Comments Add Comment

अलपत्र फर्काउन आदेश कुर्दै स्थानीय प्रशासन

६ जेठ, विराटनगर । सुनसरी–मोरङको सीमावर्ती क्षेत्रमा एक हजार भन्दा बढी नेपाली स्वदेश फर्किन पाउने आशामा छन् । त्यस्तै झापासँग सीमा जोडिएको पानीटंकीमा करिब आठ सय नेपाली रोकिएका छन् । तर स्थानीय प्रशासनले उनीहरुको उद्धार गर्न सकेको छैन ।

नाकामा नेपाल फर्किनेको चाप बढे पनि स्थानीय प्रशासनले आफैं अग्रसर भएर ल्याउन सकेका छैनन् । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी धु्रब खड्काले भने, ‘अब माथिबाट आदेश आए, ल्याइहाल्छौं ।’ उनका अनुसार मोरङका सीमावर्ती क्षेत्रमा मात्र ३ सय जना नेपाली छन् ।

मोरङमा सीमा पारीबाट आउनेहरुलाई रोक्न नाकामा होल्डिङ एरिया बनाइएको छ । ‘हामी यहाँ तयार छौं, सीमावर्ती क्षेत्रका अधिकारीहरुसँग अनौपचारिक कुरा भएका छन् । तर ल्याउने बतावरण बनिसकेको छैन’ खड्काले भने ।

३ जेठमा झापा जिल्ला प्रशासन कार्यालयले नाकामा अलपत्र नेपाली ल्याउने निर्णय गरेको थियो । तर भारतीय पक्षले सरकारी पत्र मागेका कारण नसकिएको प्रमुख जिल्ला अधिकारी उदय रानामगरले बताए । ‘हामीले ल्याउन सकिन्छ कि भनेर छलफल भएको हो’ उनले भने ‘तर भारतीय पक्षले लेटर माग्यो ।’

एसएसबीले चोरबाटो पठाउँछन्

सीमावर्ती क्षेत्रमा आउने नेपालीलाई भारतको सीमा सुरक्षा बल (एसएसबी) ले चोरबाटो हुँदै नेपाल पठाउँछन् । एसएसबीले २९ वैशाखमा चोरबाटो हुँदै पठाएका १५ नेपालीमध्ये सोमबार एकजनालाई कोरोना पोजेटिभ देखिएको थियो ।

पछिल्लो तीन दिनमा संक्रमण पुष्टि भएका १३ जना भारतबाट चोरबाटो हुँदै नेपाल प्रवेश गरेकाहरु हुन् ।

आइतबार विराटनगरमा संक्रमण पुष्टि भएका २९ वर्षकी महिला, सोमबार संक्रमण पुष्टि भएका रतुवामाई नगरपालिकाका युवक, सुनसरी गढी गाउँपालिका र झापा कचनकवल गाउँपालिकामा भेटिएका संक्रमित पनि भारतबाटै आएकाहरु हुन् ।

मंगलबार कचनकवलमा संक्रमण पुष्टि भएका नौंजना पनि भारतबाटै आएका हुन् । झापामा संक्रमण पुष्टि भएका १० जना चोरबाटो हुँदै नेपाल छिरेको कचनकवल गाउँपालिका अध्यक्ष अन्जरा आलमले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment