+
+

गण्डकी प्रदेशमा मुख्यमन्त्रीसहित १ सय ४६ जनामा कोरोना परीक्षण

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ६ गते १८:४९

६ जेठ, पोखरा । मंगलबार गण्डकी प्रदेशका मुख्यमन्त्री, मन्त्रीसहित १ सय ४६ जनामा कोरोना संक्रमण परीक्षण गरिएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार साँझसम्म सबैको नतिजा आउने जनाएको छ ।

कोरोना परीक्षण गर्न प्रदेश सभा, मन्त्रालयका मन्त्री, सांसद, कर्मचारी, सुरक्षाकर्मी सबैको स्वाब संकलन गर्ने योजना रहेको गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले जानकारी दिइन् ।

उनले बजेट अधिवेशन सुरु हुन लागेकाले प्रदेशसभा बैठकमा सहभागी हुनेहरुको परीक्षण गरिएको बताइन् । ‘बैठकमा जाने सबै सांसद कर्मचारी, पत्रकारको पनि नमुना परीक्षण हुन्छ,’ उनले भनिन्, ‘बैठकमा जानुभन्दा अघि कोरोना मुक्त भएको ग्यारेन्टी हुनुपर्‍यो नि होइन ?’

सांसद तथा कर्मचारीको नमुना संकलन प्रदेशसभा भवनबाटै लिइएको हो । गण्डकी प्रदेशमा ६० जना सांसद छन् । सभामुखलगायत अन्य कर्मचारीको नमुना संकलन भने बुधबार गरिने मन्त्री पुनमगरले जानकारी दिइन् । प्रदेशसभामा २ सयभन्दा बढी कर्मचारी कार्यरत छन् ।

समुदायस्तरमा परीक्षण छैन, अहिले नै सांसद लगायतका कर्मचारीलाई आवश्यक हो र ? अनलाइनखरको प्रश्नमा मन्त्री पुनमगरले समुदायस्तरमै पनि परीक्षण भइरहेको दाबी गरिन् । ‘समुदायस्तरमा परीक्षण गरिराख्या छौं त ! जल्लाई पायो त्यल्लाई समाउँदै परीक्षण गरिहाल्ने होइन,’ उनले भनिन्, ‘यसको पनि केही निश्चित अवधि होला ! त्यो अवधिमा नपुगेसम्म कोरोना पोजेटिभ आउँदैन । त्यो अवधिको नजिक पुग्या बेला बल्ल परीक्षण गर्ने हो ।’

गण्डकी प्रदेशको संसद बजेट अधिवेशन जेठ ११ गते बोलाइएको छ । अघिल्लो वर्ष हुँदै आएको प्रदेशसभा भवनमा ठाउँ अभावका कारण यस वर्ष पोखरा सभागृह हलमा अधिवेशन हुनेछ । करिब १३ सय सिट क्षमता भएको हलमा ६० जना सांसदले ‘सामाजिक दूरी’ कायम गर्दै बैठकमा सहभागी हुनेछन् ।

गण्डकी प्रदेशमा मंगलबारसम्म जम्मा १ हजार ९८ जनाको मात्रै पीसीआर परीक्षण भएको छ । त्यसमध्ये १ सय ४२ जनाको नतिजा आउन बाँकी छ । प्रदेशमा हाल १ हजार पीसीआर टेस्ट किट रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

‘पहिले ल्याएको सकियो । अहिले नयाँ १ हजार वटा पीसीआर टेस्ट किट ल्याएका छौं,’ उनले भने, ‘अब हामीसँग १ सय वटामात्रै आरडीटी किट बाँकी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?