+
+
Shares

पोखराका होटल असोजसम्म बन्द रहने

घरधनीसँग व्यवसायीले मागे सहुलियत

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ५ गते २०:१८

५ जेठ, पोखरा । पोखराका होटलहरु आउँदो असोज महिनासम्म व्यवसाय बन्द हुने भएको छ । पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले लकडाउन खुले पनि तत्काल व्यवसाय सञ्चालन गर्न असहज हुने भएकाले असोजसम्म सम्पूर्ण होटल बन्द गर्ने जानकारी गराएको छ ।

‘लकडाउन खुले पनि तत्काल आन्तरिक पर्यटक हिँडडुल गर्ने स्थिति छैन । बाह्य पर्यटकको आगमन हुने स्थिति पनि छैन,’ उनले अनलाइनखबरसँग भने, ‘हाललाई असोजसम्म सबै व्यवसाय बन्द गर्ने निर्णय गरेका छौं ।’

कोरोना भाइरसको महामारी र लामो लकडाउनका कारण संकटमा परेका व्यवसायीले घरभाडामा सहुलियत खोजेका छन् । संघले सोमबार घरधनीका नाममा अपिल जारी गर्दै होटललाई सहुलियत प्रदान गरिदिन आग्रह गरेको छ ।

‘भाडाको घरमा सञ्चालित होटल झनै मारमा परेका छन्,’ अध्यक्ष विकल शेचरनले जारी गरेको अपिलमा भनिएको छ, ‘यस विषम परिस्थितिलाई मध्यनजर गर्दै सम्पूर्ण होटलका घरधनी तथा सञ्चालकबीच मानवीय तथा आपसी भाइचाराको सम्बन्धलाई प्रगाढ बनाउँदै सौहार्दपूर्ण तवरले दुवै पक्षको सहमतिमा छुट तथा सहुलियत प्रदान गरिदिन अपिल गर्दछौं ।’

कोरोना भाइरस संक्रमणका कारण सिर्जना भएको समस्या होटलका घरधनी र सञ्चालकबीच आपसी समझदारीबाटै समाधान गर्नुपर्ने संघले बताएको छ ।

‘होटलका घरधनी र होटल सञ्चालकले सशस्त्र द्वन्द्व, नाकाबन्दी, विभिन्न प्रकृतिक प्रकोपको समयमा पनि आपसी समझदारीमा नै व्यवसायलाई निरन्तरता दिँदै आइएको थियो,’ अपिलमा भनिएको छ, ‘यस विषम परिस्थितिमा सबै व्यवसायी एकजुट भई यस अवस्थालाई पार लगाउन अपिल गदछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?