Comments Add Comment

‘देशको सेवा गर्दागर्दै कोरोना संक्रमित भएछु’

५ जेठ, वीरगञ्ज । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि फ्रन्टलाइनमा खटिने सुरक्षाकर्मीमा समेत कोरोना संक्रमण देखिन थालेको छ ।

कपिलवस्तु, काठमाडौं र बारामा कार्यरत सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको हो । पछिल्लो पटक बाराको मुद्दा फाँटमा कार्यरत एक प्रहरी जवानमा जेठ ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी अहिले कलैयास्थित कोरोना अस्पतालको आइसोलेसन कक्षमा उपचाररत छन् । उनी रौतहटको फतुवाविजयपुर–२ घर भएका २९ वर्षीय प्रहरी जवान हुन् ।

आइसोलेसन कक्षमा उपचाररत संक्रमित प्रहरी जवानसँग अनलाइनखबरकर्मी सुरेश विडारीले गरेको कुराकानीको सम्पादित अंश :

जेठ ३ गतेको दिन ड्युटीमै थिएँ मोटरसाइकलमा रौतहटको एक घटनास्थलतर्फ जाँदै थिएँ । त्यहीबेला एकाएक मोबाइलमा घण्टी बज्यो । मोटरसाइकल रोकेर मोबाइल उठाएँ ।

फोन वीरगञ्जस्थित नारायणी अस्पतालबाट आएको रहेछ । फोन गर्ने व्यक्तिले तपाईं जहाँ हुनुहुन्छ, त्यहीँ बस्नुहोला भनेर भन्नुभयो । तर कुरा स्पष्ट थिएन । त्यसपछि म आफैंले भनिदिएँ, मेरो रिपोर्ट पोजेटिभ आएको भए पोजेटिभ आएको छ भन्नुस् न । यसमा अप्ठ्यारो मान्नु पर्दैन ।

त्यसपछि फोन गर्ने व्यक्तिले तपाईंको रिपोर्ट पाजेटिभ आएको छ भन्नुभयो । मैले, म प्रहरीको जवान हुँ । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत छु । त्यसैले म आफैं आउनु परे पनि अस्पताल आउँछु भनेँ । फोन राखेपछि घटनास्थल नगई अफिस फर्किएँ ।

मैले भाइरस घरबाट ल्याएको पनि होइन । विदेशबाट ल्याएको पनि होइन । उहाँहरु जस्तै गरी काम गर्दा गर्दै देशको सेवा गर्ने क्रममा संक्रमित भएको हुँ । तर डाक्टरहरुले बुझ्नु भएन ।

वैशाख ३१ गते थुनुवा लिएर वीरगञ्ज गएको थिएँ । वीरगञ्ज आएको बेला परीक्षण गराएर जाउँ भन्ने लाग्यो । पछिल्लो समय बारा र पर्सामा कोरोना संक्रमितको संख्या पनि बढ्दै गइरहेको थियो । काम गर्ने सिलसिलामा आफू पनि संक्रमित भइयो कि भन्ने लागेर नारायणी अस्पतालमा नमुना संकलनका लागि स्वाब दिएँ । त्यसको चार दिनमा मेरो रिपोर्ट पोजेटिभ आएछ ।

आफ्नो कोरोना रिपोर्ट पोजेटिभ आएको जानकारी अफिसमा गराएँ । एम्बुलेन्समार्फत बाराको कलैयास्थित कोरोना अस्पताल लगियो । म चढेको एम्बुलेन्सको ढोको अरुले नै खोलिदिए । त्यसपछि मलाई ओर्लिनु भन्नुभयो । भित्र बेड छ, त्यहीँ गएर बस्नुस् भन्ने आदेश भयो ।

अस्पतालको प्रसूति कक्षलाई आइसोलेसन वार्ड बनाइएको रहेछ । जहाँ झण्डै १७/१८ वटा बेड रहेछन् । बेडमा तन्ना बिच्छ्याइएको रहेछ । एउटा बेडमा गएर बसें । बेडको नजिकै तीन प्रकारका औषधिका ट्याबलेटहरु थिए । नजिकै चिकित्सहरुको कन्ट्याक्ट लिस्ट राखिएको रहेछ ।

आइसोलेसन कक्षमा बसेको केही समय बित्दा पनि कोही सम्पर्क गर्न आएनन् । के छ कस्तो छ भनेर बुझ्न पनि आएनन् । त्यसपछि नजिकै रहेको लिस्ट हेर्दै एक जना डाक्टरलाई फोन गरें । औषधि कति खेर खाने हो भनेर सोधें । डाक्टरले ज्वरो आएको छ कि छैन फोनमै सोध्नुभयो ।

मैले मलाई ज्वरो पनि आएको छैन र अरु कुनै पनि लक्षण छैन भने । त्यसपछि खानुपर्दैन ज्वरो आएमात्रै खानुहोला भन्ने जवाफ पाएँ ।

घरमा श्रीमती गर्भवती छिन् । उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन बीचमा बिदा मिलाएर रातको ११ बजे घर गएको थिएँ । भोलिपल्ट बिहानै ५ बजे ड्युटीमा फर्किए । मेरो कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनको पनि स्वाब संकलन गरिएको छ । आमाले अहिले उनको हेरविचार गरिरहनु भएको छ । बुवा पनि विभागमै जागिरे हुनुहुन्छ ।

आइसोलेसन कक्षमा चिकित्सकहरुले बेवास्ता गरेकोप्रति धेरै दुःख लागेको छ । मैले भाइरस घरबाट ल्याएको पनि होइन । विदेशबाट ल्याएको पनि होइन । उहाँहरु जस्तै गरी काम गर्दा गर्दै देशको सेवा गर्ने क्रममा संक्रमित भएको हुँ । तर डाक्टरहरुले बुझ्नु भएन । के छ ? कस्तो छ ? भनेर समेत सोध्नु भएन ।

तीन दिनदेखि अस्पतालमा एक्लै छु । यदि एक्लै बस्नु छ भने मलाई थुनुवा कक्षमै लागेर राखिदिँदा राम्रो हुन्थ्यो । कम्तीमा त्यहाँ त साथीहरुले हाई हेल्लो के छ त भन्ने थिए । यहाँ बिल्कुल एक्लै भएँ ।

खाना अफिसबाटै साथीहरुले ल्याइदिने गरेका छन् । आज बिहान अस्पतालले दूध र ब्रेड खाजाको रुपमा उपलब्ध गराएको थियो । मलाई खाना के दियो दिएन भन्ने कुरासँग खासै गुनासो छैन । तर आइसोलेसन कक्षको बेडमा सुतेर मात्रै कोरोनालाई जितिन्छ होला त ? हो म कोरोना पोजेटिभ छु । तर यसलाई जित्न त बिरामीको ख्याल राख्नुपर्ने होला नि ? अस्पतालमा मैले त्यो पाइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment