Comments Add Comment

क्रिमसन अस्पतालका २८ जनाको स्वाब संकलन

६ जेठ, बुटवल । गुल्मी मदानेका कोरोना संक्रमित उपचाररत रहेको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालका २८ जनाको आरटी-पीसीआर टेस्टका लागि मंगलबार स्वाब संकलन गरिएको छ ।

जेठ १ गतेदेखि उक्त अस्पतालमा उपचाररत ४१ वर्षीय पुरुषमा सोमबार कोरोना पोजेटिभ देखिएपछि मंगलबार अस्पतालका चिकित्सक, नर्ससहित उपचारमा संलग्न कर्मचारी र बिरामीका आफन्त तीनजना गरी २८ जनाको स्वाब संकलन गरिएको हो ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय मातहतको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाका स्वास्थ्यकर्मीको टोली अस्पतालमै आएर २८ जनाको स्वाबको नमूना संकलन गरेर लगेको प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले बताए । ‘आज २८ जनाको स्वाब लियौं, यसको रिपोर्ट आएपछि मात्रै अरुको टेस्ट गर्ने नगर्ने थाहा हुन्छ,’ उनले भने ।

भेन्टिलेटरको सहायताले आईसीयू कक्षमा उपचाररत विरामीमा कोरोना संक्रमण देखिएपछि स्थानीय प्रशासनले सोमबार साँझ नै अस्पताल सिल गरेको थियो ।

अस्पतालभित्र डाक्टर, नर्ससहित १ सय २५ जना अस्पतालका कर्मचारी, ३७ जना भर्ना भएका बिरामी र विरामीका कुरुवा करिब ५० जना अस्पतालभित्रै रहेका अस्पताल प्रशासनले जनाएको छ ।

यसअघि संक्रमित उपचारका लागि गएको अर्खाखाँची सन्धिखर्कको छाया पोलिक्लिनिकमा काम गर्ने १० जना स्वास्थ्यकर्मीको पनि पीसीआर परीक्षणका लागि स्वाबको नमूना संकलन गरिएको थियो ।

जन्डिसको समस्या देखिएपछि संक्रमित व्यक्ति मदानेको पुर्कोट दहबाट जेठ १ गते उपचारका लागि छाया पोलिक्लिनिक पुगेका थिए । त्यहाँ दुई घण्टा चेकजाँच गराएपछि थप उपचारको लागि एम्बुलेन्समा क्रिमसन अस्पताल आएका हुन् ।

क्रिमसनमा जेठ १ गतेदेखि उनी उपचाररत छन् । उनको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment