशले हस्ताक्षर किन गर्दैन ?’ यादवको प्रश्न छ ।

बाँकी २ प्रतिशत कालापानी र सुस्तामा रहेको उल्लेख गर्दै उनले सरकारलाई दुई ठाउँको समस्या समाधान गर्नेगरी पहल गर्न आग्रह गरे । नेपालमा कालापानीबारेमा मौसमी राष्ट्रवाद रहेको उल्लेख गर्दै उनले सरकारलाई मौसमी राष्ट्रवादमा नअलमलिएर सीमा विवाद समाधान गर्ने गरी पहल गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment