Comments Add Comment

अमेरिकाले बदनाम गर्ने प्रयास गरिरहेको छ – चीन

६ जेठ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को भूमिकालाई लिएर चीन र अमेरिकाको बीचमा कूटनीतिक विवाद बढ्दै गएको छ । यसैबीच चीनले अमेरिकाले आफ्नो बदनाम गराउने प्रयास गरिरहेको आरोप लगाएको छ । चिनियाँ विदेशमन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो कमजोरी लुकाउन डब्ल्यूएचओमाथि प्रहार गरिरहेको बताएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्ल्यूएचओमा सुधारको लागि ३० दिने अल्टिमेटम दिएसँगै चीनको यस्तो प्रतिक्रिया आएको हो । यसअघि ट्रम्पले ३० दिनभित्र डब्ल्यूएचओमा ठोस सुधार नआए अमेरिकाले दिने सहयोग स्थायीरुपमा रोक्ने र अमेरिकाले डब्ल्यूएचओको सदस्यता पनि त्याग्ने चेतावनी दिएका थिए ।

चीनको राजधानी सहर बेइजिङमा नियमित प्रेस वार्ताको क्रममा विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले अमेरिका आफ्नो जिम्मेवारीबाट बच्न चीनको बदनाम गर्ने प्रयास गरिरहेको आरोप लगाएका छन् । कोरोना भाइरस -कोभिड-१९) को महामारीपछि चीन र अमेरिकाको विवाद चुलिएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्ल्यूएचओ चीन केन्द्रित भएको र चीनले यो महामारी रोक्न समयमा नै सुचित नगरेको आरोप लगाउँदै आएका छन् । यद्यपि चीन र डब्ल्यूएचओले भने ट्रम्पको यो आरोप निराधार रहेको बताउँदै आएका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment