Comments Add Comment

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि कोरोनाको उपचार, ओपीडी बन्द

७ जेठ, घोराही । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित व्यक्तिहरुको उपचार सुरु हुने भएपछि बहिरंग (ओपीडी) सेवा बन्द गरिएको छ ।

प्रतिष्ठानले सूचना जारी गरी बहिरंग सेवा बन्द गरिएकाले अन्य बिरामीहरुलाई तुलसीपुर प्रादेशिक अस्पताल वा अरु कुनै स्वास्थ्य संस्थामा जान भनेको छ । साथै आफ्नो आकस्मिक कक्ष तथा अन्य वार्डमा रहेका बिरामीहरुको व्यवस्थापन गरिदिन प्रतिष्ठानले तुलसीपुरस्थित प्रादेशिक अस्पताललाई भनेको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित व्यक्तिलाई भर्ना गरी उपचार गर्न प्रतिष्ठानलाई निर्देशन दिएको थियो । मन्त्रालयको सोही निर्देशनअनुसार बहिरंग सेवा बन्द गरिएको प्रतिष्ठानका का.मु. रजिष्ट्रार कैलाश देवले जानकारी दिए ।

प्रतिष्ठानमा प्रदेश नं. पाँचका कोराना संक्रमित विरामीहरुको उपचार हुने छ । प्रतिष्ठानमा कोरोना परीक्षण ल्याबको समेत सुविधा छ ।

सबैभन्दा धेरै कोरोना संक्रमित व्यक्तिहरु प्रदेश ५ मा फेला परेका छन् । मंगलबार दिउँसोसम्म प्रदेश ५ मा १७४ जनामा कोरोना पुष्टि भएको छ । संक्रमित अझै बढ्न सक्ने, उनीहरुलाई राखेर उपचार गर्ने आइसोलेसन बेड अभाव हुन सक्ने भएकाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि कोरोना संक्रमितको उपचार गर्ने व्यवस्था मिलाइएको हो । प्रतिष्ठानले आफ्ना स्याटलाइट अस्पतालहरुलाई पनि आइसोलेसन बेड तयारी अवस्थामा राख्न भनेको छ ।

दाङको बेलझुण्डीमा कोरोना संक्रमितको मात्रै उपचार गर्ने लेभल–१ को अस्पताल छ । बेलझुण्डीको आइसोलेसनमा हाल १६ जना छन् । त्यहाँ बढीमा ८५ जनासम्म बिरामीलाई आइसोलेसनमा राख्न सक्ने क्षमता छ ।

‘जनशक्ति भएमा हामीसँग ८०–८५ जनासम्मलाई राखेर उपचार गर्नसक्ने क्षमता छ,’ बेलझुण्डी कोरोना अस्पतालका प्रमुख डा. सर्वेस शर्माले भने, ‘हामीसँग भेन्टिलेटर तीन वटा र आईसीयू बेड पाँच वटा छन् । सिरियस केस भयो भने पाँच वटा सम्म अकुपाइ गर्न सक्छौं तर हाम्रो अस्पताल लेभल १ को भएकाले धेरै सिरियस केस राख्न मिल्दैन ।’ त्यस्तो अवस्थामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइने डा. शर्माले बताए ।

कोरोना संक्रमितको उपचार गर्ने डेडिकेटेड अस्पताल तोकिएको प्रतिष्ठानमा हाल १० वटा आईसीयू बेड छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment