Comments Add Comment

आईसीसीको नियम परिवर्तन प्रस्ताव, बल टल्काउन नपाइने, लोकल रेफ्री राख्न पाइने

६ जेठ, काठमाडौं । आईसीसी क्रिकेट कमिटीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको नियममा केही परिवर्तनका लागि प्रस्ताव गरेको छ । कोभिड१९ को कारण उत्पन्न जोखिम कम गर्न अनि खेलाडी र म्याच अफिसिलयहरुको सुरक्षालाई कायम राख्न यो प्रस्ताव गरिएको आइसीसीले मिडियव रिलिजमार्फत जनाएको छ ।

भारतीय टिमका पूर्व कप्तान अनिल कुम्बले नेतृत्वको उक्त प्यानलले सबै अन्तर्राष्ट्रिय खेलमा नन न्युट्रल म्याच अफिसियल प्रयोग गर्ने प्रस्ताव समेत गरेको छ ।

आईसीसी क्रिकेट कमिटीले कोभिड१९ को विषयसँग केन्द्रित हुँदै कन्फ्रेन्स कलमार्फत क्रिकेट म्याच बल र नन न्युट्रल अम्पायरस र रेफ्रीको बारेमा छलफल गरेको हो ।

क्रिकेट कमिटीको यो प्रस्ताव जुनमा आइसीसीको चिफ एक्जुकेटिभ कमिटी सामु स्वीकृतिका लागि पेश गरिने आईसीसीले जनाएको छ ।

आईसीसी मेडिकल एड्भाइजरी कमिटीका डक्टर पिटर हार्कोटले बलमा प्रयोग गरिने सालिभा अर्थात र्यालको कारण भाइरस फैलिन सक्ने क्रिकेट कमिटीलाई जानकारी गराएको थियो ।

त्यसैमा क्रिकेट कमिटीले बलमा र्याल लगाएर टल्काउन नपाइने विषयलाई सर्वसम्मत स्वीकार गर्दै प्रस्ताव गरेको हो । यस्तै क्रिकेट कमिटीले पसिनाबाट भाइरस फैलिन सक्ने सम्भावना कम रहेकोले बलमा पसिना प्रयोग गर्न दिइने जनाएको छ ।

यसैगरी आईसीसी क्रिकेट कमिटीले तीनवटै फर्म्याट टेष्ट, ओडिआई र टी २०आई म्याचमा म्याच अफिसियलहरु नियुक्त गर्ने विषयमा समेत प्रस्ताव गरेको छ । २००२ यता आईसीसीले सहभागी टिमबाट अफिसियलहरु नियुक्त गरेको छैन ।

अहिलेको अवस्थामा ट्राभलका लागि चुनौती रहेको, क्वारेन्टिनमा बस्नैपर्ने नियम रहेको जस्ता विषयले गर्दा क्रिकेट कमिटीले केही समयका लागि स्थानीय म्याच अफिसियललाई नियुक्त गर्न सकिने प्रस्ताव राखेको हो ।

यस विषयमा आईसीसीले लोकल एलाइट र इन्टरनेशनल पयानल रेफ्री र अम्पायरबाट तय गर्नेछ । यदि त्यहाँ इलाइट प्यानल म्याच अफिसियल नभएमा सबैभन्दा उत्कृष्ट लोकल इन्टरनेशनल म्याच अफिसियल नियुक्त गर्न सकिने उल्लेख छ ।

आईसीसी क्रिकेट कमिटी प्रमुख अनिल कुम्बलेले अहिले हामी सबै छुट्टै समयमा रहेकाले क्रिकेटलाई सुरक्षित रुपमा शुरु गर्न र खेलमा संलग्न सबैको सुरक्षाको प्रत्याभूति कायम गर्न तत्कालका लागि कमिटीले यो प्रस्ताव गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment