
५ जेठ, काठमाडौं । सोमबार एकैदिन ८० जना कोरोना संक्रमित थपिएका छन् । सोमबारै पहिलो पटक कर्णाली प्रदेशमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
बाँकेको नरैनापुरमा मात्र ५९ जना संक्रमित भेटिएका छन् । रौतहटमा ९, धनुषामा ३, दैलेख, खोटाङ, सुनसरी, झापा, बारा, मोरङ, गुल्मी, दाङ, धादिङमा पनि कोरोना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
दैलेखमा कर्णाली प्रदेशमै पहिलो पटक कोरोना संक्रमण देखिएको हो । नेपालगञ्जको भेरी अस्पतालमा गरेको परीक्षणमा दैलेखको आठबिसकोट नगरपालिका-१ का १ पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।
सुर्खेतको वीरेन्द्रनगरमा गरेको परीक्षणमा पोजेटिभ देखिएपछि उनको भेरी अस्पतालमा पुन: परीक्षण गरिएको थियो ।
त्यस्तै, बाँकेको नरैनापुरमा सोमबार राति थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि सोमबार दिउँसो १ महिलासहित ४७ जनामा संक्रमण पुष्टि भएको थियो । आइतबार क्वारेन्टाइनमा मृत्यु भएका युवक पनि नरैनापुरकै हुन् ।
त्यस्तै, खोटाङमा पनि पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ । उनी हलेसी नगरपालिकाका निवासी पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसहित सोमबार रातिसम्म नेपालमा कोरोना संक्रमितको संख्या तीन सय ७५ पुगेको छ। अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । गुल्मीका एक संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
प्रतिक्रिया 4